काठमाण्डौ । नेपाल राष्ट्र बैंकले कामना सेवा विकास बैंकलाई वार्षिक वित्तीय विवरण प्रकाशन लागि स्वीकृति प्रदान गर्दै त्रुटिहरु सच्चाउन ५ बुँदे निर्देशनसमेत दिएको छ। 

केन्द्रीय बैंकले कामना सेवाले पेस गरेको आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षण भएको वित्तीय विवरणहरु तथा अन्य प्रतिवेदनहरुका आधारमा गैरसंस्थागत सुपरिवेक्षण गर्दा देखिएका त्रुटिहरु सच्चाउन ५ बुँदे निर्देशनसहितको पत्र पठाएको हो। 

राष्ट्र बैंकले व्यक्तिगत आवधिक कर्जाको नाममा रियल स्टेट प्रयोजनका लागि गरिएका कर्जाहरुलाई रियल स्टेट कर्जा सापटका रुपमा वर्गीकरण गरी रिर्पोटिङ गर्ने व्यवस्था गर्न निर्देशन दिएको छ। कर्जा व्यवस्थापन, ग्राहक पहिचान (केवाईसी)लगायतका आन्तरिक लेखापरीक्षक, बाह्य लेखापरीक्षक तथा राष्ट्र बैंकबाट औंल्याएका त्रुटिहरु पुनः नदोहोरिने व्यवस्था गर्न पनि राष्ट्र बैंकले निर्देशन दिएको छ। 

आन्तरिक लेखापरीक्षण विभागमा पर्याप्त जनशक्तिको व्यवस्था गरी आन्तरिक लेखापरीक्षण कार्यलाई थप सुदृढीकरण गर्न पत्रमार्फत निर्देशन दिइएको छ। राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशन नं. १९÷०७७ बमोजिम सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी व्यवस्थाको पूर्ण रुपमा पालना गर्न पनि कामना सेवालाई निर्देशन दिइएको छ। 

श्रम ऐन, २०७४ र अन्य प्रचलित कानुनबमोजिम संस्थाको कर्मचारी सेवा विनियमावलीमा समानुकूल संशोधन गर्न पनि बैंकलाई निर्देशन दिइएको छ। 

यी निर्देशनहरु सेयरधनीहरुको जानकारीका लागि वार्षिक प्रतिवेदनको छुट्टै पानामा प्रकाशित एवं कार्यान्वयन गर्ने गरी राष्ट्र बैंकले कामना सेवालाई आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षण भएको वार्षिक वित्तीय विवरण प्रकाशन गर्न सहमति प्रदान गरेको छ। 

यसका साथै राष्ट्र बैंकले कामना सेवाले आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्ताव गरेको चुक्तापुँजीको कुल १९.४७ प्रतिशत लाभांश पनि प्रचलित कानुनी व्यवस्थापनको समेत पालना हुने गरी वार्षिक साधारणसभाबाट स्वीकृत भएको अवस्थामा मात्रै वितरण गर्न स्वीकृति प्रदान गरेको छ।