काठमाण्डौ । सरकारले गाउँ–गाउँसम्म बैंक पुर्याउने नीति लिएपछि शाखा सञ्जाल बिस्तारमा बैंक तथा बित्तीय संस्थाहरु आक्रामक बनिरहेको समाचार नौलो होइन । सो क्रममा बैंकहरुले विभिन्न स्थानमा शाखा सञ्जाल बिस्तार गरेका र उद्घाटन गरेका समाचार पनि नौला होइनन् । कुनै बैंक तथा बित्तीय संस्थाले राष्ट्रबैंकका गभर्नर, डेपुटी गभर्नर, कार्यकारी निर्देशक तथा विभागीय प्रमुख वा अन्य सम्बन्धित निकायका बहालवाला अधिकारीको हातबाट शाखा उद्घाटन गराएको समाचार पनि सामान्य नै भयो । शाखा उद्घाटनको यो होडबाजीमा फरक ढंगले सोच्न सकिँदैन ? प्राय नियामक निकायका बहालवाला अधिकारी, आफ्नै संचालक समितिका अध्यक्ष वा संचालकबाट मात्रै शाखाहरुको उद्घाटन हुने गरेको छ ।

बलेकै आगो ताप्ने बानी परिसकेकाहरुका लागि शाखा उद्घाटनको सामान्य औपचारिक कार्यक्रमको बिषयमा किन बढी सोचिरहने भन्ने सोंच आउनसक्छ, जुन स्वभाविक हो । शाखा बिस्तार गरेपछि त्यसलाई औपचारिकता दिन उद्घाटनको सामान्य कार्यक्रमको बिषयमा किन धेरै टाउको दुखाउने भनिन्छ भने पनि त्यो अस्वभाविक नहोला । तर, यही सामान्य कार्यक्रममार्फत नै अग्रजहरुको सम्मान गर्न सकिन्छ भन्ने कुरा सोच्ने पनि त कोही न कोही होलान् नि ? किन नहुने ? शाखा उद्घाटनमा नौलो परिपाटीको विकास गरेको मुक्तिनाथ विकास बैंकले यही सामान्यजस्तो लाग्ने कार्यक्रममार्फत देशका पूर्व गभर्नर(शक्तिमा नभएका, रिटायर भइसकेका)लाई सम्मान गर्ने गज्जबको शैली अपनाएको छ । 

अरुले नियामक निकायका बहालवाला अधिकारीबाट शाखा कार्यालय उद्घाटन गराइरहँदा मुक्तिनाथले भने आर्थिक जगत र पूरा देशले बिर्सिसकेका पूर्व गभर्नरहरुलाई पालैपालो लग्दै उनीहरुको हातबाट शाखा उद्घाटन गराइरहेको छ, जुन निकै नौलो अभ्यास पनि हो ।  

बैंकको यही नौलो कार्यक्रमअनुसार राष्ट्रबैंकका संस्थापक गभर्नर हिमालयनसमशेर जबराको भागमा सीतापाइला शाखा परिसकेको छ भने, डा. भेषबहादुर थापालाई बानेश्वर, डा. तिलक रावललाई न्यूरोड, दीपेन्द्रबहादुर क्षेत्रीलाई कालीमाटी र कुलेश्वर, दीपेन्द्रपुरुष ढकाललाई लगनखेल, सत्यन्द्रप्यारा श्रेष्ठलाई कमलविनायक र गणेबहादुर थापालाई चावहिल शाखा उद्घाटनको जिम्मा दिइएको छ । फागुनभित्र काठमाण्डौ उपत्यकामा ९ वटा शाखा बिस्तार गर्ने योजना बनाएको मुक्तिनाथ बैंकले सबै पूर्व गभर्नरहरुलाई पालो पुर्याएर शाखा उद्घाटनको अवसर दिइरहेको छ । कोटेश्वर, माछापोखरी, ठमेल र जोरपाटीमा थप ४ वटा शाखा समेत बित्तीय तथा आर्थिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका र हाल रिटायर जीवन बिताइरहेका व्यक्तित्वको हातबाट उद्घाटन गर्ने बैंकको योजना छ । 

गत वर्ष पोखराबाट स्थानान्तरण भई काठमाण्डौमा आएको केन्द्रीय कार्यालय उद्घाटन समारोहमा धेरैले बिर्सिसकेका राष्ट्रबैंकका सबै जिवित पूर्व गभर्नरहरुलाई एउटै मञ्चमा जम्मा पारेर बित्तीय क्षेत्रमै ऐतिहासिक कार्यक्रम गरेको यो बैंकले शाखा उद्घाटनमा समेत नयाँ शैली अपनाएको हो । ‘पूर्व गभर्नरज्यूूहरुलाई त्यति सम्मानले मात्र पुुग्दैन भनेर हामीले शाखा उद्घाटनमार्फत पनि उहाँहरुलाई सम्मान गरेका हौ ।’ मुक्तिनाथ विकास बैंकका सीइओ भरतराज ढकालले भने–‘उहाँहरुको आशिर्वाद र प्रेरणाबाट हामी अगाडि बढ्न सक्दैनौ, हामीले सम्मान गरेपछि उहाँहरुले पनि आशिर्वाद दिनुुभएको छ, भविष्यको उच्चतम सफलताका लागि यो नै हाम्रो ठूलो सम्पत्ति पनि हो ।’ 

उनले पूर्वगभर्नरहरुको हौसला र विश्वास पाउन समेत शाखा बिस्तारमा उनीहरुको सहभागिता निश्चित गरिएको प्रष्ट्याए । ‘संचालक समितिले काठमाण्डौभित्रका शाखा पूर्व गभर्नरज्यूूहरुको बाहुलीबाट उद्घाटन गराउने निर्णय नै गरेको हो ।’ सीइओ ढकालले थपे–‘यसले हामीलाई उर्जा समेत प्राप्त भएको छ । पूर्व गभर्नरज्यूूहरुले मुक्तिनाथको फरक शैलीलाई मन पराइदिनुुभएको छ।’ 

पूर्व गभर्नरहरुलाई काठमाण्डौकै शाखा मात्र उद्घाटन किन गराउनुुभएको ? काठमाण्डौ बाहिर पनि लैजाँदा हुन्थ्यो नि ? भन्ने हाम्रो प्रश्नमा सीइओ ढकालले भने–‘ कतिपय पूर्वगभर्नर ८० वर्ष पुगिसक्नुुभएको छ । कति अस्वस्थ हुनुहुन्छ । त्यसकारण उहाँहरुको सुविधालाई ध्यानमा राखेर यसो गरेका हौ । अझ हामीले पूर्वगभर्नरहरुको आबास जुन क्षेत्रमा छ, उहाँहरुलाई त्यही छेउको शाखा उद्घाटन गराएका छौ ।’ 

तर, भयो यस्तो दुुर्भाग्य.............!
मुक्तिनाथ विकास बैंकको योजना अनुसार फागुनभित्र सबै पूर्व गभर्नरको बाहुलीबाट शाखा उद्घाटन गराइसक्ने भन्ने छ । तर, तीमध्येका एक पूर्व गभर्नर डा. युवराज खतिवडाको बाहुलीबाट चाहि शाखा बिस्तार गर्न नपाएकोमा बैंक नेतृत्व थकथकी मानिरहेको छ । ‘उहाँ अर्थमन्त्री बन्नुु ३ दिनअघि मात्र मैले फोन गरेर चावहिल शाखाको उद्घाटनका लागि अनुरोध गरेको थिएँ, उहाँ पनि सकारात्मक हुनुहुन्थ्यो ।’ ढकालले थपे–‘हामीले पूर्व गभर्नरमा पनि वरिष्ठबाट कनिष्ठताको क्रम अनुसार क्रमैसँग शाखा उद्घाटन गराएका थियौं, कान्छो पूर्व गभर्नर खतिवडा नै हुनुुहुन्थ्यो, तर हाम्रा लागि दुुर्भाग्य, उहाँ हाम्रो शाखा उद्घाटन नगर्दै अर्थमन्त्री बन्नुुभयो । अब अर्थमन्त्री भइसकेको व्यक्तिलाई शाखा उद्घाटन गर्न बोलाउने कुरा पनि भएन ।’ 

मुक्तिनाथ विकास बैंकले स्थापनाकालदेखि नै फरक शैलीमा बैकिङ गर्दै आएको छ । बित्तीय साक्षरताका लागि उसले विगतमा संचालन गरेका पृथक कार्यक्रमले समेत राम्रै चर्चा पाएको थियो ।

राष्ट्रिय स्तरका विकास बैंकमध्येको टप यो बैंकको हाल शाखा सञ्जाल ७५ वटा रहेको छ । चालुु आर्थिक वर्षभित्र शाखा सञ्जाल बढाएर १०१ पुर्याउने लक्ष्य छ । यो बैंकले काठमाण्डौ आएको डेढवर्षभित्रै उपत्यकामा मात्र १३ वटा शाखा बिस्तार गरेको छ । यो बैंक राष्ट्रिय स्तरका विकास बैंकमध्ये त्यस्तो एक बैंक हो, जसले राष्ट्रबैंकको तोकेको पूँजी पुर्याउन कुनै पनि बैंक तथा बित्तीय संस्थालाई अक्वायर वा मर्जर गरेन । अर्थात, हकप्रद र बोनस सेयर जारी गरेरै यो बैंकले न्यूनतम चुक्तापूँजी पुर्यायो ।