काठमाण्डौ ।युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जीवन दिप बीमा योजना नामक नयाँ म्यादी जीवन बीमा योजना बुधवार सार्वजनिक गरेको छ । 

ग्राहकहरुको बृहत्तर हितलाई ध्यानमा राखी न्युन बीमाशुल्कमा अधिक बीमाङ्कको लाभ प्राप्त हुने गरी नवीनतम् प्रकारको म्यादी जीवन बीमा योजना ल्याईएको र यसबाट बृहद लाभ लिन सकिने कम्पनीले जनाएको छ । 

न्युन बीमाशुल्कमा अधिक लाभ लिन सकिने जीवन दिप म्यादी जीवन बीमा योजना उत्कृष्ट र सस्तो प्रकारको रहेकाले न्युन आय भएका वर्गका मानिसहरुले पनि सहजै बीमा गर्न सक्ने अवस्था भएको कम्पनीले जानकारी दिएको छ ।

उक्त बीमा योजना अन्तर्गत प्राकृतिक रुपमा बीमा गर्नेको मृत्यु भएमा बीमाङ्क रकम, दुर्घटनाबाट मृत्यु भएमा करारमा उल्लेखित थप बीमाङ्क र दुर्घटनाबाट पूर्ण अंगभंग वा शारिरीक अशक्तता भएमा बीमालेखको अवधिसम्म बीमाशुल्क छुट र नियमित रुपमा मासिक आय सुविधा समेत उपलब्ध गराईने व्यवस्था रहेको छ ।

व्यक्तिगत तथा संस्थागत रुपमा समेत बीमा गर्ने सुविधा रहेको उक्त बीमा योजना अन्तर्गत न्यूनतम ३ लाख बीमाङ्क र अधिकतम आयश्रोतको आधारमा आवश्यक्ता अनुसार बीमाङ्क निर्धारण गरी बीमा योजना लिन सकिने सुविधा रहेको छ । उक्त बीमा योजना १६ बर्ष देखि ६० बर्ष उमेर समूहका ब्यक्तिहरुले ५ बर्ष देखि २५ बर्ष सम्मको अवधीका लागि लिन पाउने व्यवस्था गरिएको छ । वार्षिक रुपमा बीमाशुल्क भुक्तानी गर्न सकिने भएकाले उक्त बीमा योजना बीमा गर्न चाहनेहरुको लागि उपयुक्त बीमा योजना भएको कम्पनीले जनाएको छ ।

जीवन दिप बीमा योजना नवीन विशेषता भएको, न्यून शुल्कमा अधिक बीमाङ्क रकमको बीमा गर्न सकिने र व्यक्तिगत तथा संस्थागत रुपमा समेत लिन सकिने भएकाले यो योजना आम मानिसहरुको रोजाईमा पर्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले दाबी गरेका छन् । खासगरी कर्पोरेट, सहकारी, उद्योग प्रतिष्ठान, यातायात, संघ संस्था, कलेज, स्कुल, असंगठित क्षेत्र लगायतका व्यक्तिहरुको लागि उपयोगी बीमा योजना रहेको उनको भनाइ छ ।