काठमाण्डौ । पछिल्लो समय ठूला लगानीकर्तादेखि आमसर्वसाधारणको चासोको विषय भनेको बैंकिङ प्रणालीमा देखिएको तरलता अभाव नै रहेको छ। 

विगत एक वर्षदेखि बैंक तथा वित्तीय संस्थाहरुमा तरलता संकट कायमै रहेको छ। जसका कारण लगानीकर्तादेखि आमसर्वसाधारणले आफूलाई आवश्यक परेको बेला बैंक तथा वित्तीय संस्थाहरुबाट सहज ढंगबाट कर्जा लिन पाइरहेका छैनन्। 

सर्वसाधारणले बैंक तथा वित्तीय संस्थाहरुमा कति निक्षेप छ, कति कर्जा लगानी गरेका छन् वा उनीहरुको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो)को अवस्था कस्तो छ भनेर नेपाल राष्ट्र बैंकको वेबसाइटमा तथ्यांक हेर्ने गर्छन्। बैंक तथा वित्तीय संस्थाको नियामक एवं केन्द्रीय बैंकले भने दैनिकजसो तथ्यांक अपडेट नगर्दा आमसर्वसाधारण रुष्ट हुने गरेका छन्। 

केन्द्रीय बैंककै अधिकारीहरु राष्ट्र बैंकले आफ्नो वेबसाइटमा अनिवार्य रुपमा हरेक दिन महत्वपूर्ण सूचकहरु अपडेट गर्नुपर्ने बताउँछन्। तर, उनीहरुको भनाइ र गराइमा भने तालमेल मिलेको देखिँदैन। 

कर्जा, निक्षेप र सीडी रेसियोको पछिल्लो तथ्यांक गत असोज २६ गते (अक्टोबर १२)देखि अपडेट भएको छैन। जसका कारण हाल बैंकको निक्षेप, कर्जा र सीडी रेसियोको अवस्था कस्तो छ भन्ने विषयमा आधिकारिक डाटा सर्वसाधारणले पाउन सकेका छैनन्। 

यस विषयमा राष्ट्र बैंकका प्रवक्ता डा गुणाकर भट्टले आफूसँग अहिले कर्जा, निक्षेप र सीडी रेसियोको डाटा नरहेको बताए। ‘तथ्यांक अपडेट दैनिक हुनुपर्ने हो तर किन भएन ? म बुझेर अपडेट गर्न भनिदिन्छु’, उनले भने।