काठमाण्डौ । धादिङको खानीखोला मुख्य कार्यालय रहेको वोमी माइक्रो फाइनान्स कम्पनीले आर्थिक वर्ष २०७३/७४ मा खूद नाफामा सामान्य बढोत्तरी गरेको छ । 

अघिल्लो आर्थिक वर्ष १ करोड ७७ लाख खूद नाफा आर्जन गरेको यो कम्पनीले आब २०७३/७४ मा २ करोड १० लाख नाफा कमाएको हो । 

यो कम्पनीले यो अवधिमा ३२ करोड १९ लाख सापटी लिई ६५ करोड ८६ लाख बराबरको कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष २२ करोड ८३ लाख सापटी लिई ३८ करोड ४३ लाख कर्जा प्रवाह गरेको थियो । वोमीले २५ करोड ७५ लाख निक्षेप संकलन गरेको छ । अघिल्लो वर्ष १३ करोड २१ लाख मात्र निक्षेप संकलन गरेको थियो । 

अघिल्लो आर्थिक वर्षसम्म १.८१ प्रतिशतमा रहेको निस्क्रिय कर्जाको दर यो वर्ष घटेर १.१३ प्रतिशतमा झरेको छ । यस्तै, वार्षिक प्रतिसेयर आम्दानी ३२.४१ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १६०.९१ रुपैयाँ, मूल्य आम्दानी अनुपात ६१.०६ गुणा र प्रतिसेयर कुल सम्पत्तिको मूल्य ११४५.९९ रुपैयाँ कायम भएको छ ।