काठमाण्डौ । लगानीकर्ताहरुका लागि लगानीका विभिन्न विकल्प रहेका हुन्छन् ।

निश्चित ब्याज पाउने शर्तमा बोण्ड एण्ड डिबेन्चर पनि रहेका हुन्छन् ।अन्तरराष्टिय बजारमा पनि लगानीका विभिन्न विकल्प रहेका हुन्छन् नै । जसअन्तर्गत कमोडिटि बजार जसमा सुन, कोइला,कफीदेखि ग्यास र तेलको कारोबार हुने गर्छ । 

त्यसैगरि,  अन्य लगानीमा फरेक्स, क्रिप्टोकरेन्सिमा लगानीका विकल्प रहेका हुन्छन् । कोरोना महामारीको समयमा नेपालमा मात्रै नभएर विश्व सेयर बजारमा निकै चमक आएको थियो । त्यो समयमा पूँजीबजारमा नयाँ- नयाँ अर्बपति जन्मिएका थिए । लण्डनबाट प्रकाशित हुने मार्केटवाच डटकमले उल्लेख गरे अनुसार सन् २०२३ मा अन्य क्षेत्रको लागानीकर्ताहरुले भन्दा सुनमा लगानी गरेका लगानीकर्ताले बढी कमाएका छन् ।

वित्तीय संसारका गम्भीर लगानीकर्तादेखि नयाँ व्यापारीसम्मले सुनको चर्चा गर्न थालेका छन् । पछिल्लो समय यस्ता लगानीकर्ताको दिन फर्किएको छ । यो वर्ष विश्वमा सबैभन्दा राम्रो प्रदर्शन गर्ने परम्परागत सम्पत्तिमा सुन अगाडि छ । 

दुई वर्षदेखिको रसिया– युक्रेनको युद्ध तथा पछिल्लो समयमा इजरायल र प्यालेष्टाइनमा विथोलिएको अशान्तिले गर्दा लगानीकर्ता सुरक्षित लगानीको खोजीमा छन् । यसक्रममा विभिन्न देशका लगानीकर्ताहरु सुरक्षित लगानीतर्फ आकर्षित भएको विभिन्न सञ्चार माध्यमहरुले जनाएका छन् ।

यस वर्ष विश्वबजारमा सुनको मूल्य प्रतिऔंस २ हजार डलरसम्म पुगेको छ । उक्त पत्रिकाले आफ्नो समाचारमा उल्लेख गरे अनुसार सन् २०२० देखि हालसम्म सुनमा गरिएको लगानीबाट राम्रो प्रतिफल मिलेको छ ।

सन् २०२३ मा सूचक एसएण्डपी ५०० सँग तुलना गर्दा सुनका लगानीकर्ताले करिब १० प्रतिशत आम्दानी गरेका थिए ।एसएण्डपी ५०० का लगानीकर्ताले जम्मा ८ प्रतिशत मात्र आम्दानी गरेका थिए । त्यसैगरि सन् २०२२ मा पनि एसएण्डपी ५०० मा १६ प्रतिशत आम्दानी हुँदा गोल्ड फ्युचरमा २४ प्रतिशतले आम्दानी भएको उक्त पत्रिकाले जनाएको छ ।

कतिपय बजार विश्लेषकहरुले भने विश्वको विद्यमान अशान्तिको अवस्था अझै कायमै रहेमा सुनको मूल्य अझै उकालो लाग्न सक्ने प्रक्षेपण गरेका छन् ।यस वर्ष विश्वमा सबैभन्दा राम्रो प्रदर्शन गर्ने परम्परागत सम्पत्तिमा सुन अगाडि छ, तर विज्ञहरुले स्थिर बजार र सबल अर्थतन्त्रका लागि सुनको मूल्य बढ्नु राम्रो संकेत नभएको बताएका छन्  । -एजेन्सीहरुको सहयोगमा