काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले राष्ट्रिय बीमा संस्थानलाई जीवन बीमा कम्पनी लिमिटेडमा परिणत हुने अनुमति प्रदान दिएको छ।

प्राधिकरणले राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडको नाममा जीवन बीमकको प्रमाणपत्र जारी गरेको हो। प्राधिकरणले राष्ट्रिय बीमा संस्थानलाई शर्तसहित कम्पनीमा रुपान्तरण हुन स्वीकृति दिएको छ ।विभिन्न शर्तसहित संस्थानलाई जीवन बीमक कम्पनीको प्रमाणपत्र जारी दिएको बताइएको छ ।
संस्थानको नाम राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड राखिएको छ । कम्पनीमा दर्ता भएर जीवन बीमकको रुपमा दर्ता गरी प्रमाणपत्र पाउँ भनी प्राधिकरणमा निवेदन दिएपछि जीवन बीमा कम्पनीको प्रमाणपत्र दिएको प्राधिकरण स्रोतको भनाइ छ।

अब पब्लिक कम्पनीमा रुपान्तरण भएसँगै उसले सर्वसाधारणलाई आईपीओ जारी गर्नुपर्ने छ। ऐनमा कुल जारी पूँजीको कम्तीमा ३० प्रतिशत सेयर सर्वसाधारणलाई छुट्याउने पर्ने व्यवस्था छ। हाल कम्पनीको चुक्तापूँजी १८ करोड १० लाख रुपैयाँ मात्रै छ। 

कम्पनीले आगामी एक वर्षभित्र ५ अर्ब रुपैयाँ चुक्तापूँजी पुर्‍याउनुपर्ने छ ।यसकालागि कम्पनीले सार्वजनिक निष्कासनमार्फत सर्वसाधारणलाई सेयर जारी गर्नुपर्दछ ।

संस्थानमा सरकारको २७.७८ प्रतिशत, राष्ट्र बैंकको ५५.५५ प्रतिशत र नेपाल बैंकको १६.६७ प्रतिशत सेयर स्वामित्व छ।

 बीमा प्राधिकरणले कात्तिक १८ गते संस्थानलाई कम्पनीकरणको पूर्वस्वीकृति दिएको थियो । त्यसकै आधारमा राष्ट्रिय बीमा संस्थान कम्पनी रजिस्ट्रारको कार्यालयबाट कम्पनीमा रुपान्तरण भएको छ ।

प्राधिकरणले नयाँ कम्पनीलाई कम्पनीमा रुपान्तरण हुन अगाडिको आर्थिक वर्षको वित्तीय विवरणको लेखापरीक्षण गराई त्यसको प्रतिवेदन ६ महिनाभित्र बीमा प्राधिकरणमा पेश गर्न निर्देशन दिएको छ ।

यसैगरी, अन्य शर्तहरुमा ६ महिनाभित्र राष्ट्रिय जीवन बीमा कम्पनीको नाममा जीवन बीमा व्यवसाय सुरु गर्नुपर्ने, सम्पत्ति शुद्धीकरण तथा आतंकारी क्रियाकलापमा वित्तीय लगानी निवारण नीति, प्रक्रिया तथा कार्यक्रम अद्यावधिक गरी एक महिनाभित्र पेश गर्ने र प्राधिकरणले जारी गरेका निर्देशिका तथा तोकेका अन्य शर्तहरु समेत पालना गर्नुपर्ने रहेको छ ।