काठमाण्डौ । कतार एयरवेज समूहले गत कारोबार वर्ष २०१९/२० मा १.९ अर्ब डलरको घाटा भएको जनाएको छ।

कतारको कारोबार वर्ष हरेक मार्च महिनामा समाप्त हुन्छ। कम्पनीले गत कारोबार वर्षमा भएको उक्त घाटाका लागि कयौँ कारणहरु जिम्मेवार रहेको जनाएको छ। ती कारणहरुमा चारवटा अरबका देशहरु साउदी अरब, संयुक्त अरब इमिरेट्स (यूएई), बहराइन र इजिप्टद्वारा कतार एयरवेजमा लगाइएको प्रतिबन्ध, कोरोनाभाइरस महामारी र एयर इटलीको लिक्विडेसन पनि समावेश छन्। 

कम्पनीले स्थापनाकालदेखि नै कयौँ चुनौतीहरुको सामना गरेको जनाएको छ। तर कम्पनीको इतिहासमा कोरोबार वर्ष २०१९/२० सबैभन्दा धेरै खराब र कठिन वर्षहरुमध्ये एक रहेको कम्पनीले जनाएको छ। 

कतारविरुद्ध अवैध एयरस्पेस ब्लकेड, बहुमत सेयरधनीहरुद्वारा एयर इटलीको लिक्विडेसन, अकाउन्टिङ पोलिसी एवं रिपोर्टिङ स्ट्यान्डर्डमा बदलावजस्ता कारणहरुले गर्दा कम्पनीले गत कारोबार वर्षमा ७ अर्ब कतारी रियाल (१.९ अर्ब डलर) घाटा व्यहोरेको हो। एयर इटलीमा कतार एयरवेजको ४९ प्रतिशत स्वामित्व रहेको छ। 

कम्पनीले एक विज्ञप्ति जारी गर्दै प्रतिकुल परिस्थिति नभइदिएको भए अपरेटिङ र नेटका आधारमा कतार एयरवेज समूहको प्रदर्शन अघिल्लो वर्षभन्दा पनि राम्रो हुन्थ्यो भनेर प्रक्षेपण गरेको छ।