काठमाण्डौ । राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष प्रा.डा. पुष्पराज कँडेलले आफ्नो बैकिङ अनुभव सुनाउँदै काम गर्ने क्रममा चनाखो नहुँदा कर्मचारीदेखि संचालकहरुसम्मले संस्थालाई फसाउनसक्ने बताएका छन् । 

टुरिजम डेभलपमेन्ट बैंकको संचालक समितिको अध्यक्ष समेत रहेका प्रा.डा. कँडेलले आफ्नो बैकिङ अनुभव सुनाउँदै मेगा बैंकसँगको एकीकृत कारोबार शुभारम्भ समारोहमा सो कुरा बताएका हुन् । 

उनले बैंक तथा बित्तीय संस्थाका संचालकहरुले ऋण प्रवाहदेखि कर्मचारी भर्नासम्ममा इन्ट्रेस्ट देखाउने गरेको उल्लेख गर्दै यस्तै प्रवृतिले बैंकमा गडबडी हुने आफूले बुझेको समेत सुनाए । ‘संचालकले लोनमा स्वार्थ राख्न नहुने रहेछ, केही साथीहरुले विगतमा स्वार्थ राखेर हामीलाई चिप्लाएका छन् ।’ उनले स्मरण गर्दै भने–‘पछि हामीले त्यसलाई करेक्सन गर्यौ, तर संचालकहरुले आफ्नो हस्तक्षेप हतपत छाड्नै चाहदैनन् ।’

उनले विभिन्न बैंक तथा बित्तीय संस्थाका संचालकहरुले कर्मचारी भर्नामा समेत गडबडी गर्न खोज्ने गरेका अनुभव सुनाए । संचालकको सिफारिसमा आएका कर्मचारीहरुमा कम जिम्मेवारी बोध हुने र प्रतिस्पर्धाको भावनाको अभाव हुने भएकोले त्यस्ताबाट बैंकको श्रीवृद्धि हुन नसक्ने बताए । 

मेगा बैंककी सीइओ अनुपमा खुञ्जेलीलाई आफ्ना सुझाव तथा टिप्स भन्दै कुरा सुरु गरेका डा. कँडेलले प्रोक्योरमेन्टहरुमा समेत संचालकहरुले अनावश्यक चासो दिने गरेका र यस्ता कामहरु स्वस्थ प्रतिस्पर्धाबाट गराउनुपर्नेमा जोड दिए । 

उनले संचालकहरुले कर्मचारीलाई दवाबमा राख्ने वा फसाउने मात्र नभई कर्मचारीहरुले पनि बोर्डलाई झुक्याउने गरेका दाबी गरे । ‘संस्था चलाउने कर्मचारीले हो, बोर्डले त पोलिसी बनाएर उनीहरुको कामको अनुगमन गर्ने मात्र हो ।’ उनले थपे–‘तर कर्मचारीले झुक्याउँदा पनि रहेछन् । टुरिजमका कर्मचारीले सेवासुविधाको बिषयमा अरु बैंकको हवाला दिएर धेरै बढाउन लगाए, तर कुरा बुझ्दै जाँदा त हामीले दिएको सेवासुविधा कतिपय वाणिज्य बैंकको भन्दा पनि बढी पो रहेछ । तर, पनि कर्मचारीको सेवासुविधा कटौति नगरियोस् ।’ 

उनले कसरी सफल सीइओ बन्न सकिन्छ भन्ने बिषयमा समेत छोटकरीमा बिस्तार गरेका थिए । ‘बोर्डसँग सीइओले कति झगडा गर्नसक्छ, त्यसमै उसको सफलता र असफलता निहित हुन्छ ।’ उनले भने–‘बोर्डबाट हरेक कुरामा इन्ट्रेस्ट आउँछ, तर सीइओले त्यसको ट्याकल गर्दै संस्थाको इन्ट्रेस्टलाई जोगाउनका लागि सधैं चनाखो बन्नुपर्ने रहेछ ।’ 

सबै संचालक र सबै कर्मचारी गलत नरहने उल्लेख गर्दै उनले संचालकहरुका लागि समेत छोटो टिप्स दिन भ्याए । ‘निजी लगानीका बैंकहरुका संचालक तथा अध्यक्ष भनेकै स्वयम्सेवी खालका पदहरु हुन् ।’ उनले भने–‘तर संचालकले समेत जोगिएर काम गर्नुपर्ने रहेछ । नियामकको सधैं आँखाको तारो संचालकले बन्नुपर्दो रहेछ । कुनै बैंकको सुपरीवेक्षण गर्नुपर्यो भने नियामकको आँखा सुरुमै संचालकहरुबाट स्वीकृत फाइलमा जाने रहेछ ।’ 

उनले प्राविधिक मर्जर सकिए पनि कर्मचारीहरुबीचको वास्तविक भावनात्मक मर्जर बाँकी नै रहेको र त्यसका लागि व्यवस्थापनको नेतृत्वले विशेष ध्यान दिनुपर्ने सुझाव समेत दिए । ‘अब मेगा र टुरिजम दुवै कम्पनीका कर्मचारीलाई समान व्यवहार गरिनुपर्दछ । व्यवस्थापनको नेतृत्वमा विभेदको मानसिकता आउनुभएन ।’ उनले थपे–‘सबैमा अपनत्वको भावना आउने गरी काम अगाडि बढाउनुपर्छ ।’ 

उनले अनुपमा खुञ्जेलीको उदाहरण दिंदै टुरिजमका कर्मचारीलाई भने–‘उहाँ राणाकी छोरी, खुञ्जेली हुनुभयो । त्यो पनि ससूराको उपनाम उहाँले पनि राख्नुभयो । यो अर्थमा राणाको घर(आमाबुबाको घर) छाडेर गएपछि उहाँले जहाँ जानुभयो, त्यो परिवारमा आफूलाई पूर्ण समर्पण गर्नुभयो । टुरिजमका साथीहरुले समेत अब उहाँले जस्तै मेगामा समर्पित हुन सक्नुपर्छ, अब तपाईहरुको सपना र जपना नै मेगा बैंक हुनुपर्छ ।’ 

उनले सम्बोधनको क्रममा टुरिजम बैंकलाई विशेष गुन लगाएका उल्लेख गर्दै ठमेल क्षेत्रलाई  बिर्सिए पाप लाग्ने बताए । उनले पोखरा, सौराहा लगायतका प्रमुख पर्यटकीय हबलाई समेत प्राथमिकतामा राखेर अगाडि बढ्न सुझाव दिए ।