काठमाण्डौ । नेप्से परिसूचकमा गत एक सातामै ६४ अंकको उछाल आएको छ।

गत साता कारोबारको अन्तिम दिन बिहीबार नेप्से परिसूचक १३३१.११ विन्दुमा पुगेर धितोपत्र बजार बन्द भएको थियो। यो साताको सुरुआतको पहिलो दिन आइतबार १३४०.२९ अंक पुग्यो। सोमबार १३४२.४१ पुगेको नेप्से परिसूचक मंगलबार १३४७.४५ अंक कायम हुन पुगेको थियो। 

नेप्से परिसूचकले उकालो गति समाउँदै बुधबार नेप्से परिसूचक १३६२.३५ अंक कायम भएको थियो भने बिहीबार १३९४.७७ अंकको उचाइमा पुगेको छ। यो साताभरिमा ५ दिन खुलेको धितोपत्र बजारमा ६४ अंकले लगातार नेप्सेले उकालो गति तय गर्यो। 

कारोबार रकम दैनिक औसत १ अर्ब रुपैयाँ हाराहारीमा भएको धितोपत्र बजारमा मौद्रिक नीतिले सेयर बजारलाई समेत सम्बोधन हुने आशामा लगानीकर्ताहरुले सेयर खरिदारी बढाइरहेका थिए। ब्याजदर र सेयर धितोकर्जाको सीमामा नेपाल राष्ट्र बैंकले केही खुकुलो नीति लिइने बताइएपछि सेयर बजारले निरन्तर उकालो गति समाएको जानकार बताउँछन्।

कोरोना भाइरसका कारण नेप्से परिसूचकमा समेत नराम्ररी असर गर्यो। पछिल्लो त्रैमासमा नेप्से परिसूचक १६६० विन्दु चुमिसकेपछि कोरोना भाइरसकै सन्त्रासले परिसूचक निरनतर ११८८ को विन्दुसम्म ओर्लिएको थियो। कोरोनाभाइरसकै कारण विश्वका अधिकांश स्टक एक्सेचन्जका परिसूचकमा भारी गिरावट आए पनि केही समयपछि नै बजार रिकभरी भएको छ। 

यही मनोविज्ञानले समेत नेपाली सेयर लगानीकर्ताको आत्मबल थप बलियो भई बजार सुधार भएको मानिन्छ। यही ट्रेन्डले समेत नेपालको नेप्से परिसूचक पुनः रिकभर भई उकालो गति समाउने र बुलिस ट्रेन्डको सुरुआत भइसकेको जानकारहरु दाबी गर्छन्। 

विगत एक महिनादेखि नेप्से परिसूचकमा निरन्तर उकालो लाग्ने क्रममा गत असार १७ गते १३३६ पुगिसकेको नेप्से परिसूचक भोलिपल्ट असार १८ गते १२५६ विन्दुसम्म ओर्लिएको थियो। यद्यपि यसपछि भने बजारले निरन्तर उकालो गति नै समाइरहेको छ।