काठमाण्डौ । अमेरिकी राष्ट्रपति निर्वाचनको मतपरिणाम आइसकेको छ । अमेरिकी जनताले जो बाइडेनलाई आफ्नो नयाँ राष्ट्रपति चुनिसकेका छन् । 

योसँगै डोनल्ड ट्रम्पले राष्ट्रपति कार्यकाल दोहोर्याउने सपनालाई पूरा गर्न सकेनन् । यो उनको चुनावी हार मात्र होइन, भविष्यमा उनलाई निकै कठीन परिस्थितिहरुको सामना गर्नुपर्ने जटिल अवस्थाको प्रस्थानबिन्दू पनि हुनसक्छ । 

विज्ञहरुकाअनुसार उनको कार्यकालमा भएका कथित घोटालाहरुको जाँचसँगै उनलाई राष्ट्रपति पदबाट हटेपछि आपराधिक कारबाहीबाहेक मुश्किल वित्तीय स्थितिको पनि सामना गर्नुपर्ने हुनसक्छ । 

राष्ट्रपति पदमा रहुञ्जेल भने उनीविरुद्ध यस्ता आपराधिक कार्यको आरोपमा कुनै पनि मुद्धा वा उजुरी हाल्न सकिन्न । 

पेस युनिभरसिटीस्थित संवैधानिक कानूनका प्रोफेसर बेनेट गर्सम्यानले बीबीसीसँग भनेका छन्–‘डोनल्ड ट्रम्पविरुद्ध आपराधिक कार्य गरेको आरोपमा मुद्धा चल्ने प्रवल संभावना देखिन्छ ।’ 

प्रोफेसर बेनेटले न्यूयोर्कमा एक दशकसम्म अभिवक्ताको रुपमा सेवा गरेका थिए । 

उनले अगाडि भनेका छन्–‘राष्ट्रपति ट्रम्पमाथि बैंक धोखाधडी, कर घोटाला, मनि लाउण्डरिङ, चुनावी धोखाधडी जस्ता गम्भीर अपराधको मुद्धा चल्नसक्छ । किनभने उनले गरेका गलत कामसँग जोडिएका जति पनि कुरा मिडियामा आएका छन्, सबै वित्तसँग सम्बन्धित छन् ।’ 

तथापि, यो विषय यतिमै सीमित नहुनसक्छ । अमेरिकी मिडियामा प्रकाशित रिपोर्टहरुका अनुसार डोनल्ड ट्रम्पले निकै ठूलो वित्तीय घाटाको समेत सामना गर्नुपर्ने हुनसक्छ । यसमा निकै ठूलो परिमाणमा लिएको निजी ऋण र उनको कारोबारमा आउने मुश्किल अवस्था पनि सामेल हुनसक्छ । 

न्यूयोर्क टाइम्सकाअनुसार आगामी ४ वर्षभित्र ट्रम्पले ३० करोड डलरभन्दा बढी ऋण तिर्नुपर्नेछ । त्यो पनि यस्तो अवस्थामा कि उनको निजी लगानी डामाडोल बनेको छ । 

राष्ट्रपति पद खुस्किएपछि आफूले लिएको कर्जा चुकाउने मामलामा ट्रम्पले केही नरमपन देखाए भने चाहिँ उनको अप्ठ्यारो केही कम हुनसक्ने आँकलन समेत गरिएको छ । 

डोनल्ड ट्रम्पका आलोचकहरुका अनुसार ट्रम्प राष्ट्रपति पदमा आसीन हुनु उनको कानूनी र वित्तीय समस्यामा उनको कवच बनेको छ । यदि यो सबै नरहेपछि उनको संकटका दिन धेरै टाढा नभएको विश्लेषण हुन थालेको छ। 

तर, राष्ट्रपति ट्रम्पले आफूमाथि लागेका आरोपहरुको निरन्तर खण्डन गर्दै आएका छन् । उनले आफूविरुद्ध आफ्ना शत्रुहरुले योजनाबद्ध प्रहार गरिरहेका दाबी गर्दै आएका छन् । राष्ट्रपति पदमा रहनुभन्दा अघि र  रहेपछि पनि उनले आपराधिक काम गरेका उनीमाथि आरोप लगाइएको छ, तर उनले यस्ता आरोपहरुलाई ‘आधारहीन’ भन्ने गरेका छन् । 

आफूमाथि लागेका घोटाला तथा शक्ति दुरुपयोगका आरोपहरुको विषयमा न्याय विभागले जाँच गरिसकेको र यो वर्षको सुरुवातमा आफूविरुद्ध लागेको महाअभियोग असफल हुनुले पनि आफूविरुद्ध मिथ्या आरोप लगाइएको पुष्टि हुने उनले दाबी गर्दै आएका छन् । 

तर, यी सबै जाँच र प्रक्रिया ट्रम्प राष्ट्रपति पदमा आसिन भएकै बेला मात्र भएको थियो । न्याय विभागले बारम्बार भन्दै आएको छ कि राष्ट्रपतिविरुद्ध पदमा रहेकै अवस्थामा आपराधिक मुद्धा चलाउन सकिन्न । 

बेनेटले भनेका छन्–‘मैले पहिलादेखि नै भन्दै आएको छु कि उनीविरुद्ध मतदातामाथि धोखाधडीको आरोप लगाउन सकिन्छ, किनभने म्यानहटनका लागि अमेरिकी अटर्नी ट्रम्पलाई माइकल कोहेनसँगको षड्यन्त्रमा सहयोगी करार दिएका छन् ।’

विशेषज्ञले ट्रम्पका पूर्व वकिल माइकल कोहेनविरुद्ध भएको जाँचलाई समेत सम्झन सल्लाह दिएका छन् । 

सन् २०१८ मा माइकललाई चुनावी गडबडीका लागि दोषी ठहर गरिएको थियो । उनीमाथि डोनल्ड ट्रम्पसँग अफेयर भएको दाबी गर्ने पोर्नस्टार स्टार्मा डेनियल्सलाई २०१६ को चुनावमा पैसा दिएको आरोप लागेको थियो । 

माइकल कोहेनमाथि जाँचको दौरान आधिकारिक रुपमै भनिएको थियो कि राष्ट्रपति पदका एक उम्मेद्वार आपराधिक गतिविधिसँग कथित रुपमा जोडिएका छन् । 

अमेरिकी मिडियाले ती उम्मेद्वारलाई डोनल्ड ट्रम्पको नामसँग जोडेका थिए । यो खबर अमेरिकी मिडियामा निकै ठूलो कभरेज भएको थियो।
 

बेनेट गर्सम्यानको भनाईमा ट्रम्पमाथि कथित मूलर रिपोर्टको नतिजालाई हेरी न्यायमा बाधा गरेको आरोप पनि लाग्नसक्छ । 

सन् २०१९ मा स्पेशल काउन्सिल रोबर्ट मूलरले २०१६ को राष्ट्रपति निर्वाचनमा रुसले गरेको गडबडीलाई लिएर जाँच रिपोर्ट जिम्मा लगाएका थिए । 

सो रिपोर्टमा ट्रम्पलाई क्लिन चिट दिइएको थियो र बताइएको थियो कि ट्रम्पको प्रचार टिम र रुसबीच कुनै पनि साँठगाँठ पुष्टि हुने प्रमाण भेटिएन । 

तथापि, सो रिपोर्टमा ट्रम्पले छानबिन प्रक्रियालाई नै बाधा पुर्याउने काम गरेका उल्लेख गरिएको थियो । यहीकारण ट्रम्पले मूलरलाई उनको पदबाट हटाउने बारम्बार कोशिश पनि गरेका थिए । 

मूलरले सो समय भनेका थिए कि अमेरिकी संसदले यो निर्णय गर्न आवश्यक छ कि न्यायिक जाँचबुझमा बाधा गरेका कारण ट्रम्पविरुद्ध महाअभियोग चलाउन सकिन्छ । 

तर, त्यसबेला संसदले ट्रम्पविरुद्ध महाअभियोगको अभियोग दर्ता गरेन । तर त्यसको केही महिनापछि फरक प्रसंगमा ट्रम्पविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता भएको थियो । 

ट्रम्पमाथि आफ्ना राजनीतिक प्रतिद्वन्द्वी जो बाइडेनमाथि छानबिन गर्नका लागि भन्दै युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्सीलाई दवाब दिएको आरोप समेत लागेको थियो । तर, यो आरोपको ट्रम्पले लगातार खण्डन गर्दै आएका छन् । 

डिसेम्बर, २०१९ मा डेमोक्रेट्सको बहुमत रहेको हाउस अफ रिप्रेजेन्टेटिभमा उनीविरुद्ध अभियोग चलाइयो, तर २०२० फेब्रुअरीमा रिपब्लिकन्सको बहुमत रहेको सिनेटले उनलाई अपराधमुक्त गरेको थियो ।

डोनल्ड ट्रम्प तेश्रो यस्तो अमेरिकी राष्ट्रपति हुन्, जसले महाअभियोगको सामना गर्नु पर्यो । 

संघीय आरोप
राष्ट्रपतिको रुपमा डोनल्ड ट्रम्प संघीय कानून उल्लंघनको मामलामा आफैंलाई माफ गर्न सक्लान् । तर, अमेरिकाको इतिहासमै यस्तो अवस्था कहिल्यै आएको थिएन । 

तथापि, कुनै पनि व्यक्ति राष्ट्रपतिको पदबाट हटेपछि आपराधिक मामलामा मुद्धा चल्ने अवस्था आए पनि नवनिर्वाचित राष्ट्रपतिले माफी दिएको इतिहास पनि छ । सन् १९७४ मा यस्तै घटना भएको थियो, जतिबेला पूर्व अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनले वाटरगेट काण्डपछि राजीनामा दिएका थिए । 

त्यसबेला उनको सरकारमा उपराष्ट्रपति रहेका जेरल्ड फोर्ड राष्ट्रपति बने र उनलाई पूर्ण रुपमा माफी गरिदिए । 

कन्जरभेटिभ पोलिटिकल रिसर्च सेन्टर अमेरिका इन्टरप्राइज इन्स्टिच्यूटका विशेषज्ञ नर्मन आर्नस्टिन भन्छन्–‘डोनल्ड ट्रम्पमाथि संघीय आरोप लाग्ने संभावना ज्यादै न्यून छ किनभने उनले आफूले आफैंलाई माफी दिनसक्ने संभावना समेत रहेको छ।’ 

तर, चुनाव हारेको अवस्थामा उनले आफैंले आफैंलाई माफी दिने अवस्था नहुनसक्छ । 

यस्तो अवस्थामा जानकारहरुको भनाईमा एक अति काल्पनिक अवस्थामा यो संभव छ कि डोनल्ड ट्रम्प, २० जनवरी २०२१ मा आफ्नो कार्यकाल पूरा गर्नुभन्दा अगाडि नै राजीनामा दिनेछन् र उपराष्ट्रपति माइक पेन्सलाई केही दिनका लागि भए पनि राष्ट्रपति बनाउने । यसपछि माइक पेन्सले ट्रम्पलाई संघीय अपराधका लागि माफी दिनेछन् । 

अमेरिकी मिडियाहरुको दाबीअनुसार डोनल्ड ट्रम्पमाथि संघीय अपराधबाहेक स्थानीय स्तरमा आपराधिक आरोपको समेत सामना गर्नुपर्ने हुनसक्छ । 

उनीमाथि राष्ट्रपति बन्नुभन्दा पहिला नै रियलस्टेटको कारोबारमा गडबडी गरेको आरोप समेत लाग्दै आएको छ । स्थानीय यस्ता अपराधका मुद्धाहरुमा संघीय अपराधमा जस्तो माफी हुँदैन । 

एक राजनीतिक फैसला
विज्ञहरुले यो पनि भनेका छन् कि प्रशासनले प्रमाण भएकै कारण डोनल्ड ट्रम्पविरुद्ध कुनै कारबाही गरोस् । यो त एक राजनीतिक फैसला पनि हुनसक्छ । 

वाटरगेट काण्ड मामलामा पनि सरकारले यो फैसला गरेको थियो कि रिचर्ड निक्सनविरुद्ध मुद्धा चलाएपछि सो काण्ड त्यसै हराउनेछ, यसकारण उनलाई माफी दिइएको थियो । 

यो विषयमा अगस्ट ६ मा भएको एक साक्षात्कारमा जो बाइडेनले भनेका थिए कि यदि उनी राष्ट्रपति बने भने उनले ट्रम्पविरुद्ध आपराधिक प्रक्रियाहरुको न त विरोध गर्नेछन्, न त त्यसलाई बढाउने नै छन् । उनले यो विषयलाई पूर्ण रुपमा न्याय विभागलाई सुम्पिने बताएका थिए । 

बेनेट गर्सम्यानका अनुसार पछिल्लो मुद्धाका कारण सुनुवाई हुनलाई महिनादेखि वर्षौसम्म समय लाग्नसक्छ । 

जानकारहरुको भनाईमा यदि डोनल्ड ट्रम्प उनीविरुद्ध लागेका आरोपमा दोषी ठहरिए भने उनलाई वर्षौसम्मको जेल सजाय हुनसक्छ। 

नार्म अर्नस्टिको भनाईमा न्यूयोर्क अभिवक्ताहरु डोनल्ड ट्रम्पविरुद्ध आफ्नो अनुसन्धानलाई जारी राख्नेछन् । यो बेला ट्रम्पको अवस्था कमजोर छ, यो कुरा उनीहरुले राम्रोसँग बुझेका छन् । 

(बीबीसीबाट भावानुवाद)