काठमाण्डौ। नेपाल राष्ट्र बैंकले खुद्रा कारोबार गर्ने लघुवित्त वित्तीय संस्थाको कर्जा र सापटीको सीमा तोकेको छ।
नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाहरुका लागि एकीकृत निर्देशन जारी गर्दै कर्जा र सापटीको सीमा तोकेको हो। निर्देशनमा उल्लेख भएअनुसार थोक कारोबार गर्ने लघुवित्त वित्तीय संस्थाले एउटै ग्राहक, फर्म, कम्पनी, संस्था वा आपसी सम्बन्ध भएका ग्राहकहरुको समूहलाई प्रदान गर्न सक्ने कर्जाको सीमा अघिल्लो त्रयमासको प्राथमिक पुँजीको बढीमा २५ प्रतिशत कायम गरिएको छ।
यस प्रयोजनका लागि आपसी सम्बन्ध भएका ग्राहकहरुको समूहलाई देहायका अवस्थामा एउटै समूह मानिनेछ। थोक कारोबार गर्ने लघुवित्त वित्तीय संस्थाले एउटा ग्राहक वा आपसी सम्बन्ध भएका ग्राहकहरुको अभिलेख अर्धवार्षिक रुपमा तयार गरी एक महिनाभित्र यस बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभाग तथा लघुवित्त संस्था सुपरिवेक्षण विभागमा पठाउनु पर्नेछ।
क) कुनै संस्थाले अर्को संस्थाको पच्चीस प्रतिशत वा सोभन्दा बढी सेयर वा नियन्त्रण लिएको वा कायम भए त्यस्ता दुवै संस्थाहरु,
(ख) एकै समूहका भनी आबद्ध रहेका फर्म, संस्था वा त्यस्ता समूहका सदस्यहरु,
(ग) खण्ड (ख) बमोजिम एउटा ग्राहकले अर्को ग्राहक वा संस्थालाई जमानत दिएको भए त्यस्ता संस्थाहरु,
(घ) एक आपसमा व्यक्तिगत जमानी दिई क्रस ग्यारेन्टी रहेको छ भने त्यस्तो जमानी दिने÷लिने व्यक्तिहरु,
(ङ) संस्था सञ्चालन, नियन्त्रण वा व्यवस्थापनमा प्रत्यक्ष संलग्न व्यक्ति वा निजको एकाघरमा बसोबास गरी आएका वा छुट्टाभिन्न भएका पति वा पत्नी, छोरा, छोरी, धर्मपुत्र, धर्मपुत्री, बाबु, आमा, सौतेनी आमा र आपूmले पालनपोषण गर्नु पर्ने दाजु, भाइ, तथा दिदी, बहिनी।
यसैगरी खुद्रा कारोबार गर्ने लघुवित्तले अब विपन्न तथा न्यून आय भएका व्यक्तिलाई सामूहिक जमानीमा लघु उद्यम वा व्यवसाय सञ्चालन गर्न प्रतिसमूह सदस्य बढीमा रु. ५ लाखसम्म लघुकर्जा उपलब्ध गराउन सकिनेछ। विगत दुई वर्षदेखि कर्जा उपभोग गरी असल वर्गमा परेका समूह सदस्यको हकमा रु. ७ लाख सीमा कायम गरिएको छ।
नवीकरणीय ऊर्जा प्रविधिअन्तर्गत लघुवित्तले सोलार होम सिस्टम वा वायो ग्यास प्रयोजनका लागि प्रतिपरिवार बढीमा रु. ३ लाखसम्मको लघुकर्जा उपलब्ध गराउन सक्ने निर्देशनमा उल्लेख छ।
विपन्न तथा न्यून आय भएका समूहमा आबद्ध भएका वा नभएका व्यक्तिहरुलाई स्वीकारयोग्य धितो लिई कृषि, लघु उद्यम वा व्यवसाय सञ्चालन गर्न प्रति व्यक्ति बढीमा ७ लाख रुपैयाँसम्म लघुकर्जा उपलब्ध गराउन सकिनेछ।
विगत २ वर्षदेखि कर्जा उपभोग गरी असल वर्गमा परेका व्यक्तिको हकमा १५ लाख रुपैयाँ सीमा कायम गरिएको छ। समूहमा आवद्ध भएको सदस्यलाई एकै अवधिमा समूह कर्जा वा धितो कर्जामध्ये कुनै एक कर्जामात्र प्रवाह गर्न सकिनेछ। तर, यसपूर्व प्रवाह भएको कर्जाको हकमा साविक बमोजिमको भुक्तानी तालिकाअनुसार कर्जा चुक्ता गर्न यस व्यवस्थाले बाधा पुगेको मानिने छैन।
धितो लिई प्रवाह गरिने सबै किसिमको कर्जा कुल कर्जाको बढीमा एक तिहाई भन्दा बढी हुन हुने छैन। एकाघर परिवारका कुनै सदस्यले लिएको लघुकर्जा उपयुक्त कारण सहित सोही एकाघर परिवारका अन्य सदस्यको नाममा हस्तान्तरण÷परिवर्तन गर्न सकिने निर्देशनमा उल्लेख छ।
एउटा धितोका आधारमा एकभन्दा बढी व्यक्तिलाई कर्जा प्रवाह गर्न पाइने छैन।
लघुवित्त वित्तीय संस्थाहरुले लघुकर्जा प्रवाह गर्दा समूहमा आबद्ध गराउने व्यवस्थालाई प्राथमिकता दिने गरी कार्यविधि तयार गरी सोको प्रभावकारी कार्यान्वयन गर्ने गराउने व्यवस्था मिलाउनु पर्ने छ।
बिना धितो सामुहिक जमानीमा वा धितोका सुरक्षणमा लघुकर्जा प्रदान गर्दा एक ऋणीले एकभन्दा बढी लघुवित्त वित्तीय संस्थाबाट कर्जा लिए÷नलिएको (मल्टी बैंकिङ) यकिन गरी यस व्यवस्थाबमोजिमको एकल ग्राहक कर्जा सीमा ननाघ्ने गरी मात्र कर्जा प्रदान गर्नुपर्नेछ। यस प्रयोजनका लागि अन्य वित्तीय संस्थाबाट लघुवित्त कर्जा लिए÷नलिएको सम्बन्धमा ऋणीको स्वघोषणा गराई लिएको भए सोको विवरणसमेत लिनुपर्नेछ।
एकल ग्राहक सीमा नाघ्ने गरी कर्जा प्रदान गरिएको अवस्थामा कर्जा प्रवाह गर्ने पछिल्लो लघुवित्त वित्तीय संस्थाले सीमाभन्दा बढी प्रवाह भएको कर्जा रकममा सतप्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्ने छ।
एकीकृत निर्देशन, २०७७ र सोपश्चात् २०७८ मंसिर ७ सम्म जारी भएका परिपत्र/निर्देशनसमेतलाई समावेश गरी परिमार्जन गरेर एकीकृत निर्देशन, २०७८ जारी गरिएको राष्ट्र बैंकले उल्लेख गरेको छ।
एकीकृत निर्देशनमा २१ वटा विषय समावेश छन् भने २२८ पृष्ठ लामो रहेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19