काठमाण्डौ । युरोपेली बैंक क्रेडिट सुइस बैंकलाई संकटबाट बचाउन यूएसबी अगाडि आएको छ। 

स्विस अधिकारीहरुका अनुसार यूबीएसले विश्वव्यापी बैंकिङ क्षेत्रमा बजार कठिनाइहरु रोक्न प्रयासमा क्रेडिट सुइस प्राप्त गर्न सम्झौता गरेको छ। बैंक क्रेडिट सुइसप्रतिको विश्वासको संकटबाट गुज्रिरहेको र यसलाई सम्पूर्ण बैंकिङ प्रणालीमा फैलिनबाट रोक्नको लागि युएसबीले यस्तो निर्णय गरेको हो। किनकि यो बैंक डुब्दा वित्तीय बजारलाई ठूलो धक्का दिन सक्छ। 

क्रेडिट सुइस बैंक स्विट्जरल्यान्डको दोस्रो ठूलो बैंक हो। यो लगभग १६७ वर्ष पुरानो बैंक हो।

स्विस केन्द्रीय बैंकले मर्ज भएको बैंकलाई यूबीएस र क्रेडिट सुइसका लागि छुट्याइएको १०० अर्ब स्विस फ्र्यांक (१०८ बिलियन डलर) तरलतामा सहयोग गर्ने जनाएको छ। तर, सम्झौताको रकम भने खुलाइएको छैन। स्विस फाइनान्सियल मार्केट सुपरभाइजरी अथोरिटीले दुवै बैंकका सबै व्यापारिक गतिविधि बिना अवरोध जारी राख्ने आश्वासन दिएको छ।

स्विस केन्द्रीय बैंकले भनेको छ, ‘यूबीएसद्वारा क्रेडिट सुइसको अधिग्रहणसँग वित्तीय स्थिरता सुरक्षित गर्न र स्विस अर्थव्यवस्था बचाउन यो असाधारण अवस्थामा एक समाधान फेला परेको छ।’ 

क्रेडिट सुइसमाथि अहिले गहन छानबिनमा भइरहेको छ। २००८ वित्तीय संकटपछि क्रेडिट सुइस इमरजेन्सी लाइफलाइन प्रदान गरिएको पहिलो प्रमुख वैश्विक बैंक हो।

क्रेडिट सुइसको सेयरभाउ गत साता एक चौथाइले घटेको थियो। बैंकले आफ्नो ब्यालेन्स सिट स्थिर बनाउन केन्द्रीय बैंकसँग ५४ अर्ब डलर सहयोग माग्नुपरेको थियो। प्रतिवेदनका अनुसार स्विस अधिकारीहरुले बैंकको उद्धार योजनाको एक भागका रूपमा क्रेडिट सुइसका बन्डधारकहरुलाई घाटा थोपरेको पनि छानबिन गरिरहेका छन्। यद्यपि, युरोपेली नियामकहरु यस्तो कदमबाट सावधान छन्। यसले युरोपको वित्तीय क्षेत्रमा लगानीकर्ताहरुको विश्वासलाई कमजोर पार्न सक्छ। बैंकलाई संकटबाट निकाल्ने प्रक्रिया जोखिमपूर्ण रहेको विज्ञहरु बताउँछन्।

वास्तवमा सबैभन्दा ठूलो लगानीकर्ता साउदी नेशनल बैंकका अध्यक्षले क्रेडिट सुइसमा अब लगानी नगर्ने बताएपछि क्रेडिट सुइसमा संकट बढ्यो। यो घोषणापछि युरोपेली बजारमा बैंकिङ स्टकहरुमा ठूलो बिक्री चाप सुरु भयो। स्विस बैंकबाट सहयोग आउनुअघि सुइस बैंकका प्रमुख कार्यकारी अधिकृतले बैंकको आर्थिक अवस्था राम्रो रहेको दाबी गरेका थिए। –एजेन्सी