काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुका संस्थापक र प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुनका लागि नयाँ योग्यता तोकेको छ। 

राष्ट्र बैंकले आज इजाजतपत्र प्राप्त क, ख, ग र घ वर्गका बैंक तथा वित्तीय संस्था र पूर्वाधार विकास बैंकलाई जारी गरिएको एकीकृत निर्देशनमा संशोधन गर्दै संस्थापक र सीईओको योग्यतासम्बन्धी नयाँ व्यवस्था ल्याएको हो। 

नयाँ व्यवस्थाअनसार टाट नपल्टेको वा भ्रष्टाचार वा बेइमानी वा जालसाजीको आरोपमा सजाय नपाएका व्यक्ति बैंक तथा वित्तीय संस्थाका संस्थापक र सीईओ हुन योग्य हुनेछन्। 

यसैगरी प्रहरी प्रतिवेदनमा आपराधिक पृष्ठभूमि नदेखिएको वा आपराधिक पृष्ठभूमि देखिएको भए सजाय भुक्तान गरेको ५ वर्ष व्यतीत भइसकेको व्यक्ति पनि संस्थापक र सीईओ हुन योग्य हुने व्यवस्था राष्ट्र बैंकले गरेको छ। 

प्रहरी प्रतिवेदनमा आपराधिक पृष्ठभूमि देखिएको व्यक्ति भए सजाय भुक्तान गरी सफाइ पाएको ५ वर्ष व्यतीत भइनसकेकाहरु भने योग्य हुने छैनन्।