काठमाण्डौ । ब्रिटिस वैज्ञानिकहरुले कोरोना भाइरसबाट बेलायतमा हुनसक्ने मानवीय क्षतिको विषयमा यसअघि गरेको प्रक्षेपण खारेज गर्दै अवस्था अझ भयावह हुने र यूरोपमै सबैभन्दा खराब अवस्था बेलायतकै हुने नयाँ प्रक्षेपण सार्वजनिक भएको छ । 

अमेरिकास्थित इन्स्टिच्यूट फर हेल्थ मेट्रिक्स एण्ड इभालुएसन(आइएचएमई)ले यस्तो प्रक्षेपण सार्वजनिक गरेको हो । उसले मंगलबार अमेरिकाको सियाटलस्थित वासिङ्टन स्कूल अफ मेडिसिनमा यस्तो प्रक्षेपण सार्वजनिक गरेको सिएनएनले जनाएको छ।

अगस्टको प्रारम्भसम्ममा यूकेमा कोरोना भाइरसको संक्रमणबाट ६६ हजार ३१४ मानिसको मृत्यु भइसक्ने विश्लेषण गरिएको छ । 

लण्डनको इम्पेरियल कलेजले गरेको एक अध्ययनले कोरोना भाइरससँग लड्न ब्रिटिस सरकारले भरपर्दा तयारी गरेको भन्दै मृतकको संख्या न्यूनतम २० हजारदेखि अधिकतम ३० हजारसम्म पुग्नसक्ने प्रक्षेपण गरेको थियो । तर, त्यो प्रक्षेपण अब काम नलाग्ने नयाँ अध्ययनले देखाएको छ । 

पछिल्लो प्रक्षेपणमा धेरै हाइप्रोफाइल ब्रिटिस वैज्ञानिकहरुले चासो दिएका र सहमति जनाएका समेत समाचारमा दाबी गरिएको छ । 

अन्य देशमा झै यूकेमा पनि हेल्थकेयरको क्षमता यो अवधिमा तीव्र गतिमा बढाउनुपर्ने चुनौति देखिएको रिपोर्टमा उल्लेख छ । 

त्यसो त ५ हजार शैया क्षमताको नयाँ हस्पिटलको रुपमा एनएचएस नाइटिङ्गेल स्थापना भइसकेको छ र त्यहाँ बुधबारदेखि उपचार सुरु भएको छ । 

तर, अध्ययनले यूकेमा अस्पतालको शैया अझै अपुग रहेको र आइसीयू बेडको अभावले अवस्था बिग्रनसक्ने देखाएको छ । अप्रील १७ सम्म यूकेमा आइसीयू बेडको अभाव अझ चर्किनेछ । सो अवधिसम्म २३ हजार ७४५ आइसीयू बेडको अभाव खड्किन सक्नेछ। 

अध्ययनअनुसार अहिलेको अवस्थामा यूकेमा अधिकतम १ लाख २ हजार ७९४ बेडको आवश्यकता पर्छ । तर, हाल त्यहाँ १७ हजार ७६५ शैया मात्र उपलब्ध छ । हाल यूकेमा ७९९ आइसीयू बेड मात्र उपलब्ध छ, तर त्यहाँ आइसीयू बेड मात्रै २४ हजार ५४४ शैया चाहिने देखिएको छ । 

अध्ययनकर्ताहरुले कोरोना भाइरसबाट यूकेमा कम्तीमा ५५ हजार २२ देखि बढीमा ७९ हजार ९९५ व्यक्तिले ज्यान गुमाउनसक्ने प्रक्षेपण गरेका छन् । 

आइएचएमईले अमेरिकामा ८२ हजारसम्मको ज्यान जान सक्ने नयाँ प्रक्षेपण समेत सार्वजनिक गरिसकेको छ ।