काठमाण्डौ । नेपाल बीमा प्राधिकरणको तथ्याङ्क अनुसार अझैपनि कुल जनसंख्याको ५७ प्रतिशत जनसंख्याले बीमा गरेका छैनन् ।

यसले बीमाको दायरा अझैपनि बढ्न नसकेको प्रष्ट हुन्छ । बीमाको महत्वबारे जानकारी भएकाहरुले पनि जीवन बीमा नगरेको बीमा विज्ञहरु बताउँछन् ।  बीमा प्राधिकरणले बीमा सम्बन्धी जनचेतना फैलाए पनि सर्वसाधारणमा बीमा किन गर्ने र यसबाट के फाइदा हुन्छ भन्ने खालका जिज्ञासाहरु अझै प्रशस्तै भेटिन्छन् ।

साथै बीमा गराउन चाहनेहरुमा समेत बीमालेखको विषयमा पर्याप्त जानकारी नहुँदा बीमा गर्न हिच्किचाउने प्रवृत्ति कायमै छ । हाल १४ वटा जीवन बीमा कम्पनीले बीमालेखहरु बिक्री गर्दै आएका छन् ।

मुख्यतः बीमितहरुले बीमा गर्नुअघि बीमा तीन प्रकारका हुन्छन् भनेर बुझ्न जरुरी छ । सबै कम्पनीले विभिन्न नामहरु दिएर पोलिसी बिक्री गरेपनि आजीवन बीमा, म्यादी जीवन बीमा र सावधिक जीवन बीमा गरी तीन प्रकारको हुन्छ । 
यी तीन वटै बीमाका आ–आफ्नै विशेषता छन् । तर, सर्वाधिक बिक्री हुने बीमा भनेको सावधिक जीवन बीमा नै हो । 
सावधिक जीवन बीमा 
सामान्यतया सबैले गर्ने बीमा सावधिक जीवन हो । जीवन बीमा कम्पनीहरुमा सावधिक जीवन बीमा सर्वाधिक बिक्री हुने बीमालेख हो । यो बीमालेख अन्तर्गत रहेर एउटा निश्चित अवधिको लागि बीमा गराइन्छ । 

आफुले बीमा गरेको बीमांक रकम बराबर बीमा अवधि सकिएपछि स्वयं बीमितले प्राप्त गर्दछ । साथै तोकिएको अवधिभर बीमितको मृत्यु भएमा पुरा बीमा रकम र त्यो अवधिसम्म समानुपातिक बोनस सहित हकवालालाई भुक्तानी हुन्छ । 

सावधिक जीवन बीमाका पनि विभिन्न प्रकार छन् । साधारण सावधिक जीवन बीमा, विशुद्ध सावधिक जीवन बीमा, संयुक्त सावधिक जीवन बीमा, दोहोरो सावधिक जीवन बीमा, अग्रिम भुक्तानी सावधिक जीवन बीमा र बाल सावधिक जीवन बीमा रहेका छन् । 

साधारण सावधिक जीवन बीमा सर्वाधिक लोकप्रिय जीवन बीमा हो । यो बीमालेखमा बीमा कम्पनी र बीमितबीच भएको सहमतिअनुसार एउटा निश्चित अवधि तोकि सो अवधिसम्म बीमा शुल्क तिनुपर्ने गरी जारी गरिन्छ । बीमा अवधि सकिएपछि बीमित स्वयंलाई र मृत्यु भएको खण्डमा हकवालालाई बीमांक रकम भुक्तानी गरिन्छ । बीमा कम्पनीहरुमा सर्वाधिक यो बीमालेख जारी हुने गर्दछ । 

त्यस्तै, बीमित स्वयं बीमा अवधिसम्म जीवित रहेर बीमांक रकम भुक्तानी हुन्छ, भने त्यो विशुद्ध सावधिक जीवन बीमा हो ।

साथै एकभन्दा बढी जीवनको बीमा गरिएको बीमा संयुक्त सावधिक जीवन बीमा हो । बीमा अवधिभर एक बीमितको मृत्यु भएमा जीवित बीमितलाई बीमांक रकम भुक्तानी हुन्छ ।
त्यस्तै, दोहोरो सावधिक जीवन बीमामा बीमितको बीमा अवधि भित्र मृत्यु भएमा तोकिएको बीमाङ्क रकम तथा बीमा अवधिसम्म जीवित रहेमा सो अवधि समाप्त हुनासाथ दोब्बर बीमाङ्क रकम बीमितले पाउने गरी जारी गरिन्छ । 

यता अग्रिम भुक्तानी सावधिक जीवन बीमामा बीमाङ्क रकमको भुक्तानी विभिन्न समयको अन्तरालमा बीमितलाई भुक्तानी गरिन्छ । त्यस्तै, सन्तानको भविष्यलाई दृष्टिगत गरी बाबुआमाले आफ्नो बच्चाहरुको लागि खरिद गर्ने बीमालेख नै बाल सावधिक जीवन बीमा हो । यो योजनामा बीमा अवधि सकिएपछि मात्र बीमाङ्क रकमको भुक्तानी एकमुष्ट वा एक पटकमा गरिन्छ । 
आजीवन बीमा 
आजीवन बीमा लामो अवधिको हुन्छ । यो पोलिसी खरिद गरेका बीमित स्वयं आफुले बीमांक रकम लिन पाउँदैनन् अर्थात् बीमाको उद्देश्य तबमात्रै पुरा हुन्छ, जब बीमा गरेको व्यक्तिको मृत्यु हुन्छ ।

यस बीमालेखमा बीमा गर्नेले आफ्नो जीवन कालमा आफुले गरेको बीमा रकमको भोग चलन गर्न पाउँदैन । आजीवन बीमा पनि तीन प्रकारका हुन्छन्, जसमा साधारण आजीवन बीमा, सीमित भुक्तानी आजीवन बीमा र परिवर्तनीय आजीवन बीमा पर्दछ । जीवनभर बीमितले निरन्तर बीमाशुल्क बुझाईरहन्छ र अन्त्यमा उसको मृत्युपश्चात् इच्छाइएको व्यक्तिलाई बीमा वापतको रकम भुक्तानी हुन्छ भने त्यो साधारण आजीवन जीवन बीमा हो । 

त्यस्तै, सीमित भुक्तानी आजीवन बीमा अन्तर्गत बीमा शुल्क भुक्तानी गर्ने अवधि तोकिएको हुन्छ । बीमा शुल्क भुक्तानी त्यहि निश्चित अवधिसम्म मात्र गर्ने दायित्व बीमितलाई नै हुन्छ ।

साथै परिवर्तनीय आजीवन बीमाअन्तर्गत बीमितले चाहेमा बीमालेख चालू भएको ५ वर्षपछि कुनै पनि अवधिको बन्दोबस्ती बीमामा परिवर्तन गर्न सक्ने सुविधा हुन्छ । 
म्यादी जीवन बीमा 
म्यादी जीवन बीमा छोटो अवधिको पोलिसी हो । यस प्रकारको बीमालाई एक अस्थाई बीमा करार मानिन्छ । यो बीमालेखमा अवधि तोकिएको हुन्छ । यदि सो अवधिभर बीमितको मृत्यु भएमा मात्रै बीमा रकम प्राप्त हुन्छ । तर अवधि पुरा भएर बीमित जीवितै रहन्छ भने बीमा रकम प्राप्त हुँदैन । 
यो खालको बीमालेखमा केवल सुरक्षा मात्रै प्रदान गरिएको हुन्छ ।

यस्तो बीमालेखले केवल सुरक्षा प्रदान गर्ने भएकोले यसलाई समर्पण मूल्यमा परिवर्तन गराउँन सकिदैन । बीमा गर्ने बीमितको उमेरको आधारमा यसको बीमा शुल्क निर्धारण गरिन्छ । 

वैदेशिक रोजगारमा जानेहरुका लागि अहिले म्यादी जीवन बीमा अनिवार्य छ । वैदेशिक रोजगारको क्रममा रहँदासम्म बीमितको मृत्यु भएमा मात्रै बीमा रकम प्राप्त हुन्छ । साथै यस्तो बीमामा स्वास्थ्य बीमाको पनि सुविधा रहेको हुन्छ तर यसको लागि बीमितले थप शुल्क बुझाउनुपर्दछ ।