काठमाण्डौ । हामीमा माझ एउटा उखान प्रचलित छ । खाने मुखलाई जुँगाले छेक्दैन ।

हो, काम गर्ने मान्छेलाई केहिले पनि रोक्न सक्दैन । यदि मेहनत र त्याग गर्ने तत्परता छ भने उसले जस्तोसुकै काम गरेर पनि सफलता पाउन सक्दछ । उनै मध्यकै एक हुन्, भारतीय मूलकी महिला पुनम गुप्ता ।

उनी  प्रत्येक दिन घरको बाटो हुँदै फोहोरको थुप्रो पार गरेर सहरतर्फ जान्थिन । लगातार त्यो फोहोरको थुप्रो देखेपछि उनलाई एकदिन एउटा आईडिया फुर्‍यो ।

त्यसपछि भयो अचम्म ! त्यो फोहोरको थुप्रो देखेर फुरेको आईडियाले गर्दा आज उनले ८०० करोड भारतीय रुपया(भारु) को कम्पनी बनाएकी छिन् ।

उनी भन्छिन्, ‘कडा परिश्रम र लगनले जुनसुकै स्थान हासिल गर्न सकिन्छ, मेरो जिवनमा पनि यहि लागू भएको छ ।’ व्यवसाय क्षेत्रमा यस्ता धेरै उदाहरण छन् जहाँ मानिसले सानातिना व्यवसाय र नवप्रबर्तनबाट ठूलो सफलता हासिल गरेका छन् ।

हुन त उनको यो आईडिया रद्दीटोकरीसँग सम्बन्धित थियो। रद्दी कागजहरु पुन : प्रयोग गर्न सके राम्रो आम्दानी गर्न सकिने सोच उनमा थियो ।  एमबीए उत्तिर्ण गरिसकेपछि सन् २००२ मा स्कटल्याण्ड निवासी पुनित गुप्तासँग जब बिबाह भयो त उनी पनि स्कटल्याण्ड गइन् । र त्यहिअवधिमा फोहोरमा फालेको कागजले पुन प्रयोग गर्न सकिन्छ भन्ने सोचको परिणामले गर्दा उनले १ लाख भारुबाट ८०० करोडसम्मको यात्रा गरिन् ।

सन् २००३ अर्थात् २० वर्षअघि पूनम गुप्ताले स्कटल्याण्ड सरकारले दिएको यो करिब १ लाख भारुको सहयोगमा पीजी पेपर नामक स्टार्टअप शुरु गरिन् । यसका लागि मेसिनहरु खरिद गरिन् ।

उनले सोही कम्पनीबाट सडकपेटि र फोहोरको थुप्रोमा फ्याँकेका कागज खरिद गरेर पुनः प्रयोग(रिसाइकल) गर्न थालिन् । शुरुवाती समयमा रद्दी कागज खरिद गरेर गोदाममा भण्डारण गर्ने उनको ब्यापार स्थानीय रुपमा सीमित थियो ।

तर जब रिसाइकल गरिएको सामानहरुको माग बढ्न थाल्यो तव ब्यापार पुरै स्कटल्याण्डभर फैलियो ।अहिले उनको कारोबार विश्वभर फैलिएको छ । एकपछि अर्को सफलताको कारण यसपछि यी महिला उद्योगपतिले पछाडि फर्केर हेर्नुपरेन ।

उनले आफ्नो रद्दी कागजको व्यवसायलाई यूरोप र अमेरिकासम्म विस्तार गरिन् ।पीजी पेपरको यी देशका ठूला कम्पनीहरूसँग सम्झौता छ । र यहाँबाट कागजको स्क्र्याप खरिद गरिन्छ। एक रिपोर्टका अनुसार हाल पीजी पेपरको व्यापार विश्वका ६० भन्दा बढी देशमा फैलिएको  छ। -एजेन्सी