काठमाण्डौ । नयाँ सिस्टमभन्दा म्यानुअल विधिमै काम गर्न रमाउने कर्मचारी । काममा उस्तै सुस्तता । कुनै सेवाग्राही सेवा लिन जाँदा घण्टौ लाइनमा बस्नुपर्ने बाध्यता र अनेकन झञ्झट । सेवा दिने कार्यालय पनि पुरातन शैलीको । न बस्ने राम्रो ठाउँ छ, न सेवाग्राहीको सहजताका लागि अन्य कुनै व्यवस्था नै । बाध्यताले कार्यालय प्रवेश गर्नेहरु पनि कतिबेला काम सकिन्छ र भागौं भन्ने प्रतिक्षामा । कार्यालयको रुप हेर्दा पनि लथालिङ्ग अवस्था देखिने । चारैतिर छरिएका कागजको भद्रगोल अवस्था, सरसफाईमा समेत उति ध्यान नदिंदा यस्ता कार्यालय पनि बैंक हो र ? भन्ने धेरैलाई लाग्थ्यो । 

केही वर्षअघिसम्म देशको एक मात्र सरकारको पूर्ण सरकारी स्वामित्वको बैंक, राष्ट्रिय वाणिज्य बैंकका शाखाहरुमा यस्तै पट्यारलाग्दा दृश्यहरु देखिन्थे । तर, अवस्था अहिले फरक भएको छ । ६ वर्षअघि राष्ट्रिय वाणिज्य बैंकका शाखामा सेवा लिन पुग्ने कोही पात्र अहिले यदि यो बैंकमा पुग्यो भने अवस्था पूरै फरक पाउँछ । धेरैले भन्ने गर्छन्–यो राष्ट्रिय वाणिज्य बैंककै शाखा हो र ? 

धेरैलाई आश्चर्यमा पर्न बाध्य बनाउने गरी राष्ट्रिय वाणिज्य बैंकको भित्री र बाहिरी लुक्स तथा स्वास्थ्यलाई आमूल परिवर्तन गर्ने पात्र हुन् किरणकुमार श्रेष्ठ । 

पुराना बैंकर किरणकुमार श्रेष्ठ जब राष्ट्रिय वाणिज्य बैंकको सीइओको रुपमा नियुक्त भए, त्यसपछि हेर्दै भद्रगोलजस्तो देखिने यो बैंकको रुप बिस्तारै फेरिन थाल्यो । बैंकको भौतिक संरचना(बाहिरी स्वास्थ्य)मा पूरै फेरबदल गरेका श्रेष्ठले वित्तीय स्वास्थ्यलाई समेत केन्द्रभागमा राखे । केही प्रमुख वित्तीय सूचकहरुमा समेत आमूल परिवर्तन गरी बैंकलाई नम्बर वान बनाए ४ वर्षभित्रै । बैंकलाई निजी क्षेत्रका बैंकभन्दा स्मार्ट, रहरलाग्दो र भरलाग्दो बनाउने उनका कतिपय योजना अझै पूरा भइसकेका छैनन् । बैंकलाई छोटो समयमै राम्रो बनाएकै कारण सरकारले उनलाई चैतदेखि लागू हुने गरी दोश्रो कार्यकालका लागि समेत सीइओकै जिम्मेवारी दिएको छ । 

‘दोश्रो कार्यकालका लागि पनि सरकारले विश्वास गरेर मलाई निरन्तरता दिएको छ, अब म मेरा अधूरा योजनाहरुलाई पूर्ण गरी राष्ट्रिय वाणिज्य बैंकलाई सबै हिसाबले नम्बर वान बनाउँछु।’ बिजशालासँग उनले भने–‘अबको मेरो ४ वर्षे कार्यकालमा बैंकलाई पूर्ण रुपमा स्मार्ट बनाउनेछु। यहाँको सेवालाई समेत अत्याधुनिक र स्मार्ट बनाउनु मेरा लागि ठूलो चुनौति बन्नेछ ।’

दोश्रो कार्यकालमा श्रेष्ठका प्राथमिकता के–के छन् त ? उनले हामीसँग बेलीबिस्तार लगाए ।  

पहिलो, बैंकको सिस्टममा आमूल परिवर्तन । 

सीइओ श्रेष्ठका अनुसार बैंकले निकट भविष्यमै अहिलेको सिस्टमलाई पूर्ण रुपमा विस्थापन गर्नेछ र नयाँ तथा अत्याधुनिक सिस्टममा सबै सेवालाई अपग्रेड गर्ने तयारी सुरु गरिसकेको छ । यसका लागि बजेट पनि ठूलै लाग्छ, तर बैंक संचालक समितिले यसमा सहयोग गर्ने प्रतिबद्धता आइसकेकोले सिस्टमलाई पूरै परिवर्तन गरी अत्याधुुनिक र स्मार्ट बैंक बनाउने कुरा श्रेष्ठको पहिलो प्राथमिकता रहनेछ । 

दोश्रो, स्मार्ट, युवा तथा आइटीमैत्री कर्मचारीहरुले भरिपूर्ण बैंक बनाउने । 
सीइओ श्रेष्ठका अनुसार आगामी असारसम्ममा बैंकका पुराना कर्मचारीहरुलाई नयाँ र स्मार्ट कर्मचारीले विस्थापन गरिसक्नेछन् । असारदेखि यो बैंकमा समेत सूचनाप्रविधिको ज्ञान भएका स्मार्ट युवा कर्मचारीहरुको एकछत्र राज हुनेछ । यसले बैंकको सेवा समेत छिटोछरितो र स्मार्ट बन्ने श्रेष्ठको अपेक्षा छ । ‘अहिलेसम्म हाम्रो एउटा ठूलो समस्याको रुपमा सूचनाप्रविधिमा अभ्यस्त नभएका पुराना कर्मचारी थिए।’ श्रेष्ठले भने–‘असारदेखि त्यो अवस्था रहन्न । अधिकांश नयाँ, युवा र स्मार्ट कर्मचारी आइपुग्नेछन्, यसले बैंकलाई स्मार्ट र प्रविधिमैत्री बनाउने निकै ठूलो सहयोग गर्नेछ ।’

तेश्रो, अझै स्मार्ट शाखाहरु । 
श्रेष्ठले आफ्नो दोश्रो कार्यकालमा सबै शाखाहरु स्मार्ट र अत्याधुनिक बनाउनेछन् । पहिलो कार्यकालमै उनले धूलोमैलोले ग्रस्त शाखाहरुको रुप परिवर्तन गरेका थिए । वर्षौदेखिका पुराना कागजपत्रको व्यवस्थापनदेखि लिएर सबै शाखा कार्यालयहरुलाई अत्याधुनिक र स्मार्ट बनाउने कामको सुरुवात गरेका थिए । त्यो कामलाई निश्कर्षमा पुर्याई सबै शाखाहरुलाई निजी क्षेत्रबाट संचालित बैंकभन्दा पनि स्मार्ट र व्यवस्थित बनाउने उनको योजना छ । 

चौथो, शाखा बिस्तार । 
श्रेष्ठले आफ्नो दोश्रो कार्यकालमा शाखा सञ्जाल बिस्तारलाई समेत प्राथमिकतामा राखेका छन् । हाल २४५ को संख्यामा रहेको शाखालाई कम्तीमा पनि ३०० पुर्याउने उनको योजना छ । शाखा बिस्तार गर्दा पनि बैकिङ पहुँच नपुगेका क्षेत्रहरु उनको प्राथमिकतामा पर्नेछन् । 

पाँचौ, पूर्ण डिजिटाइज्ड । 
एकातिर शाखाको भौतिक उपस्थिति समेत बढाउने योजनामा रहेका श्रेष्ठले बैंकको सबै सेवालाई पूर्ण रुपमा डिजिटाइज्ड बनाउने समेत सोचेका छन् । सरकारी बैंकको सेवा पनि घरैबाट लिन सकिन्छ भन्ने मान्यता स्थापित गर्नेतर्फ उनका आगामी प्रयासहरु केन्द्रीत हुनेछन् । कोभिड १९ को महामारी र यसको नियन्त्रणका लागि लकडाउन लगाउनुपर्ने र त्यसका कारण मानिस घरमै बस्नुपर्ने नयाँ परिस्थिति सिर्जना भएको उल्लेख गर्दै श्रेष्ठले बिजशालासँग भने–‘अब हामीले पनि नयाँ ढंगले सोच्नुपर्ने भएको छ । हाम्रा सेवालाई डिजिटाइज्ड गर्ने अवसरको रुपमा नयाँ परिस्थितिलाई स्वीकार गरी अगाडि बढ्ने र यहीबेला बैंकलाई पूर्ण स्मार्ट बनाउने मेरो योजना छ ।’

उनले दोश्रो कार्यकालमा राष्ट्रिय वाणिज्य बैंकलाई डिजिटल माध्यम र शाखारहित बैंकिङको मोडालिटीबाट गाउँ गाउँसम्म पुर्याउने योजना बनाएका छन् । 

छैठौं, खराब कर्जा घटाउने । 
पुरानो र सरकारी बैंक भएको हिसाबले यहाँको खराब कर्जाको अवस्थामा अझै सुधार हुनुपर्नेछ । कतिपय डूबिसकेका संस्थान तथा कम्पनीको नाममा रहेका कर्जाहरु समेत रहेकोले ती कर्जा उठ्ने संभावना छैन । तर, उठाउन सकिने र उठ्न सकिने कर्जाहरुमा रातदिन मेहेनत गरेरै भए पनि उठाउने र सरकारी बैंकको खराब कर्जालाई बाञ्छित सीमाभित्र सीमित गर्ने श्रेष्ठको योजना छ । ‘मैले खराब कर्जाको अनुपातलाई २ प्रतिशतमा सीमित पार्ने योजना बनाएको छु ।’ उनले भने–‘यो भनेको उद्योगकै औसत सीमा हो । यतिमा खराब कर्जालाई सीमित पार्न सकियो भने पनि हाम्रो बैंकलाई निकै ठूलो राहात हुन्छ ।’

सातौं, नाफा र रिटर्नमा अब पनि नम्बर वान । 
श्रेष्ठले राष्ट्रिय वाणिज्य बैंकको नेतृत्व लिएपछि नाफा र लगानीकर्तालाई रिटर्न दिने विषयमा यो बैंकले सबैलाई टपिरहेको छ । यो विरासत अब पनि जोगाइराख्ने श्रेष्ठको उद्घोष छ । ‘दोश्रो कार्यकालमा पनि हामी नाफा लगायतका महत्वपूर्ण सूचकहरुमा नम्बर वानकै रुपमा रहन्छौ ।’ उनले भने–‘कोभिडका कारण बैंकहरुको लाभांश क्षमता घट्छ, तर घटेकै अवस्थामा पनि हामी नम्बर वान कायम रहन्छौ, अरुलाई जित्न दिंदैनौ ।’
राष्ट्रिय वाणिज्य बैंक पूर्ण रुपमा सरकारी स्वामित्वको बैंक हो । यो बैंकले पछिल्लो समय सरकारलाई राम्रै रिटर्न समेत दिइरहेको छ । यसलाई निरन्तरता दिने श्रेष्ठको योजना हो । 

आठौं, बाफियाबाट उत्पन्न द्विविधाको अन्त । 
किरणकुमार श्रेष्ठ यदि बाफियामा भएको व्यवस्था स्वीकार गर्ने हो भने राष्ट्रिय वाणिज्य बैंकले पनि सर्वसाधारणमा सेयर जारी गर्नुपर्ने बताउँछन् । राष्ट्रिय वाणिज्य बैंकका लागि मात्रै छुट्टै कानून वा कार्यविधि नभएकोले बाफियालाई मान्नुपर्ने बाध्यात्मक अवस्था समेत रहेको उनी बताउँछन् । ‘यदि राष्ट्रिय वाणिज्य बैंकको विषयमा सरकारले बाफियाभन्दा फरक कुनै नियम नबनाउने हो भने बाफिया स्वीकार गरेर आइपीओ जारी गर्नुपर्ने हुन्छ ।’ उनले भने–‘यो विषयमा पनि प्रष्टता हुन आवश्यक छ, यसका लागि म पहल गर्छु ।’ 

तर, सीइओ श्रेष्ठले आफ्नो ‘व्यक्तिगत विचार’ भन्दै सरकारको पूर्ण सरकारी स्वामित्वको एउटा बैंक मुुलुकमा आवश्यक हुने बताए । ‘कतिपय सरकारी नीतिको हुबहु तथा प्रभावकारी कार्यान्वयनका लागि पनि एउटा सरकारी बैंक चाहिन्छ । त्यसो हो भने राष्ट्रिय वाणिज्य बैंकको विषयमा सरकारले समेत नयाँ ढंगले सोच्नुपर्छ।’ उनले थपे–‘बाफिया आकर्षित नहुने अवस्था आएको खण्डमा सरकारले पूँजी थपेर बैंकलाई अझै बलियो बनाउनुपर्छ, नभए प्रतिस्पर्धी बनाउन सकिन्न ।’ 

यदि बाफिया अनुसार नै जाने अवस्था आयो भने राष्टिय वाणिज्य बैंक पनि बिग मर्जरमा जानुपर्ने श्रेष्ठको सुझाव छ । ‘यसरी बिग मर्जरमा जानुपर्ने अवस्था हुँदा राष्ट्रिय वाणिज्य बैंकका लागि मिल्दाजुल्दा बैंकहरु कृषि विकास बैंक र नेपाल बैंक हुन् ।’ आफ्नो व्यक्तिगत धारणा भन्दै श्रेष्ठले थपे । 

नवौं, रोजगारी सिर्जना, उत्पादनशील उद्योगमा लगानी बिस्तार ।

आफ्नो कार्यकालको प्राथमिकताको रुपमा श्रेष्ठले रोजगारी सिर्जना गर्ने, स्वरोजगार बनाउने उत्पादनमूलक उद्योग तथा क्षेत्रलाई प्राथमिकतामा राखेर कर्जा बिस्तार गर्नेछन् । सरकारले ल्याएको सहुलियतपूर्ण कर्जा प्रवाहमा यो बैंक अरु बैंकभन्दा अहिले पनि धेरै अगाडि छ । शिक्षित बेरोजगार, विदेशबाट फर्किएका र सीप भएका बेरोजगार युवा, महिला, दलित तथा पिछडिएको वर्ग लगायतलाई स्वरोजगार बनाउने र उत्पादनमूलक उद्योगको कामसँग जोड्ने सरकारी प्रयासमा राष्ट्रिय वाणिज्य बैंकको योगदान समग्र उद्योगमै आधा भन्दा बढी छ । यसलाई निरन्तरता दिने र अझ आक्रामक भई मुलुकमा रोजगारी सिर्जना गर्ने गरी काम गर्ने श्रेष्ठको योजना छ । 

‘कोभिड १९ पछि धेरै सीप भएका युवा विदेशबाट फर्किदैछन् । उनीहरुलाई लक्ष्यमा राखेर हामी आक्रामक कर्जा बिस्तारमा केन्द्रीत हुनेछौ ।’ उनले थपे–‘यसका लागि आगामी दिनमा हाम्रो प्राथमिकता कृषिमा आधारित प्रोजेक्टहरु पनि पर्नेछन् ।’

र, दशौं छिटोछरितो सेवा । 
राष्ट्रिय वाणिज्य बैंकलाई लामो समयदेखि लाग्दै आएको आरोप सेवा छिटोछरितो हुँदैन, फाइल हप्तौसम्म पेण्डिङ रहन्छ भन्ने पनि हो । सीइओ श्रेष्ठले यसलाई समेत आमूल सुधार गर्ने योजना बनाएका छन् । जस्तो कुनै कर्जाका लागि कसैले आवेदन दिएपछि उसले धेरै कुर्न नपरोस्, बैंक धाउन नपरोस् भन्ने विषयमा श्रेष्ठले विशेष ध्यान दिएका छन् । ‘अब कर्जाका सेवाहरु समेत पट्यारलाग्दा हुनेछैनन्, यसलाई छिटोछरितो बनाइनेछ ।’ श्रेष्ठले भने–‘आवश्यक कागजातसहित रितपूर्वक कर्जाका लागि आवेदन दिएकाहरुले एकदुई दिनमै कर्जा पाउने गरी स्मार्ट व्यवस्थापन गर्नेछौ, राष्ट्रिय वाणिज्य बैंकको कुनै पनि सेवा लिन आउने, जोकोहीले अबका दिनमा अनावश्यक झञ्झट व्यहोर्नुपर्नेछैन, दुुःख पाइयो भन्ने गुनासो आउनेछैन ।’