काठमाण्डौ । यूनाइटेड फाइनान्सले रणनीतिक वैदेशिक साझेदारको रुपमा वैदेशिक लगानी भित्र्याउने भएको छ । 

यो फाइनान्सले भारतको कोची प्रदेशमा प्रधान कार्यालय रहेको मुुथोट फाइनान्स लिमीटेडलाई आफ्नो रणनीतिक वैदेशिक साझेदारको रुपमा भित्र्याउने भएको हो । 

भदौ २६ गतेको बसेको यूनाइटेड फाइनान्सको २१० औं संचालक समितिको बैठकले मुुथोट फाइनान्सलाई संस्थापक सेयरधनी अन्तर्गत रहने गरी २०७४ साल असार मसान्तमा प्रस्तावित बोनस सेयर समेत कायम रहेको कुल चुक्तापूँजीमा न्यूनतम २० प्रतिशत लगानीको अवसर दिने निर्णय गरेको हो । 

मुुथोट फाइनान्सले प्रतिकित्ता न्यूनतम १ सय रुपैयाँ मूल्य नघट्ने गरी यूनाइटेड फाइनान्सको २१ लाख कित्तामा लगानी गर्नुपर्नेछ । यही विषयमा सो संस्थासँग भएको सम्झौतालाई बैठकले अनुुमोदन गर्ने निर्णय गरेको कम्पनी सचिव शेषकुमार ढुुंगानाले जानकारी दिएका छन् । 

रणनीतिक वैदेशिक साझेदारको लगानी सम्बन्धी पूर्ण कायान्वयन भने दुवै संस्थाका सम्बन्धित नियामक निकायहरुबाट स्वीकृति प्राप्त गरी ती कम्पनीको साधारणसभाबाट पारित भएपछि मात्र हुनेछ । 

यसैबीच, फाइनान्स संचालक समितिको सोही बैठकले आर्थिक वर्ष २०७३/७४ को खूद नाफबाट आफ्ना सेयरधनीलाई १९ प्रतिशत बोनस सेयर वितरणको निर्णय समेत गरेको छ । बोनस सेयरमा लाग्ने कर भने सेयरधनीले नै व्यहोर्नुपर्नेछ ।