काठमाण्डौ । बैकिङ प्रक्रियाबाट नेपालका महत्वपूर्ण व्यक्ति, उच्च अधिकारी र नेताहरुको व्यक्तिगत विवरण र अन्य गोप्य तथ्यांकहरु भारतसम्म सुराकी गरेको आरोप खेप्दै आएको भारतको पञ्जाब नेशनल बैंकसँगको सहकार्यमा संचालित एभरेष्ट बैंक लिमीटेडको आर्थिक वर्ष २०७२/७३ को खूद नाफामा झिनो प्रतिशतको मात्र बढोत्तरी देखिएको छ । 

एभरेष्ट बैंकले आर्थिक वर्ष २०७१/७२ को तुलनामा ०७२/७३ मा खूद नाफातर्फ ९.९० प्रतिशतको मात्र प्रगति हासिल गरेको हो । 

नेपाल राष्ट्रबैंकको पूँजी वृद्धिको योजनालाई सुरुवातदेखि नै विरोध गर्दै आएको यो बैंकले नेपालका कुनै पनि बित्तीय संस्थालाई मर्जर वा एक्वीजिसन गर्न चाहेको छैन । नेपाल राष्ट्रबैंकले बित्तीय संस्थाहरुको संख्या घटाउने मुख्य उद्देश्यले पूँजीवृद्धिको योजना ल्याए पनि एभरेष्ट बैंकले यो नीति नै गलत भएको भन्दै सुरुवातका दिनमा विरोध गरेको थियो । तर पूँजी वृद्धिको समय नजिकिँदै गर्दा उसले ठूलो संख्यामा हकप्रद जारी गरेर राष्ट्रबैंकले तोकेको पूँजी पुर्याउने रणनीति बनाएको छ । 

नियामक निकायहरुलाई समेत अटेर गर्दै आएको एभरेष्ट बैंकले १ अर्ब ७३ करोड खूद नाफा गरेको हो । अघिल्लो आबमा यो बैंकको खूद नाफा १ अर्ब ५४ करोड थियो । 

संचालन नाफामा पनि झिनो अन्तरको मात्र बढोत्तरी देखिएको छ । अघिल्लो वर्ष २ अर्ब २५ करोड रहेको संचालन नाफा यो वर्ष २ अर्ब ६६ करोडमा पुगेको छ । 

यो बैंकको चुक्तापूँजी २ अर्ब ७४ करोड रुपैयाँ मात्र छ । सञ्चित कोषमा चाहि ५ अर्ब ८६ करोड रुपैयाँ छ । 

यो बैंकको खूद ब्याज आम्दानीतर्फ ३५ करोड रुपैयाँको बढोत्तरी देखिएको छैन । अघिल्लो वर्ष २ अर्ब ८७ करोड रुपैयाँ रहेको खूद ब्याज आम्दानी यो व र्ष ३ अर्ब २२ करोड पुगेको छ । 

यो बैंकले ९३ अर्ब ७३ करोड निक्षेप संकलन गरी ६८ अर्ब ९१ करोड कर्जा प्रवाह गरेको छ । अघिल्लो आबमा बैंकले ८३ अर्ब ९ करोड निक्षेप संकलन गरी ५५ अर्ब ३६ करोड कर्जा प्रवाह गरेको थियो । 

यो बैंकको निक्षेप कर्जा अनुपात(सीडी रेसियो)७६.२४ प्रतिशत रहेको छ भने निस्क्रिय कर्जा ०.३८ प्रतिशत छ । 

एभरेष्ट बैंकको प्रति सेयर आम्दानी पनि घटेको छ । ७८.०४ रुपैयाँ रहेको प्रति सेयर आम्दानी यो वर्ष घटेर ६५.९७ रुपैयाँमा झरेको हो । बैंकको प्रति सेयर नेटवर्थ ३२३.८१ रुपैयाँ पुगेको छ । दिनहुँ खुम्चिँदै र विजिनेश खिइँदै गएको एभरेष्ट बैंकको मूल्य आम्दानी अनुपात(पीई रेसियो) ५१.३१ गुणा रहेको छ । यो मूल्य आम्दानी अनुपातले एभरेष्ट बैंकको बित्तीय स्वास्थ्य नाजुक बन्दै गएको प्रतिबिम्बित गर्छ । कारण पीई रेसियो जति कम भयो, बित्तीय रुपमा त्यो कम्पनी उत्ति स्वस्थ मानिन्छ । 

एभरेष्ट बैंकले विगत लामो समयदेखि नेपालका कानूनहरु उल्लंघन गर्दै आइरहेको छ । यो बैंकले रेमिटान्स विजिनेशमा देखाएको दादागिरीका कारण कतिपय अन्य वाणिज्य बैंकहरुले करोडौंको रेमिटान्स विजिनेश गुमाएका छन् ।