 
                     
                                    काठमाण्डौ । यो वर्ष सेलिब्रेटी बैंकर अनिलकेशरी शाहका लागि ‘ब्याडलक’ साबित भयो । मेगा बैंक स्थापना गरी त्यहाँ २ कार्यकाल प्रमुख कार्यकारी अधिकृत(सीइओ)को रुपमा बिताएका शाहलाई एकपछि अर्को झट्का लागेको हो ।
बाफियामा भएको व्यवस्था कार्यान्वयनका लागि २ कार्यकाल पूरा भएपछि बाध्य भई मेगा बैंकबाट राजीनामा दिएलगत्तै उनले सीइओबिहीन सेञ्चुरी कमर्सियल बैंकमा जाने सम्झौता गरेका थिए । देशकै कान्छो वाणिज्य बैंकले अनिलकेशरी शाहले मागेअनुसार नै तलब तथा सेवासुविधा दिएर उनलाई सीइओ नियुक्त गर्ने निर्णय गरेको थियो । तर, राष्ट्रबैंकले सेञ्चुरी बैंकको त्यसबेलाको कमजोर वासलातलाई आधार बनाउँदै अनिलकेशरी शाहको तलब घटाउन दवाब दिएपछि उनले सेञ्चुरीसँगको करार भंग गरी नवील बैंकको रिक्त सीइओ पदका लागि लविङ गरेका थिए ।
नवील बैंक समेत सशीन जोशीको राजीनामा पछि सीइओको खोजीमा थियो । यही बेला शाहले सम्पर्क सूत्रहरुमार्फत आफू सीइओको रुपमा आउन चाहेको सन्देश दिए । यसपछि संचालक समितिले समेत उनलाई ४ वर्षे कार्यकालका लागि सीइओ नियुक्त गरेको थियो । तर, अनिलकेशरी शाहको नवीलसम्मको यात्रा समेत राष्ट्रबैंकको कुलिङ पिरियडसम्बन्धी नयाँ व्यवस्थाले रोकियो । राष्ट्रबैंकले नवील बैंकले शाहलाई नियुक्त गरेलगत्तै बैंकको सीइओ तथा संचालकहरुका लागि ६ महिने कुलिङ पिरियडको व्यवस्था लागू गर्न सबै बैंक तथा बित्तीय संस्थाहरुलाई निर्देशन दियो ।
बैंकहरुमा सुशासन कायम गराउने उद्देश्यले केन्द्रीय बैंकले निर्देशन दिएको भए पनि यसको सोझो असर सेञ्चुरीसँग सम्झौता तोडेर नवील जान खुट्टा उचालेर बसेका बैंकर शाहलाई पर्यो ।
नवील बैंकले आफ्नो पावर लगाएर कुलिङ पिरियड सम्बन्धी व्यवस्थाको छिद्रहरु केलाउँदै शाहलाई नै सीइओको रुपमा कायम गराउने प्रयास पनि गरेको थियो । तर, राष्ट्रबैंक आफूले कार्यान्वयनमा ल्याएको व्यवस्थाप्रति टसको मस नभइदिएपछि सोमबार बसेको नवीलको संचालक समितिको बैठकले अनिलकेशरी शाहको नियुक्ति नै खारेज गर्ने निर्णय गरेको छ ।
‘कुनै पनि बैंकलाई सीइओविहीन बनाएर ३ महिनासम्म राख्न नपाइने नियमका कारण हामीले उहाँ(शाह)लाई पर्खने अवस्था रहेन ।’ बैंकका एक संचालकले बिजशालासँग भने–‘त्यही भएर नयाँ सीइओ खोजीका लागि सहज होस् भनी शाहको नियुक्ति सम्बन्धी पुरानो निर्णय खारेज गरिएको हो ।’
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19