काठमाण्डौ । नेपाल राष्ट्र बैंकको निर्देशनमा बैंक तथा वित्तीय संस्थाहरुले कर्जा असुलीको प्रक्रिया चल्दा ऋणीको तस्बिर सार्वजनिक गर्ने कार्यलाई बन्द गरेका छन्।

यसअघि बैंक तथा वित्तीय संस्थाले भाखा नाघेको ऋण असुलीका लागि ऋणीको तीनपुस्ते विवरण (फोटो) सहित विभिन्न पत्रपत्रिकामार्फत सार्वजनिक सूचना प्रकाशित गर्दै आएका थिए।

पछिल्लो समय अर्थतन्त्रमा दबाबसँगै मुलुुकभित्र आर्थिक चलायमान हुन नसक्दा ऋणीहरुले बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा तिर्न सकिरहेको अवस्था छैन। यस्तो अवस्थामा ऋणीका तस्बिरसहित कर्जा असुलीका सूचनाहरु ह्वातै बढेका थिए। 

योसँगै राष्ट्र बैंकले गत बिहीबार ‘नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको ‘एकीकृत निर्देशन, २०७८’ मा संशोधन गर्दै कर्जा असुलीसम्बन्धी सूचना प्रकाशित गर्दा ऋणीको तस्बिर नछाप्न निर्देशन दिएको थियो। ‘कर्जा असुलीका लागि सार्वजनिक सूचना प्रकाशित गर्दा सार्वजनिक व्यक्तिको तस्बिर प्रकाशन गर्न पाइने छैन’, संशोधित एकीकृत निर्देशनमा भनिएको छ। 

यद्यपि केन्द्रीय बैंकले तस्बिरबाहेक ऋणीको नाम, ठेगाना र अन्य विवरण सार्वजनिक गर्न भने रोक लगाएको छैन। सोहीअनुसार बैंक तथा वित्तीय संस्थाले गत शुक्रबारयता कर्जा असुलीको प्रक्रिया चाल्दा ऋणीको नाम, ठेगाना र अन्य विवरणको सार्वजनिक सूचना प्रकाशित गरिरहेका छन्। तस्बिर छाप्ने प्रक्रियालाई भने पूर्ण रोकिएको छ।

यसो त यसअघि नै नेपाल उद्योग वाणिज्य महासंघलगायतका संस्थाहरुले कर्जा असुलीको सूचना निकाल्दा ऋणीको तस्बिर पत्रपत्रिकामा नछाप्न माग गरिरहेका थिए। बैंक तथा वित्तीय संस्थाले कर्जा भुक्तानीका लागि पटक–पटक तस्विरसहित सार्वजनिक सूचना प्रकाशित गर्दा समस्या परेको ऋणीहरुको गुनासो थियो।

उता कर्जा भुक्तानी नगर्ने ऋणीहरुको धितो लिलामीका सूचना पनि धमाधम निस्किरहेको अवस्था छ। बैंकहरुले लिलामीमा ल्याएको सम्पत्तिसमेत बिक्री हुने अवस्थामा नरहेको बैंकरहरु नै बताउँदै आएका छन्।