काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको कुल ४० अर्बमाथि प्रिमियम संकलन गरेका छन्। 

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार १४ जीवन बीमा कम्पनीले गत आर्थिक वर्षको तुलनामा १४ प्रतिशतले प्रिमियम संकलन बढाएका छन्। गत आर्थिक वर्षको यसै अवधिसम्ममा जीवन बीमा कम्पनीले ३५ अर्बमाथि प्रिमियम संकलन गरेका थिए। यस अवधिसम्म दुई जीवन बीमा कम्पनी रिलायबल नेपाल लाइफ र सन नेपाल लाइफ इन्स्योरेन्सबाहेकका सबै कम्पनीको व्यवसायमा सुधार देखिएको छ। 

सबैभन्दा प्रिमियम बढाउने कम्पनीमा सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थान रहेको छ। संस्थानले गत वर्षको तुलनामा यस अवधिसम्म २६३.२१ प्रतिशतले जीवन बीमा व्यवसाय बढाएको छ। गत वर्षको असोज मसान्तसम्म १ अर्ब ११ करोड ६७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको संस्थाले यस अवधिसम्ममा ४ अर्ब ५ करोड रुपैयाँ प्रिमियम कलेक्सन गरेको छ। 

सरकारी स्वामित्वमा रहेकोले राष्ट्रिय बीमा संस्थानले राष्ट्र सेवकहरुको जीवन बीमा गर्दै आइरहेको छ। चालु आर्थिक वर्षमा राष्ट्र सेवकहरुबाट उठ्ने प्रिमियम फर्स्ट क्वाटरमै सेटल भएकोले कुल बीमाशुल्क आर्जन बढी देखिएको संस्थानका प्रमुख प्रशासक कवि पाठकले बताए। ‘गत वर्षमा राष्ट्र सेवकहरुबाट कात्तिक महिनामा मात्रै प्रिमियम संकलन हुने गर्दथ्यो, यस वर्ष असोज महिनामै प्रिमियम कलेक्सन भएको हुँदा गत वर्षको तुलनामा फरक प्रतिशत बढी देखिएको हो’, उनले भने, ‘सेकेन्ड क्वाटरसम्म बिजनेस वृद्धि भए पनि अपत्यारिलो खालको अन्तर देखिँदैन, हिसाब मिलान हुन्छ।’ 

राष्ट्रिय बीमा संस्थानले राष्ट्रिय किताब खाना निजामती, नेपाल प्रहरी, नेपाल सैनिक, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीहरुको सावधिक जीवन बीमा गर्दै आइरहेको छ।