काठमाण्डौ । पछिल्लो समय उद्योगी–व्यवसायीदेखि सामान्य व्यापार–व्यवसाय तथा सेयर बजारमा लगानी गर्नेहरुले नेपाल राष्ट्र बैंकको गतिविधिलाई निकै चासोका साथ हेर्दै आएका छन्। राष्ट्र बैंकको नीतिगत व्यवस्थादेखि बैंकहरुको निक्षेप, कर्जा र ब्याजदरमा अहिले सबैको ध्यान केन्द्रित हुने गरेको छ।
बैंकहरुको गतिविधि नियमन तथा सुपरिवेक्षण गर्दै आएको राष्ट्र बैंकले आफ्नो वेबसाइटमा आममानिसले थाहा पाउने उद्देश्य महत्वपूर्ण तथ्यांक अपडेट गर्दै आएको छ। त्यस्ता तथ्यांक राष्ट्र बैंकले दैनिकजसो अपडेट गर्नुपर्ने हुन्छ। तर, प्रायः राष्ट्र बैंकले तथ्यांक अपडेट ढिलो अर्थात २–४ दिनपछि मात्रै गर्ने हुँदा आमसर्वसाधारण बेलैमा महत्वपूर्ण सूचकबारे पाउनबाट वञ्चित रहँदै आएका छन्।
राष्ट्र बैंकको वेबसाइटमै हेर्ने हो भने पछिल्लो ३ दिनदेखि कर्जा, निक्षेप, सीडी रेसिया र अन्तरबैंक ब्याजदरको तथ्यांक अपडेट भएको छैन।
उता एक वर्ष वा सोभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन ऋणपत्र ट्रेजरी बिलको ब्याजदर (डिस्काउन्ट रेट) गत जेठ २३ गतेयता अपडेट नै भएको छैन।
यस्तो अल्पकालीन ऋणपत्र राष्ट्र बैंकले विशेषगरी ४ वटा २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने अवधिको जारी गर्ने गर्छ।
जेठ २३ यता थप दुईपटक यस्ता ट्रेजरी बिल जारी भइसकेका छन्। तर, सर्वसाधारणले देख्ने ठाउँमा भने जेठ २३ मा जारी ट्रेजरी बिलका डिस्काउन्ट रेटमात्रै सार्वजनिक गरिएको छ।
राष्ट्र बैंकको सहप्रवक्ता नारायणप्रसाद पोखरेल सम्बन्धित विभाग अर्थात मनिटरी म्यानेजमेन्ट डिपार्टमेन्टले असार ५ गते जारी गरेको ट्रेजरी बिलको डिस्काउन्ट रेट सार्वजनिक गरिसकेको बताउँछन्। ‘आमसर्वसाधारण देखिने गरी राष्ट्र बैंकको वेबसाइटमा देखिएको रहेनछ, प्राविधिक साथीहरुले अपडेट गर्न ढिलाइ भएको हुन सक्छ’, उनले भने, ‘यसबारेमा सम्बन्धित ठाउँमा जानकारी गराउनेछु।’
सहप्रवक्ता पोखरेलले यसो भनिरहँदा महत्वपूर्ण सूचकको पहुँचमा जान्ने–बुझ्नेको मात्रै पहुँच पुग्ने गरेको देखिन्छ। सर्वसाधारणले थाहा पाउन भने २–४ दिन कुर्नै पर्ने अवस्था देखिन्छ।
राष्ट्र बैंकले हिजो असार ४ गते कुल ३० अर्ब ८६ करोड रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गरेको छ। जसमा ७ अर्ब करोड रुपैयाँको बोलकबोलमार्फत बिक्री गरिनेछ भने २३ अर्ब ८६ करोड रुपैयाँको नवीकरण गरिएको छ।
केन्द्रीय बैंकले आज असार ५ गते २८ दिनका लागि १० अर्ब रुपैयाँ, ९१ दिनका लागि ९ अर्ब ५३ करोड रुपैयाँ, १८२ दिनका लागि ६ अर्ब ३३ करोड रुपैयाँ र ३६४ दिनका लागि ५ अर्ब रुपैयाँबराबरको ट्रेजरी बिल जारी गरेको छ। यी ट्रेजरी बिल क्रमशः साउन २ गते, असोज २ गते, पुस ३ गते र २०८१ असार ५ गते परिपक्व हुनेछन्।
राष्ट्र बैंकले आज जारी गरेको २८ दिने ट्रेजरी बिलको डिस्काउन्ट रेट ४ प्रतिशतको लाइनमा झरेको छ। यो ट्रेजरी बिलको औसत डिस्काउन्ट रेट ४.२९ प्रतिशत कायम भएको छ।
यसैगरी ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको औसत डिस्काउन्ट रेट पनि ७ प्रतिशतको लाइनमा रहेका छन्। यी ट्रेजरी बिलको औसत डिस्काउन्ट रेट क्रमशः ७.०३ प्रतिशत, ७.०३ प्रतिशत र ७.११ प्रतिशत रहेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago