काठमाण्डौ । रुसले आफूले विकास गरेको कोरोनाभाइरसविरुद्धको भ्याक्सिनको पहिलो ब्याच दुई साताभित्र स्वास्थ्यकर्मीलाई लगाउने तयारी गरेको छ । 

रुस सरकारले कोरोनाविरुद्धको यो भ्याक्सिनलाई मान्यता प्रदान गरेसँगै यसको सुरक्षा सर्तकतालाई लिएर चिन्ता समेत प्रकट भइरहेका छन् । रुसले यस्ता सुरक्षा चासोलाई आधारहीन बताउँदै भ्याक्सिनको प्रयोगलाई अगाडि बढाउने प्रष्ट पारेको छ । 

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले मंगलबार कोभिड १९ भ्याक्सिनलाई आधिकारिक मान्यता दिने रुस विश्वकै पहिलो देश भएको बताएका थिए ।

यसका साथै उनले आफ्नी छोरीले समेत यो भ्याक्सिन प्रयोग गरेको बताएका थिए । रुसले मानव परीक्षण भएको दुई महिनाभन्दा कम समयमा नै यो भ्याक्सिनलाई मान्यता दिएको हो । 

रोयटर्समा प्रकाशित समाचारका अनुसार यो भ्याक्सिनको अन्तिम परीक्षण अझै सकिएको छैन । यसको केवल १० प्रतिशत मात्रै क्लिनिकल परीक्षण सफल भएको छ । केही वैज्ञानिकहरुले मस्कोले सुरक्षा सर्तकताभन्दा राष्ट्रिय प्रतिष्ठालाई बढावा दिइरहेको आशंका प्रकट गरेका छन् । 

रुसका स्वास्थ्यमन्त्री मिखेयल मुरास्कोले मस्कोको गामालेया इन्स्टीच्यूटले विकास गरेको भ्याक्सिन सर्वसाधारण र डाक्टरहरुलाई उनीहरुको इच्छाबमोजिम लगाइने र यो चाँडै नै तयार हुने बताएका छन् । उनले डाक्टरहरुलाई लगाइने भ्याक्सिनको पहिलो प्याकेजेहरु अबको दुई साताभित्र आइपुग्ने बताए । 

गामालेयाका इन्स्टिच्यूटका निर्देशक गिन्टस्बर्गले रुसी विज्ञहरुले जाँच गरिसकेपछि क्लिनिकल परीक्षणको नजिता प्रकाशित हुने बताए । 

यसका साथै उनले रुसले डिसेम्बरदेखि २०२१ को जनवरी महिनासम्म भ्याक्सिनको ५० लाख डोज उत्पादन गर्ने योजना बनाइरहेको बताए ।

कजाकस्तानले रुसको कोरोनाविरुद्धको भ्याक्सिन आपूर्तिको सम्भावनाबारे छलफल गर्न यो महिनाको अन्त्यमा आफ्ना सरकारी अधिकारीहरुलाई मस्को पठाउने योजना समेत बनाएको खबर बाहिरिएको छ ।