काठमाण्डौ । समस्याग्रस्त अवस्थामा रहेको नेपालकै पहिलो बैंक, नेपाल बैंक लिमीटेडमा नयाँ सीइओको रुपमा देवेन्द्रप्रताप शाहको प्रवेश भएसँगै बैंकले प्रगति पथमा आफ्नो पाइला अगाडि बढाइरहेको छ । यही क्रममा बैंकलाई मजबुत बनाउन र अन्य वाणिज्य बैंकको प्रतिस्पर्धामा खरो उतार्ने उद्देश्यले नेपाल बैंक लिमीटेडले गरेको ९९.२ प्रतिशत सरकारी शेयर स्वामित्व रहेको एनआइडीसी डेभलपमेन्ट बैंकलाई आफूमा गाभ्ने प्रस्ताव संकटमा परेको छ । 

नेपाल बैंक लिमीटेडको केही साताअघि बसेको संचालक समितिको बैठकले एनआइडीसीलाई अक्वायर गर्ने प्रस्तावलाई अगाडि बढाउने निर्णय भएको थियो । एनआइडीसी मर्जरमा आउन चाहे त्यसका लागि समेत बाटो खुल्ला राखिएको थियो । तर नेपाल बैंक लिमीटेडले तागेता गरे पनि एनआइडीसीले उसको प्रस्तावप्रति हरियो झण्डा नदेखाउँदा र अर्थमन्त्रालयले समेत यो प्रस्ताव मौनता साँध्दा नेपाल बैंकको प्रस्ताव संकटमा परेको हो ।  

बैंक स्रोतका अनुसार संचालक समितिबाट पारित सो प्रस्तावमा नेपाल राष्ट्रबैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले समेत हरियो झण्डा देखाएका थिए । ‘तर गभर्नर साबको सकारात्मक प्रतिक्रिया समेत अर्थमन्त्रालयको असहयोग र एनआइडीसीको मौनताका कारण तुहिने अवस्थामा भयो ।’ नेपाल बैंकका एक संचालकले बिजशालासँग भने–‘हाम्रो बोर्डको निर्णयलाई अर्थमन्त्रालयमा पठाएका थियौं, यो कुरा बजेटमार्फत आउला कि भन्ने पनि आशा थियो, तर अर्थमन्त्रालयले रातो झण्डा देखाइदिएको छ ।’ 

एनआइडीसीलाई गाभ्ने वा मर्ज गर्ने प्रस्ताव संकटमा परेपछि हालै नेपाल बैंक लिमीटेडले नेपाल राष्टबैंकले तोकेको पूँजी पुर्याउन हकप्रदको साहारा लिने घोषणा गरिसकेको छ । ‘तर पनि आगामी दिनमा अन्य कुनै संस्थासँग मर्ज हुने संभावना सकिहालेको भने छैन ।’–ती अधिकारीले भने ।

देवेन्द्रप्रताप शाह आउनुअघि नेपाल बैंकको क्यापिटल रेसियो(पूँजी अनुपात) समेत निकै कम थियो । तर उनी आएपछि हाल बैंकको पूँजी अनुपात ९ माथि उक्लिएको छ । वाणिज्य बैंकहरुको न्यूनतम पूँजी अनुपात १० हुन आवश्यक छ । 

बैंक स्रोतका अनुसार आन्तरिक रुपमा कमजोर नेपाल बैंकमा रहेको माइनस रिजर्बलाई प्लस बनाउनका लागि जग्गाजमीन र क्रस होल्डिङमा रहेका विभिन्न कम्पनीको शेयर बिक्रीको क्रम सुरु गरिएको छ । यही क्रममा शुक्रबार मात्रै नेपाल बैंकले तारागाउँ रिजेन्सी होटल लिमीटेडको ७ लाख कित्ता सेयर बोलकबोल प्रक्रियाबाट लिलामी हुने भन्दै सूचना निकालेको छ । यसअघि अन्य कम्पनीमा रहेका सेयर समेत नेपाल बैंकले बिक्री गरेको थियो ।  हाल यो बैंक १ अर्ब ५४ करोड नोक्सानमा छ । शाह आउनुअघि त बैंकको नोक्सानी ३ अर्ब माथि थियो । उनले निकै कडा मेहेनतका साथ ३ अर्बको नोक्सानीलाई १ अर्ब ५४ करोडमा झारेका हुन् । ‘माइनस रिजर्बलाई जिरो लेभलमा नल्याएसम्म पूँजी पुग्दैन ।’ बैंकका एक अधिकारीले भने–‘त्यही भएर माइनस रिजर्बलाई प्लस बनाउन बैंक नेतृत्व दौडिरहेको छ ।’ 

बैंकले माइनस रिजर्बमा सुधार गर्नैका लागि क्रस होल्डिंगमा रहेका सेयरको लिलामीसँगै देशका विभिन्न क्षेत्रमा रहेको जग्गा बिक्रीलाई समेत प्राथमिकतामा राखेको छ । 

नेपाल बैंक लिमीटेडको चुक्तापँुजी ६ अर्ब ४६ करोड रुपैयाँ रहेको छ । बैंकले देशभरका १ सय २६ वटा शाखाबाट सेवा दिइरहेको छ । बैंकमा हाल २ हजार ६ सय कर्मचारी कार्यरत छन् । 

एनआइडीसी डेभलपमेन्ट बैंकको चुक्तापूँजी ४२ करोड रुपैयाँ रहेको छ । तर करिब ३ अर्ब रुपियाँको रिजर्ब छ । देशभर ५ वटा शाखा अन्तर्गत बैकिङ सेवा दिइरहेको यो बैंकमा सरकारको ९९.२ प्रतिशत र सर्वसाधारणको ०.७४ प्रतिशत शेयर स्वामित्व छ । २०१६ साल असारमा नेपाल इण्डष्ट्रियल डेभलपमेन्ट कर्पोरेसन(पछि औद्योगिक विकास निगममा रुपान्तरित)को रुपमा स्थापित यो संस्थाले ०६३ सालदेखि बैकिङ ऐन अन्तरगत राष्ट्रिय स्तरको विकास बैंकको रुपमा काम गर्न थालेको हो । सानो, तर मजबुत बैंकमा ४० स्थायी र ३५ अस्थायी कर्मचारी छन् । गत वर्ष सरकारले यो बैंकलाई पूर्वाधार विकास बैंकको रुपमा विकास गर्ने नीति सार्वजनिक गरेको थियो । तर त्यो काम हुन सकेन । 

२०७० सालमा एनआइडीसीले आन्तरिक रुपमा डिडिए गर्दा यसको प्रतिशेयर मूल्य ३८ सयको हाराहारीमा थियो । अहिले संस्था थप बलियो भएकाले शेयर मूल्य अझै बढेको हुनसक्ने सो संस्थाका एक अधिकारीले बताए । संस्थाको अवस्था दह्रो भएकै कारण आफूहरु नेपाल बैंकमा गाभिन वा मर्जमा जान नचाहेको ती अधिकारीले बताए ।