काठमाण्डौ । विश्वका सबैभन्दा धनीव्यक्ति एवं ई–कमर्स कम्पनी अमेजनका संस्थापक जेफ बेजोसको आलीसान सुपरयाच (डुंगा) लैजान नेदरल्यान्डमा एउटा ऐतिहासिक पुल भत्काइने भएको छ। बेजोसले उक्त ऐतिहासिक पुल भत्काउनका लागि सम्पूर्ण खर्च व्यहोर्ने भएका छन्।

यो सुपरयाचको लागत ४८५ मिलियन डलर रहेको छ। यो सुपरयाच थ्री–मास्टेड रहेको छ। यो सुपरयाच ४१७ फिट लामो छ। यसको उचाइ ४० मिटर छ। 

ब्लुमबर्गको रिपोर्टका अनुसार नेदरल्यान्डको तटीय सहर रोटरडमको स्थानीय सरकारले बेजोसको सुपरयाचलाई बाटो दिन १४४ वर्ष पुरानो पुलको केही भाग भत्काउन लागेको हो। यो सुपरबोट सञ्चालनका लागि पुलको बीचको भाग भत्काइनेछ। 

यो पुल सन् १८७८ मा निर्माण गरिएको थियो। तर, दोस्रो विश्वयुद्धको समयमा नाजीहरुले बम विस्फोट गराउँदा क्षतिग्रस्त भएको थियो। त्यसपछि पुल पुनर्निर्माण गरिएको थियो। 

यो ऐतिहासिक पुलको सम्बन्ध हिटलरसँग पनि रहेको छ। दोस्रो विश्वयुद्धमा हिटलरको सेनाले यो पुलमा बम विष्फोट गराएका थिए। 
यो सुपरयाचको कोड नाम वाई७२१ रहेको छ। सुपरबोट लैजानका लागि यो नै एउटा बाटो हो। तर, पुल नहटाएसम्म सुपरबोट लैजान सम्भव छैन। 

त्यसो सन् २०१७ मा यो ऐतिहासिक पुलको मर्मतसम्भार गरेपछि स्थानीय परिषदले फेरि कुनै छेडछाड नगर्ने वाचा गरेको थियो। तर, स्थानीय सरकारले सुपरबोट लगेपछि पुलको फेरि पुनर्निर्माण गरिने जनाएको छ। 

बेजोस आफ्नो महँगो जीवनशैलीका लागि परिचित छन्। गत वर्ष उनले आफ्नो अन्तरिक्ष कम्पनी ब्लू ओरिजिनबाट पहिलो यात्रु उडानमा अन्तरिक्ष यात्रा गरेका थिए। –एजेन्सी