काठमाण्डौ । नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको बैठक आज बुधबार बिहान बसेको छ। 

बैठक बिहान ८ः३० बजेबाट बसेको थियो। कतिपय नियमित अजेन्डाहरुका विषयमा बैठकमा छलफल भएको स्रोत बताउँछ। 

बजारमा चर्चा भएजस्तो सेयर धितो कर्जाको १२ करोडको क्याप, कर्जामा जोखिम भारलगायतका विषय बैठकमा छलफल नभएको स्रोत बताउँछन्। ‘आज नियमित विषयमा मात्रै छलफल भयो’, राष्ट्रबैंकका एक सञ्चालकले बिजशालासँग भने, ‘सेयर बजारका विषयमा सञ्चालकहरुले कुरै उठाएनन्।’ 

त्यसो त राष्ट्र बैंकले सेयरधितो कर्जाको १२ करोडको क्यापसम्बन्धी व्यवस्थामा केन्द्रीत रही विज्ञसहितको एउटा टिमलाई नै परिचालन गरी अध्ययन गरिरहेको छ । केन्द्रीय बैंक नेतृत्व १२ करोडको क्याप हटाउँदा वा यसमा लचक नीति लिँदा आउनसक्ने प्रभावको विषयमा मिहीन अध्ययन गर्ने पक्षमा देखिएको छ । पर्याप्त अध्ययनबिना बजारको दबाबबाट मात्र नीतिगत परिवर्तन गर्दा त्यसको परिणाम नकारात्मक हुनसक्नेतर्फ केन्द्रीय बैंक यसपटक सतर्क देखिएको स्रोत बताउँछ। 

बजारमा चौतर्फी उठेजस्तो सेयर धितो कर्जामा लाग्दै आएको क्यापको विषयमा संशोधन गर्न आवश्यक छ भन्ने विषयमा गभर्नर महाप्रसाद अधिकारी सहमत भइसकेका छन्। तर, यसलाई कसरी संशोधन गर्ने भन्ने विषयमा भने कुनै निष्कर्ष निस्किसकेको छैन। अध्ययनपछि केही न केही उपाय निस्किने अपेक्षा गरिएको छ। 

केन्द्रीय बैंकस्थित उच्च स्रोतले भने सेयर धितो कर्जाको क्याप तथा जोखिम भारसम्बन्धी व्यवस्थाको विषयलाई एकीकृत निर्देशनमार्फत सम्बोधन गर्ने तयारी भइरहेको बतायो। ‘असोजभित्रमा संशोधनसहितको एकीकृत निर्देशन जारी गर्ने तयारी भइरहेको छ’, राष्ट्र बैंक स्रोतले भन्यो, ‘त्यसबाटै सेयर बजारलगायतका विषय सम्बोधन गर्ने नेतृत्वको योजना छ।’