-प्रकाश बञ्जारा
यूएई । हिमालयन बैंकले सञ्चालन गरेको हिमाल रेमिटले युएईबाट रेमिट्यान्स पठाउने पचास प्रतिशतभन्दा बढी नेपालीले आफूहरुलाई रोज्ने गरेको बताएको छ । 

बिजशालासँगको रेमिट्यान्स कुराकानीमा बोल्दै हिमालयन बैंकका तर्फबाट युएई प्रमुख रहेका कमल पराजुलीले युएईबाट नेपाल जाने ५० प्रतिशत भन्दा बढी रेमिट्यान्सको हिस्सा हिमाल रेमिटबाटै जाने गरेको बताए । 

खाडीमा श्रम पोख्ने नेपालीलाई लक्षित गरी बचतको बानी गराउन बैंकले युएइबाटै बचत खाता खोलिदिने गरेको छ भने निश्चित समयसम्म बचतको पैसा खातामै राख्न चाहाने सेवाग्राहीले त्यही बचत खातालाई मुद्घतिमा परिवर्तन गरेर राम्रो ब्याज समेत पाउनसक्ने पराजुलीले बताएका छन् । 

युएईमा रहेका प्रमुख एक्सचेञ्जहरु युएई एक्सचेञ्ज, अल अन्सारी एक्सचेञ्ज, लुलु एक्सचेञ्ज, अल हलिया एक्सचेञ्ज, रेडा अन्सारी एक्सचेञ्ज, अल फर्दान एक्सचेञ्ज, एलएम एक्सचेञ्ज, अल घुरायर एक्सचेञ्ज लगायत २५ बढी एक्सचेञ्जबाट रेमिट्यान्स पठाउनुका साथै बैंक खाता सम्बन्धी काम गर्न सकिने पराजुली बताउँछन् । 

आम नेपालीलाई सहज र सरल रेमिट्यान्स पठाउन तथा बैंकिङ्गका बारेमा जानकारी दिन धेरैजसो एक्सचेञ्ज हाउसहरुमा नेपाली कामदारहरु पनि रहेको बताइएको छ । नेपालीहरुलाई रेमिट्यान्स शिक्षा दिन तथा बैंकले प्रदान गर्ने सेवा र सुविधाहरुको बारेमा जानकारी दिन क्याम्प क्याम्पमा जाने गरेको र बैधानिक रेमिट्यान्सको बारेमा समेत जानकारी दिने गरेको पराजुलीको भनाई छ । 

उनीसहित हिमालयन बैंकले युएईमा ६ जना प्रतिनिधि खटाएको छ । उनीहरु कुनै बेला एक्सचेञ्ज हाउसमा गएर त्यहाँ आउने नेपालीलाई सहज रेमिट्यान्सका लागि सहयोग गर्छन् त कहिले बजारीकरणका लागि क्याम्प क्याम्पमा जान्छन् र हिमाल रेमिट्बाट पैसा पठाउँदाका फाइदाबारे नेपाली कामदारलाई चेतना जगाउँछन् । 

हिमाल रेमिटले हालैबाट युएइमा रहेका आफ्ना सेवाग्राहीलाई निरन्तर अपडेट गराईरहन हिमाल रेमिट् युएई नामक फेसबुक पेज पनि सञ्चालनमा ल्याएको छ । रेमिट् र बैंकका नयाँ सूचना र जानकारी हालेर दैनिक विनिमय दर पनि अपडेट गराउने युएई प्रमुख पराजुलीले बिजशालालाई बताए । 

युएईमा दुःख गरिरहेका नेपालीलाई बचतको बानी बसाल्न मासिक रुपमा तलब आउनासाथ निश्चित रकम बैंक खातामा हाल्न प्रवासी नेपालीलाई पराजुलीको सुझाव छ । सन् २००४ बाट युएईमा रेमिट्यान्स सेवा विस्तार गरेको हिमाल रेमिट्ले युएईबाट पठाएको पैसा प्राप्त गर्न देशभरका ६० शाखा कार्यालयसहित १० हजार एजेन्टसँग सहकार्य गरिएको बैंकले बताएको छ । 

पराजुलीका अनुसार पछिल्लो समयमा रकमको हिसाबले बैधानिक रेमिट्यान्स केही मात्रामा बढेको छ । नेपालमा चलेको ३३ केजी सुन काण्डको अनुसन्धानसँगै रेमिट्यान्सको भोलुम केही मात्रमा बढेको उनले बताए । 

पराजुलीका अनुसार नेपाली करेन्सिको विनिमय दर घट्दा या बढ्दा रेमिट्यान्स पठाउने नेपालीहरुले त्यति पैसा होल्ड गर्ने या ह्वात्तै जम्मा गरेर धेरै पठाउने भने हुँदैन । “धेरैजसो नेपालीले हरेक महिना आफ्नो चालुखर्च धान्न पैसा पठाउनैपर्ने बाध्यता भएका कारण रेट बढ्ला भनेर पर्खिएर बस्ने अवस्था रहँदैन।”-पराजुली भन्छन् । त्यही कारणले पनि युएईबाट नेपाल जाने झण्डै ८५ प्रतिशत रेमिट्यान्स बैंक खातामा नभई नगदै भुक्तानी लिने हिसाबले पठाउने गरिन्छ ।