काठमाण्डौ । कार्यकाल बाँकी रहँदै एकवर्षअघि माछापुच्छ्रे बैंक छाडेर बसेका निरज श्रेष्ठ सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त भएका छन् । 

बैंकको बुधबार बसेको संचालक समितिको बैठकले श्रेष्ठलाई चार वर्षे कार्यकालका लागि प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो । 

तत्कालीन सीइओ रत्नराज बज्राचार्य कार्यकाल सकिएर विदा भएपछि सनराइज बैंक सीइओविहीन थियो ।

श्रेष्ठले सन् १९८९ बाट तत्कालीन ग्रीनलेज(हालको स्ट्याण्डर्ड चार्टर्ड) बैंकबाट बैंकिङ करिअर सुरु गरेका थिए । सो बैंकमा १३ वर्ष बिताएका श्रेष्ठ तत्कालीन अवस्थाको एस फाइनान्स(पछि एस डेभलपमेन्ट बैंक)को प्रमुख कार्यकारी भएर गएका थिए । त्यसपछि उनले एनआइसी र मर्जपछि बनेको एनआइसी एशियामा समेत गरी ९ वर्ष बिताएका उनी एनआइसी एशिया बैंकको महाप्रबन्धकसम्म पुगी जागिर छाडेर ग्लोबल आइएमई बैंक गएका थिए । त्यहाँ उनले डेपुटी सीइओको जिम्मेवारी सम्हालेका थिए ।