काठमाण्डौ। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा व्यवस्था गरेको बैंकहरुको तरलता गणना विधि सीडी रेसियो कार्यान्वयनमा ल्याएको छ। यसअघि राष्ट्र बैंकले तरलताको गणना सीसीडी विधिबाट गथ्र्यो। 

राष्ट्र बैंकले आफ्नो अफिसियल वेबसाइटमा सीसीडी रेसिया हटाएर सीडी रेसियो राखेको छ। 

राष्ट्र बैंकले अब बैंक तथा वित्तीय संस्थाको सीडी रेसियो ९० प्रतिशतभन्दा माथि जान नहुने सीमा तोकेको छ। 

सीडी रेसियाका विषयमा बैंकहरु तथा राष्ट्र बैंकको फरक–फरक तर्क रहेको छ। 

बैंकरहरुले सीडी रेसियो विधिमा जाँदा तरलतामा संकुचन हुने तथा कतिपय बैंकहरुको सीडी रेसियो पहिले नै ९० भन्दा माथि गएकोले थप निक्षेप आवश्यक हुने र कर्जा प्रवाहमा असजिलो हुने तर्क गर्दै आएका छन्। केही बैंकरहरुले हालको अन्तरबैंकिङ सापटीको अवधिलाई बढाए एक हप्ताबाट तीन महिना गर्नुपर्ने पनि माग गरेका छन्। 

राष्ट्र बैंकले भने हालको सीडी रेसियोमार्फत १ खर्ब रुपैयाँभन्दा बढी तरलता बैंक तथा वित्तीय संस्थामा थपिने जनाएको छ। 

अहिले सीडी रेसियो ८६.७९ प्रतिशत रहेको छ।