काठमाण्डौ। नेपाल राष्ट्र बैंकले आज चालु आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ।
सार्वजनिक समीक्षामार्फत राष्ट्र बैंकले चालु मौद्रिक नीतिमा कायम गरिएको व्यवस्था यथावत नै रहेको जनाएको छ। सीडी रेसियो र सेयर धितो कर्जाको ४–१२ को क्यापमा परिमार्जन हुन सक्ने भन्ने अनुमान लगाइए पनि राष्ट्र बैंक ती व्यवस्था यथावत नै राखेको छ।
राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले मौद्रिक नीति लामो अध्ययन–अनुसन्धानबाट ल्याइएको हुनाले अहिले परिस्थितिमा तत्काल कुनै परिमार्जन गर्नुपर्ने आवश्यक राष्ट्र बैंकले नदेखेको बताए।
मौद्रिक नीतिको समीक्षामार्फत राष्ट्र बैंकले ९ नयाँ व्यवस्था गरेका छन्। यी यस्ता छन्–
१. मौद्रिक नीतिको उपर्युक्त कार्यदिशाअनुरुप विद्यमान अनिवार्य नगद अनुपात, बैंक दर र वैधानिक तरलता अनुपात यथावत राखिएको छ।
२. बैंक तथा वित्तीय संस्थाहरुले कर्जा–निक्षेप अनुपात २०७९ असार मसान्तसम्ममा निर्धारित सीमाभित्र कायम गर्ने कार्ययोजना सञ्चालक समितिबाट स्वीकृत गराई यस बैंकसमक्ष पेस गरी सोको कार्यान्वयन गर्नुपर्नेछ।
३. विदेशी विनिमय सञ्चितिको विद्यमान स्थितिलाई दृष्टिगत गरी तोकिएका वस्तुहरुको आयात प्रतीतपत्र खोल्दा अनिवार्य रुपमा नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरिनेछ।
४. डकुमेन्ट अगेन्स्ट पेमेन्ट र डकुमेन्ट अगेन्स्ट एक्सेप्टेन्सको विद्यमान सीमा पुनरावलोकन गरिनेछ।
५. ड्राफ्ट टीटीका माध्यमबाट आयात गर्दा प्रदान गरिने रकमको अधिकतम सटही सुविधासम्म मात्र चाँदी आयात गर्नको लागि सटही सुविधा प्रदान गर्न सक्ने व्यवस्था गरिनेछ।
६. व्यावसायिक कृषि, उत्पादनमूलक उद्योग, पूर्वाधार निर्माण र पर्यटनसँग सम्बन्धित नेपाली फर्म तथा कम्पनीले विदेशबाट संस्थागत ऋण लिन चाहेमा वाणिज्य बैंकहरुले बैंक ग्यारेण्टी जारी गर्न सक्ने व्यवस्था मिलाइनेछ।
७. विदेशी मुद्रामा लिइने ऋणको ब्याजदर तथा शुल्कलगायतका विद्यमान व्यवस्थामा पुनरावलोकन गरिनेछ।
८. गैरआवासीय नेपालीहरुश्र तथा गैरआवासीय नेपालीहरु संलग्न विदेशी संस्थाहरुबाट विदेशी मुद्रामा निक्षेप संकलन गर्न सकिने व्यवस्थालाई सरलीकरण गरिनेछ।
९. विदेशी मुद्राको नन डेलिभरेवल फरवार्ड कारोबारमा रहेको विद्यमान सीमा पुनरावलोकन गरिनेछ।
मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकले आर्थिक पुनरुत्थानले गति लिन थालेसँगै कर्जा प्रवाह र आयात उच्च दरले बढेको उल्लेख गरेको छ। बढ्दो कर्जा मागलाई व्यवस्थित गर्न, साधन परिचालनको दायरा बढाउन र उत्पादनशील क्रियाकलापहरुमा स्रोतको अभाव हुन नदिनेतर्फ सजग रही मौद्रिक नीतिको कार्यदिशालाई निरन्तरता दिइएको राष्ट्र बैंकले जनाएको छ।
पछिल्लो समय शोधनान्तर स्थितिमा परेको चाप र मुद्रास्फीतिमा पर्नसक्ने दबाबलाई ध्यानमा राखी मौद्रिक व्यवस्थापनलाई प्रभावकारी बनाइने राष्ट्र बैंकले जनाएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago