काठमाण्डौ । नौवटा बित्तीय संस्थाहरुबीच मर्ज भई बनेको प्रभूू बैंक लिमीटेडले शुक्रबार आफ्नो १५ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । सो साधारणसभाले ४० प्रतिशत हकप्रदको प्रस्ताव पारित गरेको छ भने पुरानै संचालक समितिलाई पुनः निर्विरोध चयन गरेको छ । वार्षिक साधारणसभाको विषयमा बैंकले प्रकाशन गरेको प्रेस विज्ञप्तिमा यी कुरा मात्र सार्वजनिक गरिए पनि त्यहाँ प्रभूलाई टप बैंक बनाउने रणनीति पनि प्रस्तुत भएको स्रोतले बताएको छ ।

सेयरधनीहरुलाई सम्बोधन गर्दै संचालक समितिका अध्यक्ष देवीप्रकाश भट्टचन र प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले २ वर्षभित्रै देशकै टप बैंक बनाउने रणनीति सार्वजनिक गरेका थिए । कसरी बन्ला त प्रभू देशकै रहरलाग्दो बैंक ? 

पुस मसान्तभित्र एनपीएल ५ प्रतिशत
आर्थिक वर्ष ०७१/७२ मा प्रभूू बैंकको प्रमुख बित्तीय सूचकमध्येको एक निस्क्रिय कर्जा अनुपात(एनपीएल) ७.३३ प्रतिशत रहेकोमा आर्थिक वर्ष ०७२/७३ मा यो बढेर ८.८३ प्रतिशत भयो । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले यो अनुपातलाई केही घटाएर ७.५४ प्रतिशतमा झारेको थियो । वार्षिक साधारणसभामा उपस्थित सेयरधनीलाई सम्बोधन गर्दै अध्यक्ष देवीप्रकाश भट्टचनले एनपीएल पुस मसान्तभित्रै ५ प्रतिशतमा झर्ने उद्घोष गरेका छन् । नेपाल राष्ट्रबैंकले एनपीएल अनुपात ५ प्रतिशत भन्दा बढी हुन नहुने भनेको छ । बन्दसत्रलाई सम्बोधन गर्दै उनले भने–‘पुस मसान्तभित्रै हाम्रो एनपीएल ५ प्रतिशत हुँदैछ, टप बैंक बन्ने हाम्रो रणनीतिको यसलाई पहिलो खुड्किलो मान्नुहोस् ।’ उनको उद्घोषमा सेयरधनीहरुले तालिको गडगडाहटले स्वागत गरेका थिए ।

उनले एनपीएल उच्च हुँदा हुँदै पनि कस्ट अफ फण्ड भने ३ प्रतिशत मात्र रहेको सुुझाएका थिए । ‘एनपीएल उच्चा हुँदा हुँदै पनि हामीले कस्ट अफ फण्ड ३ प्रतिशतमा काम गर्न सकेका छौ ।’ उनले भने–‘बिग्रेका र नउठेका ऋण रिकभरिमा हामी अझ आक्रामक हुनेछौ ।’ उनले बैंकको वर्तमान अवस्था चित्तबुुझ्दो नहुँदा नहुँदै पनि सर्वसाधारणले विश्वास गरेका उदाहरण दिंदै भने–‘अहिले हामीसँग ८ लाख भन्दा बढी खातावाल छन् । यति संख्याका खातावाल टप भनिने वाणिज्य बैंकहरुमा पनि छैनन् । यो सबै हामीमाथिको विश्वास परिणाम हो ।’ 

उनले ६६ अर्बको डिपोजिट पनि बैंकमा पुगिसकेको उल्लेख गर्दै सेयरधनीको संख्या पनि ९८ हजार बढी रहेको भन्दै प्रभू बैंकमाथिको यो विश्वासलाई कायम राखेर काम गर्ने प्रतिबद्धता जनाएका थिए । 

बुक भ्यालू पनि बढ्दै
अध्यक्ष भट्टचनका अनुसार हाल बैंकको प्रति सेयर बुक भ्यालु १०९ रुपैयाँ ३९ पैसा रहेको छ । अघिल्लो आर्थिक वर्षमा यो भ्यालू ११५ रुपैयाँ ११ पैसा थियो । बुक भ्यालु समेत घट्दा बैंक अधोगतितर्फ जाने हो कि भन्ने सेयरधनीमा चिन्ता छाएको थियो । तर भट्टचनले आगामी वर्षभित्र बुक भ्यालुु १२५ देखि १३० रुपैयाँको उचाईमा पुर्याउने उद्घोष गरेका छन् । ‘हामी यो रणनीतिमा पनि सफलताको नजिक छौ ।’ उनले भनेका छन्–‘यसका लागि असार मसान्तसम्म कुर्नुहोस् ।’ उनले आगामी वर्षसम्म साधारण रिजर्ब समेत बढाएर अवस्थामा केही सुधार गरिने बताए । 

असारसम्म नो मर्जर, नो एक्वीजिसन
राष्ट्रबैंकले पठाएको फ्रेमअनुसार वार्षिक साधारणसभाले औपचारिकताका लागि अन्य संस्थासँग मर्जर वा एक्वीजिसन सम्बन्धी निर्णयको अन्तिम अधिकार संचालक समितिलाई दिने निर्णय गरेको भनिए पनि भित्री कुरा चाहि अर्कै छ । ९ वटा संस्था(त्यो पनि बिग्रेका)लाई मर्ज गर्दा प्रतिफल पाउन हम्मे–हम्मे परेको उल्लेख गर्दै सेयरधनीहरुले अब मर्जर र एक्वीजिसनमा जानै नहुने भनी तीव्र दवाब दिएका थिए । संचालक समितिले प्रस्तुत गरेको प्रतिवेदनमाथि टिप्पणी गर्ने १७ सेयरधनीले मर्जर र एक्वीजिसनमा जान नहुने सुुझाव दिएका थिए । उनीहरुलाई जवाफ दिने क्रममा अध्यक्ष भट्टचनले फर्मेट अनुसार यो बुँदा राखिएको उल्लेख गर्दै आगामी असारसम्म मर्जर र एक्वीजिसनमा नजाने उद्घोष गर्दै ढुक्क हुन आग्रह गरेका थिए । 

अवस्था खराब होइन
चर्चा गर्ने गरिएजस्तो प्रभू बैंकको अवस्था खराब नरहेको भट्टचनले जिकिर गरेका छन् । उनले लगातार २ वर्ष बैंकले नाफा कमाएको उल्लेख गर्दै अब आउने असारसम्म पनि उच्च नाफा कमाउने र लगानीकर्तालाई उच्च प्रतिफल दिने प्रतिबद्धता व्यक्त गरेका थिए । ‘तपाईंहरु बिगे्रको ग्राण्डलाई किन्दा प्रतिफल पाउन मुश्किल भयो भन्नुहुुन्छ, यो सही होइन ।’ उनले थपे–‘ग्राण्ड बैंकलाई नगाभेको भए हामीले २१ प्रतिशत बोनस खान सक्दैन थियौं । ग्राण्ड बैंकको तर्फबाट हामीलाई बोनस उपहार आएको चाहि बिर्सनुुभयो ?’उनले राष्ट्रबैंकले तोकेको समयभित्रै चुक्तापूँजी सुविधाजनक हिसाबले ८ अर्ब पुर्याउने बैंकमा आफूहरुले सफलता हासिल गरेको बताए । उनले सेयरधनीकै हितका लागि ४० प्रतिशत हकप्रदको प्रस्ताव पनि ल्याइएको जिकिर गरे । ‘४ सयको सेयर तपाईंलाई १ सयमा पाउने प्रस्ताव गर्नु चाहि हित भएन त ?’ प्रश्न गर्दै उनले भने–‘हामीलाई साथ दिनुहोस् छोटो समयमै प्रभूलाई टप बैंक बनाउनेछौ ।’ 

ग्राण्डका सेयरधनीले आगामी साताबाट प्रमाणपत्र पाउने
अध्यक्ष भट्टचनले सेयर कारोबार फुकुवाको बिषयमा केन्द्रीय बैंकबाट चिठी आइसकेको उल्लेख गर्दै ७ देखि १० दिनभित्रमा सेयर कारोबार फुकुवा हुने जानकारी दिए । तत्कालीन ग्राण्ड बैंकका सेयरधनीले आगामी सातादेखि नै सेयरको प्रमाणपत्र समेत पाउने उनले उद्घोष गरे । 

सीइओले मागे २ वर्ष 
वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रभूू बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बैंकको सुधारका लागि आफूहरुले तीव्र गतिमा काम गरिरहेको जानकारी दिए । उनले सबै संकेतहरु सुखद रहेका उल्लेख गर्दै भने–‘मलाई २ वर्ष दिनुहोस्, तपाईहरुले राम्रो प्रतिफल पाउने गरी बैंकलाई रहरलाग्दो ठाउँमा पुुर्याउनेछु।’ 

कर्मचारीलाई १६ करोड बोनस !
प्रभू बैंकको वार्षिक साधारणसभाले कर्मचारीलाई १६ करोड बढी बोनस वितरणको प्रस्ताव समेत पारित गरेको छ । प्रभूमा कार्यरत सबै कर्मचारीले ७ महिना बराबरको तलब एकमुष्ट बोनसको रुपमा पाउने भएका हुन् । बोनस ऐन अनुसार यो प्रस्ताव पारित गरिएको अध्यक्ष भट्टचनले प्रष्ट्याएका थिए ।