-प्रकाश बञ्जारा 
युएई । जापान सँसारको एउटा यस्तो देश हो, जहाँ जान र त्यहाँको जीवन पद्घति अँगाल्न दुनियाका नागरिकले रहर गर्छन् । विश्वका धेरै देश र त्यहाँका नागरिकलाई जापान जान र त्यहाँको वातावरण नियाल्न त्यत्ति गाह्रो पर्दैन जति नेपालीलाई पर्ने गर्छ । 

पछिल्लो समय जापान सरकारले नेपाल सरकारसँग सम्झौता नै गरेर नेपालीलाई जापानमा रोजगारीको लागि जाने बाटो खोलिदिएको छ । जापानले नेपालीलाई कामदारको रुपमा लिने भन्ने हल्ला आउनासाथ भाषा सिकाउने भनेर खोलिएका सँस्थाहरुको व्यापार चौगुना बढेर गएको छ । विद्यार्थीको रुपमा जापान छिर्ने एक थरिको अहिले पनि निकै ठूलो ताँती छ भने कामदारको रुपमा जान मन गर्नेको हुल त झनै निकै ठूलो छ । जे जसरी जापान छिर्ने प्रक्रियामा रहे पनि आखिरीमा धेरैको जापान मोह पैसा कमाउनु नै हो। पछिल्लो अपडेट अनुसार कामदार भिषा पाउने भएपछि स्टुडेण्ट भिषामा जान चाहानेहरुले नो अव्जेक्सन लेटर नै पाउन छाडेको बताइन्छ ।

आखिर के छ र जापानमा त्यस्तो सँसारको मन लोभ्याउने विकास र कमाउने भाँडो ? बिजशालाले युएईमा जापानमा झण्डै ४ बर्षदेखि स्टुडेन्टको भिषामा रहँदै आएकी धादिङकी रसिला सिलवाल नेपाललाई भेट्टाउने अवसर पायो । हाम्रो अनुरोधमा रसिलाले आफ्नो जापान अनुभव साटिन । हुन त एक व्यक्तिले देखेको जापान र नदेखिएको जापानमा फरक होला, तर धेरैको जापानप्रतिको तिर्खामा पानी बन्न सक्छ भनेर हामीले यो सामाग्री बनाएका छौ ।

विद्यार्थीको भिषामा जापान जाने जोकोहीलाई पनि त्यहाँ हप्ताको २८ घण्टा काम गर्न दिने नियम रहेछ । प्रतिघण्टा पाउने हाजिरा भनेको काम र कम्पनी र शहर हेरेर फरक–फरक रहेछ । सामान्यतया ८ सय ८१ एन प्रतिघण्टा दिनमा र रातको काम भए त्यसको २५ प्रतिशत बढी प्रतिघण्टा कमाइ हुन्छ । हप्तामा २८ घण्टा काम गर्नु भनेको सामान्यतया आफूलाई आवश्यक पर्ने खर्च पुर्याउनजत्तिकै भएको रसिलाको भनाई छ ।

पढ्न भनेर गएका विद्यार्थीले कम्तीमा २ बर्ष त अन्य विषय नभई त्यहाँको भाषा मात्रै सिक्नुपर्ने रहेछ । २ बर्षपछि त्यो भाषामा दख्खल भए पनि आफ्नो रोजाईमा विभिन्न बिषयहरु रोजेर पढ्न पाइने कुरा पनि उनीबाट थाहा भयो । विद्यार्थीले अनिवार्य रुपमा कलेज जानैपर्ने र हप्ताको निश्चित घण्टा कलेजमा हाजिर गर्नैपर्ने नियम समेत त्यहाँ छ । कलेजमा हाजिर कम भए जरिवाना समेत तिर्नुपर्ने नियम रहेको उनले बताइन । 

कामदारको माग बढी भएको कारणले गर्दा काम पाउन कत्ति पनि गाह्रो नहुने रहेछ । जापनिजहरु आफ्ना लागि आफैँ गर्ने र अर्काको बाटो नहेर्ने बानीले गर्दा कतिपय त ७०–७५ बर्षका महिलाहरुसमेत युवा सरह काम गरिरहेका भेटिने रसिला सुनाउँछिन् । काम गर्न जाँगर भएकाले बेरोजगारी भएर बस्न नपर्ने जापानको जीवन पद्घतिलाई धेरैले मोहित पार्दछ । 

शुद्घ र फ्रेस खाना पाइने साथै स्वस्थ जीवन पद्धति भएको कारणले उनीहरु धेरै फुर्तिला हँुदा रहेछन्, फलस्वरुप ७० को उमेरमा पनि उत्तिकै जोशका साथ काम गर्नसक्ने रहेछन् । यत्तिका उमेरसम्म पनि काम गर्नुपर्ने कारण भनेको महङ्गी पनि रहेछ । कतिपय त महङ्गीकै कारणले विवाह नगर्ने र बच्चा समेत नजन्माउने गरेको कुरा बुझिनमा आयो ।

साथसाथै जापानको रहनसहनले जतिसुकै अल्छीलाई पनि मेहनती बनाउने गरेको रसिलाले अनुभव गरेकी रहिछन् । भन्छिन्–‘आफ्नो देशमा जस्तो बरालिएर बसेको मान्छेले पनि जापान गयो भने मेहनत गरेर काम गर्छ किनकि उसलाई त्यहाँको वातावरणले काम गर्न बाध्य बनाउँछ ।’  

त्यहाँको सरकारी संयन्त्र  सिस्टममा चल्दो रहेछ । प्रक्रिया पुगेदेखि कुनै काम पनि नरोकिने रहेछ भने प्रक्रिया नभएको भए नातागोता तथा चिनेको सम्बन्धको आधारमा कुनै पनि काम छिटो र ढिलो हुने हँुदैन । 

जपानमा पनि अन्य विकसित देशमा जस्तै सार्वजनिक स्थलमा फोहोर र फोहोरजन्य पदार्थ फाक्न प्रतिवन्ध रहेछ । यदि फालेको पाईएमा भारि जरीवाना तिर्नुपर्ने, सबै फोहोरहरु कुहिने, जल्ने, पुनः प्रयोग गर्न मिल्ने सामानहरु निश्चित ठाउँमा फाल्नुपर्छ । डिस्पोजेबल बस्तु र पुनः प्रयोग गर्न मिल्ने तथा नवीकरण गर्न मिल्ने कागज, क्यान जस्ता सामानहरु पmरक फरक ठाउँमा फाक्नुपर्छ । त्यति मात्र नभई यस्ता फोहोरजन्य पदार्थ फाक्ने दिन समेत फरक फरक रहेछ । 

धेरैजसो मान्छेको चाप भएको ठाउँमा मेसिनहरु राखिएका हुन्छन्, जहाँबाट आफूलाई आवश्यक पर्ने पानी जुस, आइसक्रिम चिया, कफि जस्ता सामानहरु सजिलै किनेर खान साकिन्छ । यसको मतलव पैसा भएर कसैले भोकै बस्नुपर्दैन ।

जपानमा नयाँ हुने विद्यार्थी तथा कामदार भिषामा जाने जोकोहीले पनि त्यहाँको सुरक्षाको नियमहरु  ट्राफिक प्रहरीले सिकाउँछ । आफ्नो सुरक्षाका लागि पूर्ण रुपमा ट्राफिक नियमको पालना गर्नु हरेकको कर्तव्य हो । सडकको सुरक्षामा जापान सरकारले निकै संयमता अपनाएको पाईन्छ । साइकल बाहेकको  समेत बिमा जरुरी हुन्छ । जहाँ साइकल किनेको ठाउँमा पनि बाहकको परिचयपत्र दर्ता गराउनु पर्छ ।

त्यहाँको जनघनत्वमा रहेका अन्य देशका नागरिकमा चाइनिज, नेपाली, भियतनाम, भारत, पाकिस्तान बंगलादेश, म्यानमार समेतका छन् । चाइनिजहरु र बैवाहिक सम्बन्ध भएर धेरै जापान आएका छन् भने  विद्यार्थीमा नेपाली, भियतनाम, चाइनिज, अहिले त भारत, पाकिस्तान, बगलादेश, म्यानमार समेतका नागरिक भेटिन्छन् । 

जापानमा पढ्नका लागि गएका विद्यार्थीले हप्ताको २८ घण्टामात्र काम गर्न अनुमति छ । पढ्न भनेर जानु भनेको एउटा जापान छिर्ने माध्यम मात्र हो, धेरैको उद्देश्य पैसा कमाउने नै हुन्छ । अनुमति दिएभन्दा बढी घण्टा काम गरेको पाइए भिषा रिन्यु गरिदिंदैन । कति त त्यस्तो भएपछि शरणार्थी भएर समेत बसेका छन् । कतिले भने हप्ताको १६८ घण्टामा ४ ठाउँसम्म काम गरेर धेरैजसो समय काममै बिताउँछन्  । जसले गर्दा स्वास्थ्यमा नकारात्मक असर परिरहेको हुन्छ भने पैसा नै कमाउने हेतुले गएकाले भने राम्रै कमाई गरेका छन् । 

जापानमा बस्ने र काम गर्नेहरुले तलब लिएको आधारमा कर तिर्नुपर्छ, जसकारणले कर छल्नकै लागि पनि धेरैवटा काम गर्नेले सबै ठाउँमा पूरा २८ घटा नपुर्याई थोरै थोरै घण्टा काम गर्ने गर्दा रहेछन् । जहाँ न्यूनतम आम्दानीको आधारमा कर तय गरिएको छ भने सरकारले विद्यार्र्थी तथा कामदारलाई पेन्सनमा समेत सामेल हुने अवसर दिएको हुन्छ । तर त्यो आफ्नो चाहाना अनुसार हुन्छ । पेन्सन योजनामा सामेल हुने विद्यार्थी तथा कामदारको मासिक तलबको आधारमा निश्चित रकम पेन्सन फण्डमा जम्मा हुने र त्यहीबाट सरकारले केही रकम थप गरिदिने गर्दछ । पेन्सनमा जम्मा भएको रकम आफूले काम छोडेको खण्डमा एकमुष्ट पाईन्छ ।  

जापान संसारमा धेरै भूकम्प जाने देशमा पर्छ  । भन्ने गरिन्छ जापानमा भूकम्प नगएको दिन हुँदैन, त्यही भएर पनि त्यहाँका घरहरु हल्का कागजजस्तै हुन्छन्, जो भूकम्पले पटक्कै असर गर्दैन । ढलिहाले पनि मानवीय क्षति हुनबाट जोगिन्छ । अर्को कुरा जापनिजहरु सकभर घरमा लगानी गर्दैनन् । भिल्ला तथा पmल्याट लिएर बस्छन्, जसले सुन्दर शहरको निमार्णमा सहयोग पुर्याएको छ । कतिपय त घर बनाउन नसकेर गाडीमै बस्ने सुत्ने, पब्लिक चर्पी प्रयोग गर्ने र काममा जाने समेत हुन्छन् । जुन सामान्य मान्छेको दैनिकीमा पर्छ । 

जापनिजहरु मौसम पूर्वानुमान अन्तर्गत भुकम्प, टाइफु जस्ता भवितव्यका लागि अलर्ट रहन पहिले देखिनै सामान किनेर स्टकमा राख्ने गर्छन् । कृषिका लागि निश्चित ठाउँ हुन्छ, जहाँ खेती गरेर बजारमा बजारीकरणका लागि ल्याइन्छ ।