काठमाण्डौ । खुल्ला प्रतिस्पर्धाको आधारमा राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत(सीइओ)मा हालै नियुक्त भएका किरणकुमार श्रेष्ठले आगामी आर्थिक वर्षदेखि बैंकको लगानी जलविद्युत र कृषिमा केन्द्रीत गर्ने भएका छन् । 

सरकार, अर्थमन्त्रालय तथा राष्ट्रबैंकको समेत निर्देशन अनुसार आगामी आर्थिक वर्षमा जलविद्युत र कृषि सम्बन्धी योजनाहरुमा लगानीलाई केन्द्रीत गर्ने गरी बजेट निर्माण भइरहेको सीइओ श्रेष्ठले जानकारी दिए । 

उनका अनुसार हाल राष्ट्रिय वाणिज्य बैंकको यी दुई क्षेत्रमा लगानीको पोर्टफोलियो १ प्रतिशतको हाराहारीमा मात्र सीमित छ । 

‘आगामी आर्थिक वर्षभित्रमा हामी जलविद्युत र कृषि सम्बन्धी योजनाहरुमा लगानीलाई बढाएर १२ प्रतिशतसम्म पुर्याउनेछौ ।’ आगामी योजनाबारे बिजशालासँग संक्षिप्त कुरा गर्दै श्रेष्ठले भने–‘लगानी विविधिकरणमा समेत विशेष ध्यान दिनेछौ ।’ 

श्रेष्ठले आगामी आर्थिक वर्षदेखि हाल ६५ जिल्लामा सञ्जाल रहेको बैंकलाई बाँकी १० जिल्लामा समेत बिस्तारको क्रम सुरु गर्ने योजना बनाएका छन् । ‘मेरो कार्यकाल अवधिभरि ७५ वटै जिल्लामा राष्ट्रिय वाणिज्य बैंकको शाखा सञ्जाल पुर्याउने योजना छ ।’–उनले भने । 

श्रेष्ठले बैंकको बजेट तथा योजना निर्माणको क्रममा केही नयाँ कार्यक्रमहरु समेत आउनसक्ने बताएका छन् । उनका अनुसार हाल ६० प्रतिशत मात्र रहेको सीडी रेसियोलाई बढाउने कामलाई समेत प्राथमिकतामा राखिइनेछ । ‘नेपाल राष्ट्रबैंकले वाणिज्य बैंकहरुको सीडी रेसियो ८० प्रतिशतसम्म हुनुपर्छ भनिरहेको छ ।’ उनले भने–‘हामी यो कुरालाई समेत म्यानेज गर्छौ ।’