काठमाण्डौ । नेपाल बैंकको भावी प्रमुख कार्यकारी अधिकृत(सीईओ) का लागि ५ जनाको नाम सर्टलिस्टका लागि छनौट भएको छ । 

तत्कालीन सीईओ कृष्णबहादुर अधिकारीको कार्यकाल सकिएपछि रिक्त रहेको पदमा खुल्ला प्रतिस्पर्धाबाट नियुक्तिका लागि सिफारिस गर्न सञ्चालक समितिबाट गठित उपसमितिले दरखास्त दिएका १९ जनामध्ये ५ जनाको नाम सर्टलिस्टका लागि छनौट गरिएको हो । 

उम्मेद्वारहरुको शैक्षिक योग्यता, कार्य अनुभव र व्यवसायिक कार्ययोजनाको मूल्यांकनमा प्राप्त गरेको कुल प्राप्तांकको योग्यताक्रमका आधारमा सबैभन्दा बढी अंक प्राप्त गर्ने ५ जनालाई व्यवसायिक कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागि छनौट गरिएको उपसमितिले जनाएको छ ।

सर्टलिस्टमा परेकाहरुमा नेपाल बैंककी कामु सीईओ समता पन्त(भट्ट) समेत रहेकी छिन् । कतिपयले उनलाई सम्भावित सीइओको रुपमा हेर्ने गरेका छन् । 

सर्टलिस्टमा परेका अन्य उम्मेद्वारहरुमा अशोककुमार पौडेल, तिलकराज पाण्डेय, ध्रुवचन्द्र गौतम र लक्ष्मण पौडेल छन् । 
उनीहरु ५ जनाकै प्रस्तुतीकरण र अन्तर्वार्ता बुधबार हुनेछ । 

प्रस्तुतीकरण तथा अन्तर्वार्ताका आधारमा सिफारिस उपसमितिले तीनजनाको नाम सञ्चालक समिति समक्ष पेश गर्नेछ । तिनै तीन जनामध्ये एकजना बैंकको आगामी सीईओ छानिनेछन् ।