काठमाण्डौ । एसियाका टप १० कम्पनीमा धेरैजसो चिनियाँ कम्पनी छन् । भारतको एउटा पनि पर्न सफल भएको छैन । हालै भारतको रिलायन्स कम्पनीले भारु १० लाख करोड रुपैयाँको बजार पूँजीकरण पुर्याउन सफल भए पनि यो टप १० भित्र स्थान बनाउन सकेन ।

पहिलो नम्बरमा एसियाकै सबैभन्दा ठूलो ई–कमर्श कम्पनी अलीबाबा पर्न सफल भएको छ । यो कम्पनीको बजार पूँजीकरण (एमसीएपी) ५३६ अर्ब डलर रहेको छ । यसको मुख्यालय चीनको हाङ्गझुमा रहेको छ ।

त्यस्तै दोस्रो र तेस्रो नम्बरमा पनि चीनकै कम्पनीहरु क्रमशः टेनसेन्ट र इन्डस्ट्रियल एन्ड कमर्सल बैंक अफ चाइना पर्न सफल भएका छन् । टेनसेन्टको एमसीएपी ४१० अर्ब डलर र बैंक अफ चाइनाको २८९.१७ अर्ब डलर रहेको छ । टेनसेन्टको मुख्यालय शेनझेन र बैंक अफ चाइनाको मुख्यालय पेइचिङमा रहेको छ ।

यसैगरी चौथो नम्बरमा ताइवान सेमिकन्डक्टर म्यानुफ्याक्चरिङ कम्पनी पर्न सफल भएको छ । यो कम्पनीको एमसीएपी २६४.५७ अर्ब डलर र मुख्यालय ताइवानमा रहेको छ ।

पाँचौँ नम्बरमा सामसुङ कम्पनी रहेको छ । यसको एमसीएपी २५९.८० अर्ब डलर रहेको छ । यसको मुख्यालय दक्षिण कोरियाको राजधानी सोलमा रहेको छ ।

छैटौँ र सातौँ स्थानमा चीनकै पिङ अन र क्वेइचो कम्पनी पर्न सफल भएका छन् । चीनको शेनझेनमा मुख्यालय रहेको पिङ अनको एमसीएपी २१७.०२ अर्ब डलर रहेको छ । त्यस्तै चीनको जुनयीमा मुख्यालय रहेको क्वेइचोको एमसीएपी २१०.७० अर्ब डलर रहेको छ ।

यसैगरी आठौँ, नवौँ र दसौँ स्थानमा पनि चीनकै कम्पनीहरु रहेका छन् । आठौँमा चीनको पेइचिङमा मुख्यालय रहेको चाइना कन्स्ट्रक्सन बैंक पर्न सफल भएको छ । यो बैंकको एमसीएपी २०७ अर्ब डलर रहेको छ ।

त्यस्तै नवौँ र दसौँ स्थानमा पेइचिङमा मुख्यालय रहेको अग्रिकल्चर बैंक अफ चाइना र चाइना मोबाइल रहेका छन् । अग्रिकल्चर बैंक र चाइना मोबाइलको एमसीएपी क्रमशः १७७.९१ अर्ब डलर र १५९.५० अर्ब डलर रहेको छ । – एजेन्सी