३२ प्रतिशतसम्म लाभांश दिन सकिन्छ भन्दै नेपाल बैंकले २०७५ जेठ २७ गते आइतबार आयोजना गरेको पत्रकार सम्मेलन ।
काठमाण्डौ । नेपाल बैंक लिमीटेडको संचालक समिति आम लगानीकर्ताहरुको लामो समयदेखिको अपेक्षाविपरीत यो वर्ष लाभांश नदिने निश्कर्षमा पुगेको छ ।
बैंकका एक उच्च अधिकारीले बिजशालासँग कुरा गर्दै यो पटक नेपाल बैंकले लाभांश दिनसक्ने संभावना लगभग सकिएको पुष्टि गरेका हुन् ।
‘संचालकहरुबीच यो वर्ष लाभांश नदिने विषयमा सहमति भएको छ ।’ ती अधिकारीले यो निश्कर्ष पछाडिको कारणबारे सोधिएको प्रश्नमा ठट्यौली शैलीमा बिजशालासँग भने–‘अर्को वर्ष धेरै लाभांश दिनलाई यसो गरिएको हो ।’
लाभांश नदिने संभावना सम्बन्धी सूचना लिक भएका कारण विगत केही दिनदेखि ठूला सेयर खेलाडीले नेपाल बैंकको सेयर बिक्री तीव्र पारेका थिए । यसलाई कतिपयले इन्साइडर टेडिंग भएको समेत बताएका छन् ।
यसअघि केही गिरोहले नेपाल बैंकले १८ प्रतिशतसम्म लाभांश घोषणा गर्दैछ भन्ने हल्ला फैलाएर बैंकको सेयरमूल्य बढाएको थियो । सेयरमूल्य बढाउने त्यही समूहले मूल्य बढेपछि बजारमा एकाएक आफूसँग नेपाल बैंकको सेयर बिक्री गरेर सर्वसाधारण लगानीकर्तालाई फसाउने काम गरेको हो ।
२०७५ जेठ २७ गते नेपाल बैंक लिमीटेडले आफ्नो एफपीओलाई लक्षित गरी न्यूरोडस्थित केन्द्रीय कार्यालयमा एक पत्रकार सम्मेलन गरी यो वर्ष ३२ प्रतिशतसम्म लाभांश दिन सकिने घोषणा गरेको थियो ।
त्यसबेला नेपाल बैंकका सीइओ देवेन्द्रप्रताप शाहले भनेका थिए–‘एफपीओबाट नेपाल बैंकले रु.१७६ करोड सेयर पूँजीमा र रु.३१६ करोड सञ्चित कोषमा थपिनेछ । थपिएको यो रिजर्बबाट मात्र नयाँ र पुराना सबै सेयर होल्डरहरुलाई ३२ प्रतिशतसम्म बोनस सेयर दिन पुग्नेछ । यसबाहेक सामान्य कमाईबाट नगद लाभांश दिने बाटो त छँदैछ ।’
विगत २ दशकदेखि नेपाल बैंकले आफ्ना सेयर होल्डरहरुलाई केही दिन सकेको छैन । तर, २०७४/७५ को ब्यालेन्ससिट स्वीकृत पश्चात यो बैंकले हरेक वर्ष लाभांश घोषणा गर्नसक्ने कुरा समेत प्रेस विज्ञप्तिमा उल्लेख गरिएको थियो । एकुमुलेटेड नोक्सान जिरो भइसकेको र बैंकको नाफाको आधार बढ्दै गएकोले अब लाभांश दिन संभव भएको बैंकका सीइओ शाहले त्यसबेला जिकिर गरेका थिए ।
तर, यी सारा जिकिर, दाबी र संभावनालाई पन्छाउँदै नेपाल बैंक लाभांश नदिने निश्कर्षमा पुगेको हो ।
यसबाट २ दशकदेखि लाभांशको आशामा यो बैंकको सेयर होल्ड गरी बसेका लगानीकर्ताहरुलाई सबैभन्दा बढी आहात भएको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19