काठमाण्डौ । नेपाली राष्ट्र बैंकले गत वर्ष कात्तिक १ गतेदेखि चालु पुँजी कर्जा मार्गदर्शन, २०७९ लागू गरेको छ। चालु पुँजी कर्जामा भएका केही व्यवस्थाप्रति उद्योगी–व्यवसायी असन्तुष्टि जनाएपछि राष्ट्र बैंकले हालै चालु पुँजी कर्जा मार्गदर्शनमा संशोधन गर्दै केही लचिलो व्यवस्था ल्याएको छ।

चालु पुँजी कर्जा मार्गर्दशनसम्बन्धी व्यवस्थामा अझै पनि जिज्ञासाहरु उठिरहेका छन्। सोही कारण राष्ट्र बैंकको वेबसाइटमा करिब २ दर्जन जिज्ञासा राखिएका छन् र ती जिज्ञासाको जबाफ राष्ट्र बैंकले दिएको छ। 

यस्ता छन् जिज्ञासा र राष्ट्र बैंकको जबाफ

चालु पुँजी कर्जाको मार्गर्दशन भनेको के हो र कसले लिन मिल्छ ?

जबाफ: कुनै पनि संस्था/फर्म/कम्पनीको चालु सम्पत्ति र चालु दायित्वमा हुने अन्तरलाई व्यवस्थापन गर्न बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने कर्जालाई चालुपुँजी कर्जा भनिन्छ । यस प्रकारको कर्जा लिन संस्था/फर्म/कम्पनीहरु मात्र योग्य हुन्छन् । कुनै प्राकृतिक व्यक्तिले यसप्रकारको कर्जा लिन पाउँदैनन्।

चालु पुँजी कर्जाको मार्गदर्शन सबै व्यवसायलाई लागू हुन्छ ?

जबाफ: समग्र बैंकिंग प्रणालीबाट रु.१ करोडसम्म (उत्पादनमुलक उद्योगको हकमा कुल रु.३ करोडसम्म) चालु पुँजी कर्जा उपयोग गर्ने व्यवसायको हकमा यो मार्गदर्शन लागू हुँदैन । तर चालुपुँजी प्रयोजनका लागि प्रदान हुने कर्जाको प्रकार यस मार्गदर्शन बमेजिम हुनुपर्ने छ।

त्रैयमासको अन्तिम महिना (असोज, पुस, चैत, असार)मा चालु पुँजी कर्जा लिनै पाइँदैन ?

जबाफ: त्रयमासको अन्तिम महिना (असोज, पुस, चैत्र, असार) मा पुराना ऋणीहरुको लागि सीमा बृद्धि गर्न रोक लगाइएको हो । सो महिनाहरुमा कर्जा नवीकरण गर्न तथा स्वीकृत सीमा भित्रको कर्जा प्रवाह गर्न भने रोक लगाइएको छैन तर आवश्यक परेको खण्डमा सो महिनामा कर्जा सीमा स्वीकृत/बृद्धि गरी आगामी महिनामा कर्जा प्रवाह गर्न भने सकिन्छ । नयाँ ऋणीको लागि उक्त प्रतिबन्ध लागू हुँदैन।

चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ लागू भएको मिति २०७९ कात्तिक १ पूर्व प्रवाह भएका चालु पुँजी कर्जाहरुले उक्त मार्गदर्शनबमोजिमको व्यवस्थाहरु पूरा नगरेमा के हुन्छ ?

जबाफ: मार्गदर्शन लागू हुनुपूर्व प्रवाह भएका कर्जाहरुको हकमा त्यस्तो कर्जा पुनरावलोकन गर्दा वा नवीकरण गर्दा अनिवार्य रुपमा मार्गदर्शन अनुसार हुने गरी आवश्यक समायोजन गर्नुपर्छ। यसरी समायोजन गर्दा उल्लेखित सीमाभन्दा बढी प्रवाह भएको कर्जालाई २०८२ असार मसान्तभित्र क्रमिक रुपमा चुक्ता गर्दै जानुपर्छ।

चालु पुँजी प्रकृतिको आवधिक कर्जा अग्रिम रुपमा चुक्ता गर्न पाइन्छ कि पाइँदैन ?

जबाफ: चालु पुँजी प्रकृतिको आवधिक कर्जा अग्रिम रुपमा चुक्ता गर्न पाइन्छ र सो बापत बैंक तथा वित्तीय संस्थाले अग्रिम भुक्तानी शुल्क (Prepayment charges) लिन नपाउने व्यवस्था रहेको छ।

चालु पुँजी कर्जाको सीमा सबै कर्जामा लागू हुन्छ ?

जबाफ: चालुपुँजी कर्जाको सीमा चालु पुँजी बाहेक अन्य कर्जाका लागि लागू हुँदैन। व्यवसायका लागि आवश्यक पर्ने अन्य कर्जा विद्यमान नीति नियम अनुसार बैंक तथा वित्तीय संस्थाले सोही प्रयोजनका लागि प्रदान गर्न सक्दछन्।

भेरियन्ससम्बन्धी व्यवस्था किन र कस्तो अवस्थामा लागू हुन्छ ?

जबाफ: ऋणीले पेश गर्ने अनुमानित वित्तीय विवरणलाई यथार्थपरक बनाउनका लागि Variance सम्बन्धी व्यवस्था लागू गरिएको हो। कर्जा सीमा निर्धारण गर्दा ऋणीले पेश गरेको अनुमानित विवरणको कारोबार रकम लेखा परिक्षण प्रतिवेदनमा भएको कारोबार रकमभन्दा २० प्रतिशतभन्दा बढीले कम भएमा मात्र यो व्यवस्था लागू हुन्छ।

व्यवसायसँग सम्बन्धित कर्जा तिर्ने प्रयोजनका लागि क्यास क्रेडिटमा भएको सीमा प्रयोग गर्न मिल्छ ?

जबाफ: क्यास क्रेडिटको सीमा कर्जासँग सम्बन्धित साँवा, ब्याज तथा कुनै पनि प्रकारको शूल्क भुक्तानीमा प्रयोग गर्न पाइँदैन।

अधिविकर्ष (ओभरड्राफ्ट) प्रकारको कर्जा कसले लिन पाउँछ ?

जबाफ: चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन २०७९ लागू भएपश्चात अधिविकर्ष प्रकारको कर्जा प्राकृतिक व्यक्तिले मात्र लिन पाउँछन्। कुनै पनि संस्था/फर्म/कम्पनीले भने त्यस्तो कर्जा लिन पाउँदैनन्।

एकपटक चालु पुँजी प्रयोजनको आवधिक कर्जा लिएपछि पुनः लिन मिल्छ ?

जबाफ: एकै ऋणीलाई विभिन्न समयान्तरमा ऋणीको आवश्यकता अनुसार बैंक तथा वित्तीय संस्थाले व्यवसायिक आवश्यकता देखेमा एक भन्दा बढी चालुपुँजी प्रयोजनको आवधिक कर्जा प्रदान गर्न सक्दछन् ।

कार्यविधिको १० प्रतिशत बक्यौतासम्बन्धी व्यवस्था सम्पूर्ण चालु पुँजी कर्जाका लागि हो ?

जबाफ: होइन। यस कार्यविधिमा चार प्रकारको चालु पुँजी कर्जा मध्ये क्यास क्रेडिट कर्जाका लागि मात्र यो व्यवस्था लागू हुन्छ।

चालु पुँजी खातामा के–कस्ता रकम जम्मा गर्न मिल्छ ? उक्त खाता सञ्चालन गर्ने प्रावधान के रहेको छ ?

जबाफ: ऋणीले चालु पुँजी कर्जाका बिभिन्न खाताहरुमध्ये क्यास क्रेडिट कर्जा खातामा जुनसुकै श्रोतबाट पनि रकम जम्मा गर्न सक्छन्। तर उक्त खाताबाट व्यावसायिक प्रयोजनबाहेक अन्य कुनै पनि प्रयोजनका लागि रकम भुक्तानी गर्न नमिल्ने भएकोले यसरी खातामा रकम जम्मा गर्दा पर्याप्त विश्लेषण गरेर मात्र गनुपर्ने हुन्छ।

कारोबार/बिक्रीबाट आएको रकम चालु पुँजी कर्जाको खातामा जम्मा गर्न मिल्छ ?

जबाफ: कारोबार/बिक्रिको रकम सोझै चालु पुँजी कर्जा खातामा जम्मा गर्न मिल्दैन। यस्तो रकम ऋणीको चल्ती खातामा जम्मा गर्नु पर्दछ। यसरी जम्मा भएको रकमबाट चालु पुँजी कर्जा खातामा रकमान्तर गरी कर्जा भुक्तानी गर्न सकिन्छ।

चालु पुँजी कर्जाको रकम कर्मचारीहरुको खर्चका लागि प्रयोग गर्न पाइन्छ ?

जबाफ: चालु पुँजी कर्जाको रकमलाई ऋणीले व्यवसायसँग सम्बन्धित प्रशासनिक तथा संञ्चालन खर्चका लागि प्रयोग गर्न पाउँछन् । तर त्यस्तो भुक्तानी सौझै बैंक खातामा जम्मा हुने गरी गर्नुपर्छ ।

निर्माणाधीन परियोजना वा बिक्री सुरु नगरेको व्यवसायले चालु पुँजी कर्जा लिन मिल्छ ?

जबाफ: यस्ता व्यवसायले सञ्चालन खर्च एवं अनुमानित नगद तथा कोष प्रवाहका आधारमा चालु पुँजी कर्जा लिन मिल्ने व्यवस्था गरिएको छ। (थप विवरणका लागि मार्गदर्शनको बुँदा नं. ३.३ (ङ) )

Ad Hoc  प्रकृतिको कर्जा जतिपटक पनि लिन पाइन्छ ?

जबाफ: ऋणीको आवश्यकता अनुसार Ad Hoc कर्जा प्रदान गर्न मार्गदर्शनले कुनै सीमा तोकेको छैन। तर कुनै ऋणीलाई एक आर्थिक वर्षमा दुई पटकसम्म बैंक तथा वित्तीय संस्थाको व्यवस्थापनले नै र सोभन्दा बढी आवश्यक परेमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाको सञ्चालक समितिले निर्णय गरी आकस्मिक प्रकृतिको बमजयअ कर्जा प्रदान गर्न सक्नेछ।

उपरोक्त सीमाबाहेक अन्य प्रकारको चालु पुँजी कर्जा प्रदान गर्ने प्रावधान छ ?

जबाफ: ऋणीलाई अप्रत्याशित रुपमा वित्तीय स्रोतको आवश्यकता भएमा सम्बन्धित प्रयोजनमा सोझै रकमान्तर हुने गरी बैक तथा वित्तीय संस्थाले आकस्मिक प्रकृतिको Ad Hoc चालु पुँजी कर्जा प्रदान गर्न सक्छन्।

चालु पुँजी कर्जाको सीमासम्बन्धी व्यवस्था कस्तो रहेको छ ?

जबाफ:

६ चालु पुँजी कर्जाको सीमा निर्धारण केका आधारमा गरिन्छ ?

जबाफ: चालु पुँजी कर्जाको सीमा निर्धारण कम्पनी/फर्म/संस्थाको वार्षिक अनुमानित कारोबार तथा लेखा परीक्षण भएको वित्तीय विवरणका साथै बैंक तथा वित्तीय संस्थाले कर्जा नीतिमा तोकेको अन्य सूचकहरुको (जस्तै Drawing Power) आधारमा गरिन्छ।

के–कस्ता प्रयोजनका लागि चेक जारी गर्न मिल्छ ?

जबाफ: चेक जारी गर्दा व्यवसायसँग सम्बन्धित भुक्तनीका निम्ति सोझै खातामा जम्मा हुनेगरी मात्र चेक जारी गर्न मिल्छ । व्यावसायिक सम्बन्ध नभएका व्यक्ति वा कम्पनी वा संस्थालाई चेक जारी गरी रकम निकाल्न वा रकमान्तर गर्न मिल्दैन।

चालु पुँजी कर्जाको चेक जारी गर्न मिल्छ ?

जबाफ: चालु पुँजी कर्जा मध्ये क्यास क्रेडिट कर्जाको मात्र चेक जारी गर्न मिल्छ । तर, व्यावसायिक सम्बन्ध नभएका व्यक्ति वा कम्पनी वा संस्थालाई चेक जारी गरी रकम निकाल्न वा रकमान्तरण गर्न मिल्दैन।

चालु पुँजी कर्जा कति अवधिका लागि प्रदान गरिन्छ ?

जबाफ: चालु पुँजी कर्जा सामान्यतया एक वर्षभन्दा कम अवधिको लागि प्रदान गरिन्छ । यद्यपी, Permanent Working Capital Need को लागि भने कम्तीमा तीन वर्ष र अधिकतम दश वर्षको आवधिक कर्जा प्रदान गरिन्छ।