काठमाण्डौ । रिलायबल लाइफ इन्स्योरेन्स कम्पनीले संचालनको अन्तिम स्वीकृति पाएको छ । बिहीबार कम्पनीले नियामक निकाय बीमा समितिबाट अन्तिम स्वीकृति पाएको हो । 

सो कम्पनीको चुक्तापुँजी २ अर्ब रुपैयाँ हुने कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायणबाबु लोहनीले जानकारी दिए । कम्पनीको कूल चुक्तापुँजीमध्ये ७० प्रतिशत लगानी प्रोमोटरको र बाँकी ३० प्रतिशत सर्बसाधारणको रहनेछ । कम्पनीलाई बीमा समितिले गत साउन २० गते संचालनको अनुमति दिएको थियो ।

रिलायबल लाइफमा कालु गुरुङ, सुरिद घिमिरे, गौरब अग्रवाल लगायत २८० जना प्रमोटर छन् । कम्पनीको कर्पोरेट कार्यालय काठमाडौंको ज्ञानेश्वरमा रहने प्रमुख कार्यकारी अधिकृत लोहनीले जानकारी दिए । कम्पनीको कार्यालय स्थापना भएको र संचालनका लागि आवश्यक जनशक्ति तथा अन्य पूर्वाधार तयार भइसकेको उनको भनाइ छ । रिलायबलले दशैं अगाडि नै औपचारिक रुपमा कारोबार सुरु गर्ने तयारी थालेको छ ।