एजेन्सी । नाइट लाइफका लागि दुनियाँमै सबैभन्दा लोकप्रिय दुबई विश्वकै सबैभन्दा महङ्गो पर्यटकीय स्थल बनेको छ । यूकेको ट्राभल वेबसाइट ज्इएएब्ले विश्वका ७ महंगा पर्यटकीय गन्तव्यको सूचि सार्वजनिक गरेको छ, जसमा दुबईं पहिलो नम्बरमा परेको हो । न्यूयोर्क र बोत्सवाना क्रमशः दोश्रो र तेश्रो महंगो पर्यटकीय शहरमा परेका छन् । यो लिस्टमा छिमेकी देश भारत र हाम्रो देशको कुनै पनि पर्यटकीय गन्तव्यले स्थान पाउन सकेनन् ।
होप्पाले पर्यटकीय गन्तव्यमा बस्दा, घुम्दा, खाँदा र लोकल यातायात प्रयोग गर्दा लाग्ने खर्चको आधारमा विश्वकै महंगा पर्यटकीयस्थलको सूचि तयार पारेको बताइएको छ । यसमा एकजना वा एकजोडीका लागि रातमा बस्न, पेय पदार्थ लिन, बिहानको खाजा, दिउँसो खाना र रातिको खाना खानेसम्मको मूल्य समेत हेरिएको थियो । आउनुहोस् हेरौं महंगा टुरिस्ट डेस्टिनेसनमा पर्ने गन्तव्यहरुको विषयमा :
दुबई
सर्भेका अनुसार दुबई सबैभन्दा महंगो पर्यटकीयस्थल हो । दुबईमा एकदिन बिताउनका लागि स्ट्याण्डर्ड खर्च करिब ४२ हजार ५ सय ६० रुपैयाँ पर्छ । यसमा खानाको खर्च, पेय पदार्थ, ट्याक्सी भाडा र एकदिनको होटलको खर्च सामेल छ । सर्भेमा एकदिनको हवाईभाडा चाहि सामेल गरिएको छैन । दुबई आफ्नो सुविधाजनक होटलका लागि समेत विश्वमै चर्चित छ । दुबईमा घुम्न र रमाउनका लागि धेरै उत्कृष्ट गन्तव्यहरु छन् । माथि उल्लिखित खर्च स्ट्याण्डर्ड होटलका लागि हो । सामान्य होटलमा बस्न चाहनेहरुका लागि सोही अनुसारका होटल पनि दुबईमा उपलब्ध छन् ।
न्यूयोर्क
सर्भेक्षणमा संसारकै दोश्रो महंगो पर्यटकीय स्थलको रुपमा न्यूयोर्कले ठाउँ लिएको छ । अमेरिकामा समेत महंगो शहरमध्ये न्यूयोर्क अगाडि आउँछ । यहाँको होटलमा खाना खानु सबैभन्दा महंगो पर्न जान्छ । पर्यटकले न्यूयोर्कको थ्री स्टार होटलमा दुईजनाको खानाका लागि ८ हजार ४ सय रुपैयाँसम्म खर्च गर्नुपर्छ । यहाँ स्ट्याचू अफ लिबर्टी, एम्पायर स्टेट बिल्डिंग, सेन्टल पार्क, टाइम्स स्क्वायर लगायतका ठाउँहरु पर्यटकहरुका माझ चर्चित छन् ।
बोत्सवाना
बोत्सवाना दक्षिणी अफ्रिकी मुलुक हो । कालाहारी मरुभूमि र वोकेवांगो डेल्टाको मध्यभागमा अवस्थित बोत्सवाना विश्वकै तेश्रो महंगो पर्यटकीय गन्तव्यको सूचिमा दर्ज भएको छ । यहाँ पर्यटकले सबैभन्दा धेरै खर्च ट्याक्सी जस्तो लोकल यातायातको साधन चढ्दा गर्नुपर्दछ । यो शहर पर्यटकहरुमाझ मरुभूमि यात्रा(डिजर्ट सफारी)का लागि प्रख्यात छ । यो ठाउँमा घुमन्तेका लागि एकदिन बस्नुपर्दाको स्टेण्डर्ड खर्च ३४ हजार २ सय रुपैयाँ हुन आउँछ ।
मारकेश
पश्चिम मोरक्कोको चर्चित शहर हो मारकेश । यो मोरक्कोको प्रमुख आर्थिक केन्द्र पनि हो । यो शहर यहाँ बनेका महल, विकास गरिएको मनमोहक र आश्चर्यलाग्दा बगैंचा र मस्जिदका लागि निकै लोकप्रिय छ । सर्भेमा मारकेशलाई संसारकै चौथो महंगो पर्यटकीय गन्तव्यको रुपमा छनौट गरिएको छ । यो क्षेत्रको होटलमा बस्नु नै निकै महंगो पर्छ । यो शहरमा एक दिन बिताउनका लागि स्टेण्डर्ड खर्च ३४ हजार रुपैयाँ आउँछ । यो खर्चमा होटल, दुईजनाको खाना र लोकल यातायातको खर्च समेत समावेश छ ।
सिड्नी
सिड्नी अस्टेलियाको चर्चित शहर र न्यू साउथ वेल्सको राजधानी समेत हो । अस्टेलियाका केही ठूला र चर्चित शहरमध्ये सिड्नी पहिलो नम्बरमा आउँछ । सिड्नीको ओपेरा हाउस पर्यटकमाझ निकै चर्चित छ । यहाँ एकदिन बिताउनका लागि स्टेण्डर्ड खर्च ३० हजार ८ सय रुपैयाँ हुन आउँछ । सिड्नीमा होटल, खाना र पेय पदार्थ निकै धेरै महंगो छ ।
लण्डन
यूकेको राजधानी लण्डनलाई संसारकै महंगो पर्यटकीय गन्तव्यको सर्भेक्षणमा छैठौ स्थान मिलेको छ । सर्भेक्षणका अनुसार पर्यटकले यहाँ पनि सबैभन्दा धेरै खर्च खानाका लागि नै गर्नुपर्छ । लण्डनको तीनतारे होटेल वा रेष्टुराँमा दुईजनाका लागि खानाको स्टेण्डर्ड खर्च ७ हजार ६ सय रुपैयाँ पर्न आउँछ । लण्डन सपिङ र रेष्टुराँका लागि दुनियाँमै चर्चित गन्तव्य हो । सर्भे अनुसार लण्डन ५ वर्षअघिको तुलनामा अहिले १८ प्रतिशतले महंगो भइसकेको छ ।
सिंगापुर
मलेशियाको दक्षिणमा अवस्थित सिंगापुर संसारकै महंगा पर्यटकीय गन्तव्यको सूचिको सातौं नम्बरमा परेको छ । नेपालका धनाढ्यहरु समेत धेरै संख्यामा सिंगापुर घुम्न जान्छन । छिमेकी देश भारतका अधिकांश धनाढ्यको रोजाईं समेत सिंगापुर नै हुने गरेको छ । यो क्षेत्रमा घुम्ने र किनमेल गर्नका लागि थुप्रै विकल्पहरु हुन्छन । यो शहरमा पेय पदार्थ निकै महंगो पर्छ । सिंगापुरमा बस्नका लागि एकदिनको स्टेण्डर्ड खर्च २७ हजार ९ सय रुपैयाँ भन्दा बढी पर्न आउँछ । (एजेन्सीको सहयोगमा)
सबै तस्विरहरु : एजेन्सी र गुगल सर्चबाट
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago