काठमाण्डौ । नबिल बैंकका डेपुटी सीईओ मनोजकुमार ज्ञवालीले यसपालिको दसैँतिहार ‘डिजिटल दक्षिणा वर्ष’का रुपमा मनाउन आग्रह गरेका छन्। 

ज्ञवालीले आफ्नो फेसबुक स्ट्याटसमार्फत नयाँ नोट सटहीभन्दा पनि सकेसम्म डिजिटल कारोबारलाई बढावा दिन आग्रह गरेका हुन्। ‘नेपाल राष्ट्र बैंक, समग्र बैंकिङ तथा अन्य डिजिटल भुक्तानी सेवा प्रदायकहरुको डिजिटल बैंकिङ प्रवर्द्धनले रङ ल्याएको देखिन्छ’, उनले लेखेका छन्, ‘असार २०७८ मा बजारमा चलनचल्तीमा रु. ५७१.९६ अर्बका नोटहरु थिए भने असार २०७९ मा चलनचल्तीका कुल नोटहरु ११.६ प्रतिशतले घटेर रु. ५०५.९० अर्बबराबर रहेका छन। नोट व्यवस्थापनको लागत र अप्ठ्याराहरु धेरै छन्।’

सानो इकाइ का खुद्रा नोट राष्ट्र बैंकले समेत जम्मा गर्न नमान्ने गरेको ज्ञवालीले उल्लेख गरेका छन्। ‘त्यसैले बैंक तथा वित्तीय संस्थाहरुका कतिपय शाखामा भल्टमा होइन भल्ट रुममै नअट्ने गरी खुद्रा नोटहरु थुप्रिएका छन्’, उनले लेखेका छन्, ‘खुद्रा नोट व्यवस्थापन साँच्चै नै बैंकिङको नगद व्यवस्थापना समस्याका रुपमा रहेको छ। फेरि हामीले ‘नयाँ नोट’ सटही गर्ने सुरसारमा छौँ। दसैँतिहारमा नयाँ नोट सटही गर्ने काम सधैँका लागि बन्द गरिनुपर्छ।’

‘नोट’ लाई ‘खेलौना’का रुपमा प्रयोग गर्न नदिने कुरामा राष्ट्र बैंक प्रस्ट हुनुपर्ने ज्ञवालीको धारणा छ। ‘एकातर्फ बैंकिङलाई डिजिटल हुन प्रोत्साहन गर्ने अर्कोतर्फ  दक्षिणा दिने भन्दै खुद्रा नोटहरु चाड पर्वमा सटही गर्नुहुँदैनजस्तो लाग्दछ’, उनले लेखेका छन्, ‘बरु यस वर्षलाई ‘डिजिटल दक्षिणा बर्ष’का रुपमा मनाऔँ र दक्षिणा खातामा रकमान्तर गरेर दिऔँ, पैसाको बचत हुने, नोटको आयु बढ्ने, नोट छपाइ खर्च बच्ने, बैंकिङलाई खुद्रा नोट व्यवस्थापनको टाउको दुखाइ पनि नहुने। नोटको आयु घट्ने पनि दसैँको बेला नै हो। पुराना नोट नै प्रयोग गर्दा फरक पर्दैन।’ 

‘नयाँ नोट सटही गर्ने होइन कि डिजिटल कारोबारलाई बढावा दिँदै सकेसम्म ‘डिजिटल दक्षिणा वर्ष’ मनाउँदा कसो होला ?’, उनले लेखेका छन्।