काठमाण्डौ । बैंकिङ प्रणालीमा देखिएको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज असार २६ गते रिभर्स रिपोमार्फत २० अर्ब रुपैयाँ तानेको छ। 

रिभर्स रिपोका लागि भएको आज भएको बोलकबोलमा भने बैंक तथा वित्तीय संस्थाहरुले राष्ट्र बैंकले मागेभन्दा बढी ५३ अर्ब ५० करोड रुपैयाँको आवेदन दिएका छन्। बोलकबोलमा सहभागी भएका १८ वटा बैंक तथा वित्तीय संस्थाले १५८ आवेदनमार्फत उक्त रकम माग गरेका हुन्। तर, राष्ट्र बैंक २० अर्ब रुपैयाँमात्रै तानेको छ। 

आजको रिभर्स रिपोको औसत ब्याजदर २.५४ प्रतिशत कायम भएको छ। 

यसैगरी राष्ट्र बैंकले भोलि बुधबार पनि रिभर्स रिपोमार्फत २० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट तान्ने भएको छ। यो असार महिनामा मात्रै राष्ट्र बैंकले पाँचौँपटक रिभर्स रिपोमार्फत बैंकिङ प्रणालीबाट अधिक तरलता प्रशोचन गर्न लागेको हो। 

यसअघि राष्ट्र बैंकले गत असार १९ गते २० अर्ब रुपैयाँ, असार १० गते २० अर्ब रुपैयाँ र असार ७ गते १० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट तानेको थियो। 

नेपाल राष्ट्र बैंकले भोलि (असार २७ गते) फेरि २० अर्ब रुपैयाँको रिभर्स रिपो जारी गर्नेछ। केन्द्रीय बैंकले १० दिने अवधिको वित्तीय औजार रिभर्स रिपो जारी हुन लागेको हो। 

तरलता व्यवस्थापनका राष्ट्र बैंकले रिपो जारी गरी अधिक तरलता बजारबाट प्रशोचन गर्छ। जसअनुसार भोलि जारी हुने रिपोको म्याचुरिटी पिरियड अर्थात बैंकहरुले रिपोमा राखेको रकम फिर्ता पाउने समय साउन १० गतेलाई तोकिएको छ। 

जारी रिपोमा बैंक, विकास बैंक र वित्त कम्पनीहरुले लगानी गर्न पाउने र त्यस्ता संस्थासँग मास्टर्स रिपर्चेज एग्रिमेन्ट अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको छ। 

रिपोमा सहभागी हुन बैंकहरुले भोलि दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ गर्नुपर्नेछ। परेको बोलकबोलबाट भारित औसतमा ब्याजदर निर्धारण गरिनेछ। 

निक्षेपको तुलनामा लगानी विस्तार हुन नसकेपछि बजारमा बढेको मुद्रा प्रवाह नियन्त्रणका लागि राष्ट्र बैंकले रिभर्स रिपो जारी गर्ने गर्छ।