काठमाण्डौ । यतिबेला पूरै विश्वमा थुप्रै विवादको मुख्य कारण तेल र ग्यास बन्ने गरेको छ। आउँदो समयमा यस्ता विवाद अन्य खनिजका लागि पनि हुन सक्ने देखिन्छ। 

कुरा मार्च ८ को हो। जब बिहान ५ः४२ मा निकलको मूल्य यति छिटो बढ्न थाल्यो कि लन्डन मेटल एक्सचेन्जमा हल्लीखल्ली नै मच्चियो। १८ मिनेटमै निकलको मूल्य प्रतिटन १ लाख डलर पुगेको थियो। जसका कारण निकलको काम रोकिनुपरेको थियो।

यो रेकर्ड तोड्नुअघि नै निकलको भाउ पछिल्लो २४ घन्टामा २५० प्रतिशतले बढिसकेको थियो।

रुसले युक्रेनमा आक्रमण गरेपछि बजारमा धातुको ठूलो संकट उत्पन्न भएको यो पहिलोपटक हो।

मूल्यमा यो उछाल आउनुको मुख्य कारण रुसमाथि पश्चिमी देशहरुले लगाएको प्रतिबन्ध मानिएको छ। यसबाट विश्वमा निकलजस्तो धातुको महत्व बढेको स्पष्ट भएको छ। 

रुस ग्यास र तेलको प्रमुख आपूर्तिकर्ता हो। रुस–युक्रेन युद्धका बेला ग्यास र तेलका लागि रुसमाथि युरोपेली मुलुकहरुको निर्भरताले इन्धनलाई हतियारका रुपमा पनि प्रयोग गर्न सकिने देखाएको छ।

युक्रेनमाथिको आक्रमण रोक्न अमेरिका र उसका सहयोगीहरुले रुसमाथि कडा आर्थिक प्रतिबन्ध लगाएका छन्। तर, यसका बाबजुद युरोप रुसबाट तेल र ग्यास किन्न बाध्य छ।

गत मार्च ३१ मा अमेरिकी राष्ट्रपति जो बाइडेनले भनेका थिए, ‘अमेरिकामा निर्मित स्वच्छ ऊर्जाले हाम्रो राष्ट्रिय सुरक्षाको रक्षा गर्न मद्दत गर्नेछ। हामीले भविष्य निर्धारण गर्ने चीजहरुका लागि चीन र अन्य देशमा हाम्रो लामो समयदेखिको निर्भरता अन्त्य गर्न आवश्यक छ।’
बाइडेनले यसअघि विद्युतीय ब्याट्री निर्माण र नवीकरणीय ऊर्जा भण्डारणका लागि प्रयोग हुने खनिजहरुको स्थानीय उत्पादन र प्रशोधनमा सहयोग गर्न रक्षा उत्पादन कानुन लागू गर्ने घोषणा गरेका थिए।

यी खनिजमा लिथियम, निकल, ग्रेफाइट, म्यागनिज र कोबाल्टजस्ता धातु समावेश रहेको ह्वाइट हाउसले जनाएको छ। 

रुसको ऊर्जा हतियार

तर, ऊर्जा परिवर्तनकालमा बजार सेयरमा राम्रो प्रतिस्पर्धामा उपयोगी हुनका लागि प्रत्येक देशको आवश्यकताअनुसार विभिन्न खनिज महत्वपूर्ण हुन्छन्।

आउँदा दिनहरुमा तेल, ग्यास र कोइलाको आपूर्तिमा प्रमुख भूमिका खेल्ने देशहरु प्रतिस्पर्धामा पछाडि पर्ने खतरा रहेको विज्ञहरुले चेतावनी दिएका छन्।

उदाहरणका लागि रुस, जसको आर्थिक शक्ति मुख्यतया जीवाष्म इन्धनमा निर्भर छ। यो विश्वको दोस्रो ठूलो ग्यास उत्पादक र तेस्रो ठूलो तेल उत्पादक हो। यद्यपि, रुसले भविष्यमा खनिजहरुका लागि प्रतिस्पर्धाबाट फाइदा लिन सक्छ। किनकि रुस विश्वमा कोबाल्ट र प्लेटिनमको दोस्रो ठूलो आपूर्तिकर्ता र निकलको तेस्रो ठूलो आपूर्तिकर्ता पनि हो।

रुसमा केही खनिज प्रशस्त मात्रामा भए पनि विज्ञहरुका अनुसार यी महत्वपूर्ण खनिज अन्य देशमा बढी पाइन्छ। संसारमा कोबाल्टको सबैभन्दा ठूलो हिस्सा रिपब्लिक अफ कंगो, इन्डोनेसियाबाट निकल, लिथियमको अस्ट्रेलिया, कपर चिल्स र दुर्लभ खनिज चीनबाट निकालिन्छ।

विशेषज्ञहरु कम्तीमा १७ खनिजलाई विश्वमा ऊर्जा परिवर्तनका लागि महत्वपूर्ण मान्छन्। तसर्थ, यी खनिज उत्खनन र प्रशोधन गर्ने क्षमता भएका देशले बढी फाइदा लिन्छन्।

इन्टरनेसनल एनर्जी एजेन्सीको अनुमानमा यी १७ खनिजमध्ये सबैभन्दा महत्वपूर्ण लिथियम, निकल, कोबाल्ट, तामा, ग्रेफाइट र दुर्लभ अर्थहरु छन्।

यी खनिज उत्पादनमा कुन देश अगाडि छ ?

इन्टरनेसनल एनर्जी एजेन्सीका विज्ञ ताए–युन–किमले सन् २०४० सम्ममा यी खनिजको माग तीव्र रुपमा बढ्ने बताए। उनी ऊर्जा परिवर्तनबाट कुन देशहरुलाई बढी फाइदा हुन्छ भनेर दुई हिस्सामा बाँड्छन्। ‘एउटा देश जहाँ यी खनिज प्रचूर मात्रामा पाइन्छ र दोस्रो ती जो प्रशोधनमा अग्रपंक्तिमा छन्’, उनी भन्छन्, ‘जहाँसम्म खनिजहरुको प्रचूरता र तिनको उत्खननको सवाल छ धेरै देश अगाडि छन्। तर, खनिज प्रशोधनमा चीनको वर्चस्व छ।’

‘ऊर्जा संक्रमणबाट कुन देशलाई सबैभन्दा बढी फाइदा हुन्छ भन्न गाह्रो छ। यो तिनीहरुको उत्पादन शृंखला कहाँ अवस्थित छ भन्नेमा निर्भर गर्दछ’, उनले भने। ‘तर, यो स्पष्ट छ कि हामी एउटा महत्वपूर्ण मोडमा छौँ। २० औँ शताब्दीको इतिहासमा तेलले महत्वपूर्ण भूमिका खेलेको छ भने २१ औँ शताब्दीको इतिहासमा ऊर्जा परिवर्तनमा खनिजहरुले महत्वपूर्ण भूमिका खेल्नेछ।’

चार सबैभन्दा अहम धातु

विद्युतीय ब्याट्रीमा धातु चाहिने भए पनि औद्योगिक गतिविधिका लागि धेरै प्रकारका ऊर्जा भण्डारण गर्न पनि ती महत्वपूर्ण हुन्छन्।
जर्मन इन्स्टिच्युट फर इकोनोमिक रिसर्चका अन्वेषक लुकास बोअर भन्छन्, ‘यदि यी धातुको आपूर्ति मागसँग मेल खाँदैन भने तिनीहरुको मूल्यले आकाश छुन थाल्नेछ।’

बोअरले एन्ड्रिया पेस्केटोरी र मार्टिन स्टर्मरसँग गरेको अनुसन्धान ‘द मेटल अफ द एनर्जी ट्रान्जिसन’ गत वर्षको अन्त्यमा प्रकाशित भएको थियो। ‘कि यस मामलामा एक महत्वपूर्ण कारक यी धातुहरुको निकासीको प्रक्रिया हो’, बोअर भन्छन्, ‘वास्तवमा यी धातु निकाल्न थालेका खानी परियोजनाहरु पूर्ण रुपमा सञ्चालन हुन एक दशक (औसतमा १६ वर्ष) लाग्छ। त्यसैले आगामी दिनमा यी धातुको थप अभाव हुन सक्छ।’

अनुसन्धानका अनुसार ४ महत्वपूर्ण धातु निकल, कोबाल्ट, लिथियम र तामा हुन्। तिनीहरुको मूल्य लामो समयसम्म ऐतिहासिक रुपमा बढ्न सक्छ। 

यी ४ धातुका उत्पादक एक्लैले आगामी २० वर्षसम्म तेल क्षेत्रको जत्तिकै आम्दानी गर्न सक्छ। ‘यी धातु नयाँ तेल हुन सक्छन् र चीन कोबाल्ट उत्पादन गर्ने कंगोमा लगानी गरेर सबैभन्दा ठूलो खेलाडी बनेको छ’, बोअर भन्छन्।

पश्चिमी मुलुकहरुमा पछि पर्ने त्रास

युद्धको नयाँ परिस्थितिमा जब पश्चिमी देशहरुले आफ्नो ऊर्जा निर्भरता कम गर्न आवश्यक छ तब त्यहाँ देशहरु छन्, जसले यस बढ्दो आवश्यकताको केही हिस्साको आपूर्ति गर्न सक्छ।

ब्लुमबर्ग एनईएफ रिसर्च सेन्टरका धातु र खानी प्रमुख क्वासी एमपोफो भन्छन्, ‘यो परिवर्तनबाट लाभ उठाउनेमा चीन सबैभन्दा राम्रो स्थितिमा छ। ‘यदि चीनले रुसको धातु उत्पादनलाई आफ्नो रिफाइनरीमा ल्याउन र अन्य देशमा बेच्न सक्षम भयो भने यो परिवर्तनको विजेता बन्न सक्छ’, उनले भने।

तर, अन्य देश पनि यो मामिलामा मैदानमा छन्। निकलको कुरा गर्दा इन्डोनेसियाले विगत दुई वर्षदेखि आफ्नो उत्पादन क्षमता बढाउँदै आएको छ। रुसबाट आएको कमीलाई पूर्ति गर्न उसले अझै बढाउनेछ। निकल रुसो–युक्रेन युद्धबाट सबैभन्दा बढी प्रभावित धातु हो। रुसले आफ्नो विश्वव्यापी उत्पादनको ९ प्रतिशत उत्पादन गर्ने देश हो।

अर्कोतर्फ यदि प्लेटिनम समूहका धातुहरुको अभाव छ भने दक्षिण अफ्रिकी उत्पादकहरुले उक्त कमीलाई पूरा गर्न सक्छन्।

भविष्यका धातुहरुमाथिको नियन्त्रण हुन सक्ने लडाइँमा त्यहाँ पक्षहरु छन्, जसमा चीन हावी हुन सक्छ। यस्तो अवस्थामा पश्चिमा देशहरु तीव्र गतिमा अघि बढेनन् भने उनीहरु पछि पर्ने खतरा निकै रहेको छ। –बीबीसीबाट भावानुवादित