काठमाण्डौ । राष्ट्रिय बीमा संस्थान पब्लिक कम्पनी लिमिटेडमा रुपान्तरण हुने प्रक्रिया अघि बढेको छ । 

अर्थ मन्त्रालयले नेपाल बीमा प्राधिकरणलाई पत्र पठाउँदै बीमा संस्थानलाई पब्लिक कम्पनी लिमिटेडमा परिणत गर्न स्वीकृति दिंदै सोका लागि प्रक्रिया शुरु गर्न भनेको छ ।

बीमा ऐन, २०७९ बमोजिम राष्ट्रिय बीमा संस्थान एक वर्षभित्र पब्लिक कम्पनीमा परिणत हुनुपर्ने व्यवस्था भएबमोजिम नै यो प्रक्रियाअघि बढेको प्राधिकरणका एक उच्च अधिकारीले बताए ।‘बीमा ऐनमा नै राष्ट्रिय बीमा संस्थान एक वर्षभित्र पब्लिक कम्पनीमा परिणत हुनुपर्ने व्यवस्था छ, सोही बमोजिम प्राधिकरणले कम्पनीको सहजताका लागि अर्थ मन्त्रालयमा पत्र पठाएको थियो’ ती अधिकारीले भने, ‘अर्थ मन्त्रालयबाट पत्र आइसकेको छ, अब बीमा संस्थानले कम्पनी रजिष्ट्रारको कार्यालयमा कम्पनी दर्ता प्रक्रिया अघि बढाउनुपर्छ ।’ 

साथै प्राधिकरणका अनुसार संस्थानले अब कम्पनीमा रुपान्तरणका लागि प्रबन्ध पत्र र नियमावली तयार पारेर सञ्चालक समितिको निर्णयसहित कम्पनी रजिष्ट्रारको कार्यालयमा निवेदन दिनुपर्नेछ ।

‘कम्पनी दर्ता प्रक्रिया पुरा भएको सबै कागजात संस्थानले प्राधिकरणमा पेश गरेपछि मात्रै जीवन बीमा व्यवसाय गर्ने कम्पनी लिमिटेडमा परिणत हुनेछ’, ती अधिकारीले भने, ‘कम्पनी दर्तापछि मात्रै कम्पनीको पूँजी संरचना तय हुने र प्राधिकरणले यसको लागि सहजीकरण समेत गर्नेछ ।’ 

यसअघि राष्ट्रिय बीमा संस्थानले सरकारको निर्णयको पखाईमा रहेको जवाफ प्राधिकरणलाई दिंदै आइरहेको थियो । प्राधिकरणले संस्थानलाई कात्तिक २२ गतेसम्म पब्लिक कम्पनीमा परिणत हुन ‘डेडलाइन’दिएको थियो । संस्थानको सहजताका लागि सरकारलाई घचघच्याउन प्राधिकरणले अर्थमन्त्रालयलाई पत्र लेखेको थियो । 

हाल संस्थानको चुक्तापूँजी २ अर्ब २ करोड ४८ लाख रुपैयाँ मात्रै रहेको छ । संस्थान कम्पनीको रुपमा परिणत भएपछि न्यूनतम चुक्तापूँजी ५ अर्ब रुपैयाँ पुरयाउनु पर्नेछ ।

नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीहरूलाई ५ अर्ब रूपैयाँ पूँजी कायम गर्न निर्देशन दिएको थियो । त्यस अनुसार संस्थानले अझै २ अर्ब ९७ करोड  रूपैयाँ पूँजी थप्नु पर्ने देखिन्छ ।

संस्थान कम्पनीको रुपमा परिणत भएपछि सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्ने बाटो खुल्नेछ ।

त्यस अनुसार संस्थानले सर्वसाधारणलाई सेयर निष्कासन गरेर न्यूनतम चुक्तापूँजी पुर्‍याउने योजना बनाएको छ ।