काठमाण्डौ। वित्तमन्त्री निर्मला सीतारमणले आज आर्थिक वर्ष २०२२–२३ का लागि केन्द्रीय बजेट प्रस्तुत गरेकी छन्। अर्थमन्त्रीका रुपमा उनको यो चौथो बजेट हो।

सोमबार सार्वजनिक गरिएको आर्थिक सर्वेक्षणमा यो वर्ष कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वृद्धिदर ९.२ प्रतिशत हुने अनुमान गरिएको छ। बजेट भाषणको सुरुआतमा वित्तमन्त्री सीतारमणले आफ्नो सरकार विकास र गरिबको हितमा प्रतिबद्ध रहेको बताइन्। 

सीतारमणले लाइफ इन्स्योरेन्स कर्पोरेसन अफ इन्डियाको आईपीओ छिट्टै आउने कुरा र एयर इन्डियाको स्वामित्व टाटा पाउनु सरकारको उपलब्धिका रुपमा रहेको बताइन्। 

वित्तमन्त्री सीतारमणले सरकार समावेशी विकासको बाटोमा अघि बढिरहेको बताइन्। उनले यो वर्ष भारतको अर्थतन्त्रको वृद्धिदर ९ प्रतिशतभन्दा माथि हुने अनुमान गरिएको र यो विश्वका सबै ठूला अर्थव्इवस्थाहरुको भन्दा बढी रहेको दाबी गरिन्। 

आर्थिक वर्ष २०२५–२६ सम्ममा राजस्व घाटा जीडीपीको ४.५ प्रतिशत पुग्ने सीतारमणको भनाइ छ। राजस्व घाटा २०२२–२३ मा जीडीपीको ६.४ प्रतिशत हुने अनुमान गरिएको छ। 

२०२१–२२ मा संशोधित राजस्व घाटा कुल गार्हस्थ्य उत्पादनको ६.९ प्रतिशत रहेको बताइएको छ। २०२२–२३ मा कुल खर्च ३९.४५ टिलियन रुपैयाँ हुने भनिएको छ। – एजेन्सी