काठमाण्डौ । यूनाइटेड फाइनान्स लिमीटेडले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा खूद नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा २१९.१० प्रतिशतले बढाएको छ । 

यो कम्पनीले अघिल्लो वर्षको दोश्रो त्रैमाससम्म १ करोड ४ लाख रुपैयाँ नाफा कमाएकोमा त्यसलाई बढाएर यो वर्ष ३ करोड ३३ लाखको उचाई चुमाएको हो । 

समीक्षा अवधिमा ३ करोड ३७ लाख संभावित जोखिम व्यवस्थापनबाट राइट ब्याक गरेका कारण यो कम्पनीको नाफामा यति राम्रो प्रगति भएको देखिएको हो । 

अघिल्लो वर्षको दोश्रो त्रैमाससम्म १ करोड ४ लाख संचालन घाटामा रहेको यो कम्पनीले १ करोड ८६ लाख संचालन मुनाफा आर्जन गरेको छ । 

व्यवसाय बिस्तारमा ध्यान दिएका कारण फाइनान्सले खूद ब्याज आम्दानीतर्फ पनि ५१.२५ प्रतिशतको प्रगति गरेको छ । अघिल्लो वर्ष ९ करोड २६ लाख रहेको यस्तो आम्दानी बढेर यो वर्ष १४ करोड माथि पुगेको छ । 

समीक्षा अवधिमा यूनाइटेड फाइनान्सले ५ अर्ब ९७ करोड निक्षेप संकलन गरी ५ अर्ब ३४ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा ५ अर्ब ५८ करोड निक्षेप संकलन गरी ४ अर्ब ६१ करोड कर्जा परिचालन गरेको थियो । 

अघिल्लो वर्षको यही अवधिमा १७ करोडमा सीमित रिजर्बकोषको आकार बढाई २१ करोड ६८ लाखको उचाईमा पुर्याएको कम्पनीले खराब कर्जालाई घटाउने निकै ठूलो सफलता पाएको छ । अघिल्लो वर्ष १.५५ प्रतिशतको अनुपातमा रहेको खराब कर्जा(एनपिएल) घटाएर यो वर्ष ०.९९ प्रतिशतमा झार्ने सफलता पाएको हो । 

अघिल्लो वर्ष ७२.१४ प्रतिशतको निकै सुविधाजनक सीडी रेसियोमा रहेको यो कम्पनी यो वर्षको दोश्रो त्रैमासमा भने ७८.२४ प्रतिशतको निकै टाइट सीडी रेसियोमा बसेको छ । 

समीक्षा अवधिमा फाइनान्सको प्रतिसेयर आम्दानी ८.३३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १२७.०९ रुपैइाँ र मूल्य आम्दानी अनुपात १९.८१ गुणा कायम भएको छ ।