काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट जारी हुने सेयरसहित विभिन्न प्रकारका कर्जाको जोखिम भार बढाएको छ। 

राष्ट्र बैंकले इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ मा संशोधन गर्दै २०७९ साल असार महिनादेखि लागू हुने गरी विभिन्न प्रकारको कर्जाको जोखिम भार बढाएको हो। 

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको ट्रस्ट रिसिप्टलगायतका आयात कर्जा, व्यक्तिगत अधिविकर्ष कर्जा, जग्गा प्लटिङसम्बन्धी रियल स्टेट कर्जा, व्यक्तिगत हायर पर्चेज कर्जा तथा सेयर धितो कर्जाको जोखिम भारमा बढाएको छ। जसअनुसार अब व्यक्तिगत ओभरड्राफ्ट कर्जा, व्यक्तिगत हायर पर्चेज कर्जा, व्यक्तिगत अटो लोन, रियल स्टेट कर्जा, जग्गा प्लटिङसम्बन्धी कर्जा र सेयर धितो कर्जाको जोखिम भार १५० प्रतिशत कायम गरिएको छ। त्यस्तै ट्रस्ट रिसिप्ट कर्जाको जोखिम भार १२० प्रतिशत कायम गरिएको छ। 

यसअघि मार्जिन प्रकृतिको शेयर कर्जाको जोखिम भार १०० प्रतिशत रहेको थियो। 

राष्ट्र बैंकले यसअघि मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको ट्रस्ट रिसिप्टलगायतका आयात कर्जा, व्यक्तिगत अधिविकर्ष कर्जा, जग्गा प्लटिङसम्बन्धी रियल स्टेट कर्जा, व्यक्तिगत हायर पर्चेज कर्जा तथा मार्जिन प्रकृतिको कर्जाको जोखिम भारमा पुनरावलोकन गरिने जानकारी गराएको थियो। सोही व्यवस्था कार्यान्वयनका लागि आज राष्ट्र बैंकले सर्कुलर जारी गरेको हो। 

मुक्तिनाथ विकास बैंकका एक क्षेत्रीय शाखा प्रबन्धकले जोखिम भार बढ्नु भनेको ऋण निरुत्साहित गर्नु रहेको बताए। ‘बैंकहरुले अहिले १०० रुपैयाँ ऋण दिनुपरेमा ११ रुपैयाँ सेयरधनीको पुँजीबाट पैसा निकाल्नुपर्छ। बाँकी ८९ रुपैयाँ सर्वसाधारणको निक्षेपबाट प्रयोग गर्न पाइन्छ’, ती शाखा प्रबन्धकले भने ‘अब जोखिम भार १५० प्रतिशत पुगेपछि सेयरधनीको पुँजीबाट साढे १६ रुपैयाँ निकाल्नुपर्छ। बाँकी रकम निक्षेपबाट प्रयोग गरिन्छ।’ 

यसो हुँदा सहज रुपमा ऋण उपलब्ध हुँदैन। ‘अनुत्पादक क्षेत्रमा प्रवाह हुने कर्जालाई नियन्त्रण गर्न र विदेशी मुद्रा सञ्चिती बढाउनका लागि यो नीति अवलम्बन गरेको हुन सक्छ’, ती शाखा प्रबन्धकले भने।