काठमाण्डौ । विश्वकै लोकप्रिय क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्यले गएको नोभेम्बरको दोस्रोमा उच्च रेकर्ड बनाएको थियो। त्यतिबेला यो डिजिटल मुद्रा ६८ हजार ९९० अमेरिकी डलरमा कारोबार भएको थियो। 

गत वर्ष नोभेम्बरको तेस्रो साताबाट बिटक्वाइनको मूल्यमा गिरावट आउन थालेको हो। पछिल्लो २ महिनामै यसको मूल्यमा ५० प्रतिशत गिरावट आइसकेको छ। 

विश्वकै सबैभन्दा मूल्यवान क्रिप्टोकरेन्सी भनेर चिनिने बिटक्वाइन सन् २०२२ को सुरुआतसँगै हालसम्म २० प्रतिशतले गिरावट आएको छ। गएको २४ घन्टामा मात्रै ८ प्रतिशतले ओरालो लागेको बिटक्वाइन हालको मूल्य ३३८४० डलरमा झरेको छ। 

बिटक्वाइनमा मात्रै नभई अन्य क्रिप्टोकरेन्सीहरुको मूल्यमा पनि भारी गिरावट आएको छ। विश्वको दोस्रो मूल्यवान मानिने इथेरियमको मूल्यमा पनि गएको २४ घन्टामा १२ प्रतिशतको गिरावट आएको छ। इथेरियमको मूल्य अहिले २ हजार २६० डलरमा झरेको छ। नयाँ वर्ष लागेयता यसको मूल्यमा पनि ३५ प्रतिशतको गिरावट आइसकेको छ। 

यसरी क्रिप्टोकरेन्सको मूल्यमा गिरावट आउनुमा अमेरिकी फेडरल रिजर्भ बैंकले यी डिजिटल मुद्रालाई अविश्वास गर्नु तथा रसियन सरकारले प्रतिबन्ध लगाउनजस्ता कारण मानिएका छन्। 

नेपालमा गैरकानुनी रहेको क्रिप्टोकरेन्सको कारोबार भइरहेको सूचना पाएपछि नेपाल राष्ट्र बैंकले हिजोमात्र निकै कडा सूचना जारी गरेको थियो। राष्ट्र बैंकले क्रिप्टोकरेन्सी कारोबारमा संलग्नहरुलाई कानुनबमोजिम कारबाही हुने चेतावनी दिएको छ।