काठमाण्डौ । रिलायन्स इन्डस्ट्रिज लिमिटेडको जियो प्लेटफर्ममा फेसबुकपछि अर्को एउटा निजी कम्पनी जनरल अटलान्टिकले लगानी खन्याउने भएको छ।

द इकोनोमिक टाइम्सका अनुसार अमेरिकाको प्राइभेज इक्विटी कम्पनी जनरल अटलान्टिकले जियो प्लेटफर्ममा करिब ६ हजार ५९८ करोड रुपैयाँ लगानी गर्दै कम्पनीको १.३४ प्रतिशत हिस्सेदारी खरिद गर्ने तयारी गरेको हो। यद्यपि जनरल अटलान्टिक लगानीका लागि भारतीय नियामक निकायको अनुमति पर्खिरहेको छ। 

रिलायन्स इन्डस्ट्रिजको जियो प्लेटफर्ममा जनरल अटलान्टिकले लगाउन लागेको यो पैसा चौथो ठूलो निजी लगानी हो। यसअघि जियोमा फेसबुक, सिल्भर लेक र विस्टा इक्विटीले ठूलो लगानी गरिसकेका छन्। फेसबुक जियोमा झन्डै १० प्रतिशत हिस्सेदारी खरिद गरेको छ। 

समाचार सूत्रहरुका अनुसार जिपमा अझै पनि थुप्रै विदेशी कम्पनीहरुले लगानी लगाउने विचार गरिरहेका छन्। – एजेन्सी